2026 July 26/ 10:13: 56am

    धुलिखेल/बेथान्चोक गाउँपालिका–२ मा विपद् व्यवस्थापन तथा आगलागी नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रे, विपद् व्यवस्थापन बेस क्याम्प काभ्रे, प्रहरी चौकी बेथान्चोक तथा बेथान्चोक गाउँपालिका वडा नम्बर–२ कार्यालयको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
    कार्यक्रममा स्थानीयवासी, जनप्रतिनिधि, सरोकारवाला निकाय तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । पछिल्लो समय ग्रामीण क्षेत्रमा आगलागी, प्राकृतिक विपद् तथा विभिन्न आकस्मिक घटनाबाट हुने क्षति न्यूनीकरण गर्न सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष तिमल्सिनाले बताए । 
    कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर–२ का वडा अध्यक्ष पुरुषोतम तिमल्सिनाले विपद् व्यवस्थापनमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने बताए । विपद् आउनु अघि नै आवश्यक तयारी, जनचेतना र समन्वय भएमा ठूलो क्षति हुनबाट बच्न सकिने उनले बताए । ‘आगलागी, पहिरो, हावाहुरी जस्ता घटना ग्रामीण क्षेत्रमा धेरै हुने भएकाले हरेक नागरिक सचेत र जिम्मेवार बन्न आवश्यक छ’–उनले भने–‘यस्ता अभ्यासहरुले नागरिकहरुलाई सचेतनाका लागि सहयोग पुग्नेछ ।’
    जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक सुमन चापागाईले विपद्का समयमा सुरक्षाकर्मीको मात्रै भर नपरी समुदाय आफैं पनि प्राथमिक उद्धार तथा सुरक्षाका उपायबारे जानकार हुनुपर्ने बताए । आगलागी नियन्त्रणका प्रारम्भिक उपाय, सुरक्षित विद्युत् प्रयोग, ग्यास तथा प्रज्वलनशील पदार्थको सावधानीपूर्वक प्रयोगबारे जानकारी दिए । 
    यस्तै विपद् व्यवस्थापन बेस क्याम्प काभ्रेका विश्व भुजेलले विपद् आइपरेपछि भन्दा पनि विपद् आउन नदिन पूर्वतयारी आवश्यक रहेको बताए । भूकम्प, आगलागी, पहिरो तथा अन्य प्राकृतिक विपद्का बेला अपनाउनुपर्ने सावधानीका विषयमा प्रशिक्षणात्मक जानकारी दिए । 
    प्रहरी चौकी बेथान्चोकका हरिशरण बस्नेतले स्थानीय स्तरमा सामूहिक सहकार्य र छिमेकीबीचको सहयोगले विपद्का बेला राहत पुग्ने बताए । आकस्मिक घटनामा तत्काल प्रहरी तथा सम्बन्धित निकायलाई खबर गर्न आग्रह गर्दै सचेतनाले नै धेरै दुर्घटना रोक्न सकिने बताए । कार्यक्रममा सहभागी स्थानीयवासीले यस्ता सचेतनामूलक कार्यक्रमले विपद् सम्बन्धी ज्ञान बढाउनुका साथै व्यवहारिक रूपमा अपनाउनुपर्ने उपायबारे जानकारी पाएको बताएका थिए । वडा अध्यक्ष तिमल्सिनाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । वडा अध्यक्ष तिमल्सिनाले आगलागी हुँदा बजार तथा आसपासका क्षेत्रमा विद्युत्त सेवा अवरुद्ध हुँदा र दमकल नआईपुग्दा पनि नियन्त्रणमा लिन सकिने गरी जडान गरिएको प्रविधि, त्यसको प्रयोग र निरन्तरको अभ्यासका बारेमा जानकारी गराएका थिए । एक किलोमिटर क्षेत्रमा ८ वटा प्वाइन्ट राखिएको छ । सोहि प्वाईन्टबाट आवश्यक पाईप जडान गरेर सम्वन्धित क्षेत्रमा लगिन सकिने ब्यवस्था मिलाईएको छ । नेपाल प्रहरीका युनिटहरुले विभिन्न स्थानमा यस्ता अभिमुखिकरण कार्यक्रमहरु संचालन गरिरहेका छन् ।