2025 June 17/ 04:50: 23pm

श्रावण महिनाको १५ गते पुग्दा नपुग्दै सहकारी संस्थाहरुमा एउटा निकै चटारो देखिन्छ । लेखा परिक्षण गराउने कामहरु सँगै संस्थाको बार्षिक साधारण सभा गराउने । गतबर्ष असोज मसान्तसम्म गराउनै पर्ने बार्षिक साधारण सभा हाल सहकारी ऐन २०७४ ले वयवस्था गरे बमोजिम पौष मसान्तसम्म गर्न सकिने प्रावधानको व्यवस्था भएको छ । जस अनुसार सहकारी संस्थाहरुलाई केहि मात्रामा अलि फुर्सदको अनुभूती महसुश भएपनि यस अवधिमा निकै तामझामका साथ सहकारीका बार्षिक साधारण सभाहरु भइरहेको देखिन्छ । सामाजिक सञ्जाल तथा पत्रपत्रिकाहरुमा समेत यसको बारेमा सूचना तथा सम्पन्न साधारण सभाको समाचार पढ्न पाईन्छ । पत्रिकाका आधा भन्दा बढी भाग सहकारीकै चर्चा छ । प्रत्यक्ष आर्थिक पाटोमा आधारित भइ कार्यहरु सञ्चालन गर्ने कारणले पनि सहकारीका चर्चाहरु धेरै नै हुने गरेको पाईन्छ । 
बर्षभरी संस्थामा गरिने विभिन्न क्रियाकलपहरुलाई शेयर सदस्यहरु माझ स्पष्ट रुपमा जानकारी गराउने उद्देश्यका साथ प्रतिवेदनको रुपमा प्रस्तुत गर्दै आवस्यक सुझाव, सल्लाह र आउने बर्षका लागि मार्ग दर्शन प्रदान गर्ने साधारण सभालाई प्रमुख उपल्लो कार्यको रुपमा लिईन्छ । साधारण सभा भन्ने बिषय कसरी कहाँबाट सुरु गरियो भन्ने मलाई जानकारीमा छैन तरपनि यसको मक्सद भनेको सहकारीले आफ्ना शेयर सदस्यका हितमा विभिन्न समयमा वा एक बर्षको अवधिमा गरेका आर्थिक, सामाजिक लगायतका क्रियाकलापहरु के कस्तो गरी सञ्चालन भयो र सञ्चालक समिति तथा लेखा तथा सुपरिवेक्षण समितिले जिम्मेवारी के कसरी पुरा गर्यो वा गरेन भन्ने विषयका बारेमा सबै शेयर सदस्यहरु माफ संस्थागत विषयहरुलाई प्रस्तुत गरी छलफल गर्दै आवश्यक मार्गदर्शन प्राप्त गर्ने अवसरका रुपमा यो समयलाई लिईन्छ । मानव संशाधनका कुरा, सदस्यले बचत गरेका पैसाको सुरक्षणका बिषय, नीति नियमका बिषय, पारदर्शिता, जवाफदेहिता तथा सुशासनका बिषयहरु के कसरी हुन्छन ? के गरिएको छ ? र अव कसरी जाँदा राम्रो हुन्छ भनेर एक आपसमा छलफल गर्दै निचोडमा पुग्नका लागि डाकिएको वा राखिएको बार्षिक साधारण सभामा के सहकारी संस्थाका शेयर सदस्यहरुले घनिभूत रुपमा यस्ता खालका बिषयहरु छलफलका माध्ययमबाट सहभागितात्मक रुपमा पारित हुन सकेका छन् त भन्ने कुरा छलफलको बिषय बनेको छ । 
सहकारी ऐन २०७४ को दफा ३८ मा उल्लेख भए अनुसार बार्षिक साधारण सभाका अधिकारका बिषयमा बिविन्न सिमाहरु तोकिएका छन् जस मध्ये बार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने, बार्षिक लेखा परिक्षण प्रतिवेदन अनुमोदन गर्ने, समिति वा लेखा सुपरिवेक्षण समितिको निर्बाचन तथा विघटन गर्ने, सञ्चालक वा लेखा सुपरिवेक्षण समितिको संयोजक वा सदस्यलाई पदबाट हटाउने, समिति वा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गर्ने, विनियम र आन्तरिक कार्यविधिहरु पारित गर्ने , लेखा परिक्षकको नियूक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने , संस्था एकिकरण वा विघटन सम्वन्धि निर्णय गर्ने, पारिश्रमिक लगायतका सुविधाहरु पारित गर्ने, बाह्य दायित्व स्विकार गर्ने, सदस्यको दायित्व मिनाहा गर्ने, समितिलाई आवश्यक निर्देशन दिने, विनियममा तोकिए बमोजिका कार्यहरु गर्ने जस्ता बिषय निर्दिष्ट गरिएको हुनाले सहकारी संस्थामा यी र यस्ता बिषयहरुमा व्यापक रुपमा छलफल चलाउनु साधारण सभाको कर्तब्य भित्र पर्दछ । यी बिषयहरु सहकारी आन्दोलनमा लागेका अभियन्ताहरुलाई ज्ञात नभएको भने पक्कै होइन । 
आजकल सहकारी संस्थाहरुको बार्षिक साधारण सभा निकै ताम झामका साथ हुने गरेका छन् । प्रमुख अतिथीको रुपमा कसले माथिल्लो निकायमा प्रमुखहरुलाई ल्याउन सके भन्ने कुराले प्राथमिकता पाएको देखिन्छ यस्ता खालका कार्यमा सहकारी संस्थाहरुमा प्राय होडबाजी नै चलेको छ । सहकारी संस्थाहरुले आफ्ना संस्थाको बार्षिक साधारण सभा गर्ने भनेको संस्थाको नीति तथा कार्यक्रम र प्रगती र सुझावहरुकै लागि नै हो भन्ने लाग्दछ तर यहाँ निकै ताम झामका साथ गरिने उद्घाटन सत्रलाई हेर्दा सहकारीका आफ्ना बार्षिक कार्यक्रमको समिक्षा तथा आगामी योजनाहरु समग्रमा ओझेलहमा परेको प्रष्टै देखिन्छ । मञ्चमा उद्घाटन सत्रमा बोलाइएका बेग्रल्ति पाहुना तथा अतिथीज्यूहरुको सत्कार अनि पालै पालो भाषण गर्न दिइएका दृष्यहरु देख्दा पुरै दिनभरी नै सोहि तामझाममा समय खर्च भइरहेको देखिन्छ । लगभख उद्घाटन सत्रमा मात्र सहकारी संस्थाहरुले ४ देखि ५ घण्टा खर्च गरेका हुन्छन् । हल भित्र रहेका शेयर सदस्यहरुलाई आफ्ना घरायसि समस्याहरुले पिरोलिरहेको हुन्छ । जव उद्घाटन सत्र समापन हुन्छ तव बन्द सत्रमा संस्थाको नीति तथा कार्यक्रम र योजनाहरुको बारेमा छलफलका समयमा शेयर सदस्यहरु आ आफ्ना घरतिर हिडिसकेका देखिन्छन् । दशौ. हजार शेयर सदस्यहरु रहेका सहकारी संस्थामा समेत बन्द सत्रमा १०० जना पनि मानिसहरु देख्न सकिदैंन । अनि सञ्चालक समितिले गरेका प्रगती समिक्षा तथा आगामी कार्य योजनाका बारेमा कसरी छलफल हुन सक्दछ । अनि कसरी शेयर सदस्यहरुलाई जिम्मेवार बनाउन सकिन्छ होला ? यो प्रश्न सबै अभियानकर्ताहरुले सोच्न पर्ने बिषय बनेको छ । 
हामीले सञ्चालन गर्दै आएका यस्ता खालका क्रियाकलापहरुलाई अवका दिनमा कसरी एउटा प्रकृया भित्र लिएर सञ्चालन गर्ने त भन्ने बिषयमा छलफल चलाउनु पर्ने भएको छ । शेयर सदस्यहरुको समयलाई कसरी व्यवस्थित र उपलब्धिमूलक बनाउने भन्ने बिषय पनि महत्वपूर्ण भएको छ । यसो हेर्दा उद्घाटन सत्रलाई सकेसम्म व्यवस्थित रुपमा कसरी अगाडि बढाउने भन्ने प्राविधिक पक्षहरुलाई मात्र हामीले सोच्यौं भने मात्र पनि धेरै हद सम्म यसको व्यवस्थापन गर्न सकिन्छ । ११ बजेको समयमा बोलाइएको उद्घाटन सत्रको कार्यक्रमलाई शेयर सदस्यको हितलाई ध्यान दिदै बिहान ८ बजे देखि नै हाजिरी गर्ने पारिपाटिलाई अलिकती सुधार गर्न सकिन्छ कि ? साधारण सभामा शेयर सदस्य आफै सहभागि हुनुपर्दछ भन्ने मान्यता अनुसार प्रतिनीधि वा एकाघरका सदस्य आउँदा समेत हस्ते गराई रकम उपलब्ध गराउने परम्पराको अन्त्य गरिनुपर्दछ कि ? धेरै भन्दा धेरै अतिथीहरुलाई मञ्च प्रदान गर्ने र धेरै भाषण गर्ने परम्पराको अन्तइ हुनुपर्दछ कि ? यी र यस्ता क्रियाकलापहरुको जवसम्म हामी  अन्त्य गर्न सक्दैनौं तवसम्म हाम्रो सहकारीका बार्षिक साधारण सभाको वेथिती ज्यूँ का त्यूँ रहन्छ नै । 
माथि उल्लेख भएका सहकारी ऐनमा नै व्यवस्था गरिएका धेरै क्रियाकलाप तथा साधारण सभाका अधिकारहरुलाई नै आंकलन गर्ने हो भने शेयर सदस्यहरु मात्र बसेर पूरै दिनभरी नै छलफल चलाए पनि समय नपुग्ने जस्ता बिषयहरु निर्दिष्ट छन् तर साधारण सभामा गरिने अन्य क्रियाकलापहरुले उक्त बिषय ओझेलमा परेको प्रष्टै देखिन्छ । हाल चलाइएको प्रचलन अनुसार संस्थाको हितका लागि गरिने क्रियाकलापहरु बन्दसत्रमा मात्र गर्ने परिपाटिले गर्दा शेयर सदस्यहरुको उपस्थिती र छलफल निकै सामान्य रुपमा अगाडि बढीरहेको देखिन्छ । यहाँ साधारण सभा प्रमुख अतिथी बेगर नै गर्नुपर्दछ वा बोलाउनै हुन्न भन्ने कुरा होइन अनाबश्यक रुपमा समय खर्च गरेर सहकारीकै बिषय ओझेदमा पारिनु हुन्न र खर्चलाई मितब्ययी बनाइनुपर्दछ भन्ने कुरालाई प्राथमिकतामा राखिनुपर्दछ भन्ने हो । साधारण सभामा अतिथीहरुको व्यवस्थापनका पक्ष होस वा व्याच, मायाको चिनो, माला, खादा, परिवहन खर्च, खाना, खाजा, प्रतिष्पर्धामा छापिएका प्रतिवेदन पुस्तिका लगायतका कार्यहरुलाई हेर्दा वास्तवमै अनावश्यक खर्च नै हो भन्न सकिन्छ कि सकिदैन भन्ने बिषयमा छलफल चलाउनुपर्दछ । यहाँ होडबाजिमा गरिएका साधारण सभा र लाखौं रुपैयाँ खर्च गर्दै बेलुका हुने गरिएका भोज भतेर जस्ता क्रियाकलापहरुले सहकारी संस्थामा शेयर सदस्यहरुले तरकारी, घीउ, दुध, अण्डा, मेलापात, मजदुरी गरेर आर्जन गरेका पैसाको सुरक्षा कसरी हुन्छ भन्ने प्रश्न पनि बजार भरी उठ्ने गरेका छन् । सहकारीमा दोहोरो कर लगाइयो भनेर भाषण गरेर नथाक्ने हामी अभियन्ता, शेयर सदस्यको आर्थिक अवस्था सुधार गर्न विभिन्न माध्यमबाट जम्मा गरिएका पैसामा राज्यले कर लागाउन पाइदैन भन्ने बिषयमा आवाज बुलन्द गर्ने हामी अभियन्ताहरुले हाम्रा शेयर सदस्यले जम्मा गरेको पैसाले आर्जन गरेका वा नाफा गरेका पैसामा किन अपारदर्शी रुपमा खर्च गर्दैछौं भन्ने सोच्ने दिन कहिले आउला ? नारामा मात्र अनि भाषणमा मात्र सिमित गर्दै अब्यवहारिक रुपमा गरिएका खर्चलाई मितब्ययि रुपमा साधारण सभालाई किन हामी व्यवस्थित र मर्यादित बनाउन सक्दैनौ भन्ने हाम्रो छलफलको बिषय बन्नुपर्दछ । यसरी भइरहेको अनावश्यक रुपमा सहकारीको खर्च र पारदर्शीतालाई अनावश्यक रुपमा स्विकार्दै अगाडि बढ्दै जाने हो भनै भोलिका दिनमा सबै आम जनताहरुको सहकारी संस्था र हामी प्रति विस्वास गुम्न सक्दछ । र अभियाननै ओझेलमा पर्न सक्दछ जसका कारण हामी हाम्रो लक्ष्यमा पुग्न सक्दैनौ र देशमा ठूलो आर्थिक विकराल अवस्था नआउला भन्न सकिदैन । त्यसैले हामी हाम्रा सदस्य प्रति उत्तरदायि बन्दै सहभागितात्मक रुपमा साधारण सभामा हाम्रा सदस्यहरुलाई समेत जवाफदेहि बनाउँदै संस्था र संस्थागत बिषयहरुलाई सबै शेयर सदस्यहरु माझ घनिभूत रुपमा छलफल गराई सुझाव सहित सहकारीमा अपनत्वको भावना जगाउनका लागि बन्द सत्रमा हुने वा गरिने क्रियाकलापहरुलाई शेयर सदस्यहरु बीचको बाक्लो उपस्थिती सहित सशक्त ढंगले अगाडि बढाउन सक्यौं भने अनावश्यक रुपमा हुने खर्चमा कटौती हुन गई सहकारीको समृद्धि हुनेछ ।