2024 April 26/ 05:43: 13pm


पर्यटकलाई स्वागत, धुलिखेलमा स्तम्भ शिल्यान्यास
लक्ष्मण तिमल्सिना
धुलिखेल

    नेपाल भ्रमण वर्ष २०२० को भब्य शुभारम्भ गरिएको छ । संघ, प्रदेश र स्थानीय सरकारले विभिन्न क्षेत्रको समन्वयमा पर्यटन वर्षलाई भब्य रुपमा शुभारम्भ गरेका हुन् । जिल्ला समन्वय समिति काभ्रेको संयोजनमा नेपाल भ्रमण वर्षको शुभारम्भ गरिएको हो । 
    भ्रमण वर्षको शुभारम्भमा पर्यटकलाई स्वागत गर्दै नेपाल भ्रमण वर्ष २०२० को स्तम्भ शिल्यान्यास गरिएको छ । ‘प्रदेश तहमा दुईवटा स्तभ निर्माण हुनेछन्’–नेपाल नगरपालिका संघका अध्यक्ष समेत रहनु भएका धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘प्रदेश सरकारको ५ लाख र नगरपालिकाको ७ लाख रुपैयाँ खर्चमा स्तम्भ सहित पार्क निर्माण गरिनेछ ।’ अर्काे स्तम्भ मकवानपुरको कुलेखानीमा निर्माण हुनेछ । चीन र अमेरिकाबाट आएका विदेशी पर्यटकहरुलाई धुलिखेलको पिपलचौतारीमा स्वागत गरिएको थियो । सोहि सभामा बोल्दै अमेरिकाकी न्यान्सीले नेपाल सुन्दर रहेको बताउनु भयो । ‘म खुशी छु, सुन्दर देश नेपाल घुम्न पाएकोमा हर्षित छु’–न्यान्सीले भन्नुभयो । प्रतिनिधि सभा सदस्य गंगाबहादुर दोङ्ग, जिल्ला समन्वय समिति संयोजक उद्धव केसी, नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, जिल्ला समन्वय समिति उपप्रमुख मञ्जु गौतम, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, क्षेत्रिय होटल संघका अध्यक्ष प्रेमकण्ठ माकजु लगायतले पर्यटकहरुलाई स्वागत गर्नु भएको थियो । 
    जिल्ला समन्वय समिति र धुलिखेल नगरपालिकाको संयुक्त आयोजनामा सदरमुकाम धुलिखेलमा विविध कार्यक्रमको आयोजना गरिएको छ । नयाँ वर्षको पहिलो दिन धुलिखेलको पिपलबोटमा नेपाल भ्रमण वर्ष २०२० स्मृति स्तम्भको शिल्यान्यास गरिएको छ भने शिल्यान्यास पछि आयोजित कोण सभामा जनप्रतिनिधि, नागरिक समाज, कर्मचारी, होटल ब्यवसायी, उद्योगी तथा स्थानीयहरुले पर्यटन वर्षलाई भब्य रुपमा सम्पन्न गर्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए । भ्रमण वर्षलाई भब्य रुपमा सम्पन्न गर्न सबै क्षेत्रको सहयोग र सद्भावका साथै प्रतिवद्धता आवश्यक रहेको सहभागीहरुले बताए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य गंगाबहादुर दोङ्ग, जिल्ला समन्वय समिति संयोजक उद्धव केसी, नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, जिल्ला समन्वय समिति उपप्रमुख मञ्जु गौतम, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, क्षेत्रिय होटल संघका अध्यक्ष प्रेमकण्ठ माकजु लगायतले मन्तब्य राख्नु भएको थियो । सभा अघि धुलिखेलको अरनिको राजमार्ग स्थित बसपार्कमा रहेको अरनिको सालिकबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टुकडी सहित विभिन्न क्षेत्रका ब्यक्तिहरु सहभागी रहेको स्थानीय धिमेबाजा, लाखेनाच, लामा÷झाँकी, खैजडी समुह लगायत स्थानीय संस्कृति झल्काउने झाँकीहरु प्रस्तुत गरिएको थियो । ¥याली धुलिखेल बसपार्क, अस्पताल चोक, पुरानो बजार, सरस्वती बजार हुँदै पिपलबोटसम्म पुगेर कोणसभामा परिणत भएको थियो । सहभागीहरुले आफु संलग्न संस्थाहरुको ब्यानर सहित कार्यक्रममा सहभागी भएका  थिए । प्रभातफेरी दुई दिन अघि पौष १४ र १५ गते धुलिखेल नगर क्षेत्रको सरसफाई गरिएको थियो । सरसफाईमा नेपाली सेना, नेपाल प्रहरी, धुलिखेल उद्योग बाणिज्य संघ, स्थानीय होटल ब्यवसायीहरु लगायतको सहभागिता रहेको थियो । 
    

पनौतीमा फोटो प्रर्दशनी
    पनौती पर्यटन विकास केन्द्रको आयोजनामा नेपाल भ्रमण वर्षको अवसरमा इन्द्रेश्वर मन्दिरमा पनौती सम्वन्धी विभिन्न अवरमा लिईएका तस्विरहरुको प्रर्दशनी प्रतियोगिता आयोजना गरिएको छ । प्रर्दशनीमा पनौतीलाई चिनाउने पनौतीका ऐतिहासिक, सांस्कृतिक, धार्मिक विषयलाई समेटिएर खिचिएका फोटोहरु राखिएका छन् । कृषिमा आधारित पनौती सांस्कृतिक र धार्मिक शहरका रुपमा पनि चिनिन्छ । फोटो अवलोकनका लागि नगरपालिका प्रमुख भिम न्यौपाने, उपप्रमुख गिता बञ्जारा, जनप्रतिनिधि एवं कर्मचारीहरु, स्थानीयहरुको सहभागिता रहेको थियो । 
होमस्टेमा स्वागत
    भ्रमण वर्षको पूर्व सन्ध्यामा पनौतीमा रहेको नमस्ते सामुदायिक होमस्टे, पातलेखेतमा रहेको पातलेखेत सामुदायिक होमस्टे तथा जिल्लामा रहेका सबै होमस्टेहरुले पर्यटकहरुलाई भब्य स्वागत गरेका छन् । होटलमा बस्ने पर्यटकहरुलाई पनि ब्यवसायीहरुले भब्य स्वागत गरेका थिए । 
    ‘भ्रमण वर्षको पूर्व सन्ध्यामा आएका पाहुनाहरु होमस्टेमा रमाउनु भयो’–नमस्ते सामुदायिक होमस्टे पनौतीका अध्यक्ष संगीता श्रेष्ठले भन्नुभयो–‘नेपाली संस्कृति सहितको स्वागतमा उहाँहरु खुशी हुनु भयो ।’ पातलेखेत सामुदायिक होमस्टेका अध्यक्ष केशव बडालले स्थानीय संस्कृति अनुसार पाहुनाहरुलाई स्वागत गरेको बताउनु भयो । स्थानीयहरुले पर्यटकलाई गरेको स्वागतले उहाँहरु खुशी भएको र आगामी दिनमा पनि नेपाल भ्रमणमा आउने बताएको बडालले बताउनु भयो । होमस्टेमा आउने पर्यटकहरु खुशी हुने गरेको उहाँको अनुभव छ ।