2026 May 26/ 03:14: 02am

    धुलिखेल/नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले एक कल फोन मात्रै गरेर भए पनि पार्टीको सदस्यता अद्यावधिक गर्न कृयाशिल सदस्यहरुलाई अनुरोध गरेका छन् । अद्यावधिक तथ्यांक अभिलेखीकरणका लागि उपयुक्त र अहिलेको प्रविधि अनुसार पार्टीका सन्देशहरु उपलब्ध गराउन अत्यावश्क रहेको उनले बताए । 
    नेपाली काँग्रेस प्रदेश र स्थानीय तह केन्द्रित बागमती प्रदेश स्तरीय भेलाको उद्घाटन समारोहमा बोल्दै पार्टी सभापति थापाले प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई कार्यकर्तामुखी हुन र कार्यकर्ताहरुले पनि जनप्रतिनिधिहरुले गरेका असल अभ्यासहरुको प्रचार गर्न निर्देशन दिए । ‘मुलुक संकटमा छ, यस्तो बेला काँग्रेस झगडामा नअल्झिकन मुलुकको समस्या समाधानमा सरकारसँग हातेमालो गर्न आतुर छ’–उनले भने–‘म सबै नेता तथा कार्यकर्ताहरुलाई एकताबद्ध भएर राष्ट्रका समस्या समाधानमा केन्द्रित हुन अपिल गर्दछु ।’
    विशेष महाधिबेशन पछि उत्पन्न विवाद समाधान भए पनि पार्टीका केहि नेताहरुले गरिरहेको अलग्गै भेला र असन्तुष्ट प्रति सभापति थापाले इंिगत गर्दै केन्द्रिय समिति तथा सदस्यता अद्यावधिकमा जस्तै गरी काम गर्न तयार रहेको स्पस्ट पारे । शंका भए उप समितिमा समेत रहेर काम गर्न अनुरोध गर्दै पार्टी भित्रको विवादलाई समाधान उन्मुख बनाउँदै आगामी वर्ष हुने स्थानीय र प्रदेश तहको निर्वाचनमा केन्द्रित हुन अनुरोध गरे । 
    ‘हिजोको शैलीमा स्थानीय र प्रदेश तहमा टिकट वितरण हुँदैन, जुन पालिका र क्षेत्र हो त्यहाँबाट प्राईमरी हिसावले उम्मेदवार छनौट हुन्छ । तहगत छलफल हुँदै विशेष प्राथमिकता डिजिटिल रुपमा समेत गरिनेछ’ – सभापति थापाले भने–‘पार्टीको पराजयलाई पुर्नसरचना गराउने अवसरका रुपमा लिएका छौं । आगामी निर्वाचनमा जनताको मन र मत जित्ने अपेक्षा गर्दर्छाै ।’ विगतमा नेपाली काँग्रेसले गरेका गल्तिका कारण इतिहास बोकेको भविश्य भएको पार्टी नेपाली कांग्रेस प्रति नागरिकहरुको आर्कषण कमि भएको भए पनि अहिलेको नेतृत्वले पार्टी र सदस्यलाई बलियो बनाउँदै संस्थागत रुपमा विकास गर्ने प्रयास गरिएको सभापति थापाले बताए । उनले कार्यकर्ताहरुलाई निर्देशन दिदै चुनावमा हारेर नुन खाएको कुखुरा झै नबन्न अनुरोध गरे । 
    उद्घाटन समारोहमा पार्टीका उपसभापति विश्वप्रकाश शर्मा, महामान्त्री प्रदिप पौडेल, प्रदेश सभापति इन्द्र बाँनिया लगायतका नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रमको संयोजन काभ्रे काँग्रेस जिल्ला समितिले गरेको थियो । कार्यक्रम मंगलबार सम्पन्न भएको थियो । 

दुई दिन पछि ३३ बुँदे ‘संकल्प’ 
    नेपाली कांग्रेसको नेतृत्वमा रहेका बागमती प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरूले ३३ बुँदे ‘बागमती संकल्प–०८३’ जारी गरेका छन् । दुईदिने परामर्श कार्यशालापछि जारी संकल्पमा सुशासन, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगार र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष तथा पार्टीका विभिन्न तहका पदाधिकारी सहभागी थिए । कार्यशालापछि जारी संकल्पपत्रमा स्थानीय सरकारलाई थप नागरिकमैत्री, उत्तरदायी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
    संकल्पपत्रमा संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्दै जवाफदेही सरकार सञ्चालन गर्ने, असल शासन र विधिको शासनलाई मजबुत बनाउने तथा स्थानीय तहका सफल अभ्यासलाई अन्य स्थानीय तहमा विस्तार गर्ने उल्लेख गरिएको छ । साथै, स्थानीय सरकारबाट प्रदान हुने सेवालाई थप सरल र प्रभावकारी बनाउने तथा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवती, दीर्घरोगी र विपन्न समुदायलाई घरदैलोमै सेवा उपलब्ध गराउने योजना अघि सारिएको छ । प्रदेश तथा स्थानीय तहले बजेट निर्माण प्रक्रियालाई तथ्यमा आधारित र परिणाममुखी बनाउने, ‘शून्य बेरुजु स्थानीय तह’ अभियान सञ्चालन गर्ने तथा वित्तीय अनुशासन कडाइका साथ लागू गर्ने प्रतिबद्धता पनि जनाइएको छ । संकल्पपत्रमा विदेशबाट फर्किएका युवालाई स्थानीय विकास र उद्यमसँग जोड्न ‘जन्मभूमि समृद्धि विशेष अभियान’ सञ्चालन गर्ने, रोजगार बैंक र उद्यम मेला आयोजना गर्ने तथा महिलाका परम्परागत सीपलाई उद्यमसँग जोड्ने कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । शिक्षातर्फ स्थानीय कला, संस्कृति र भाषालाई समेटेर स्थानीय पाठ्यक्रम निर्माण गर्ने, विद्यालयको डिजिटल प्रणाली विकास गर्ने तथा गुणस्तरीय शिक्षामा लगानी बढाउने नीति लिइएको छ । स्वास्थ्य क्षेत्रमा ‘सबैलाई स्वास्थ्य बीमा’ अभियानलाई प्रभावकारी बनाउने, घरआँगनमै स्वास्थ्य सेवा विस्तार गर्ने तथा ग्रिन सिटी, हेल्दी सिटी अभियान सञ्चालन गर्ने योजना प्रस्तुत गरिएको छ ।