2026 July 31/ 12:40: 16pm

    भक्तपुरको एउटा साँघुरो गल्लीमा बिहानको घाम भर्खरै पस्यो । घरका झ्यालबाट आउने त्यो हल्का पहेँलो उज्यालोले भित्तामा टाँसिएका पुराना फोटोहरूलाई फेरि एकपटक जीवित जस्तो बनायो । ती फोटोहरूमध्ये एउटामा एक महिला मुस्कुराइरहेकी थिइन् । उनको नाम थियो सविता तामाङ । सविता, काभ्रेको साविक संस्युखर्क गाविस, अहिलेको तेमाल गाउँपालिकामा जन्मिएकी थिइन् ।  पहाडको हरियो काखमा हुर्केकी उनी अहिले भने वर्षौँदेखि भक्तपुरमा बस्दै आएकी थिइन् । उमेर अहिले ४५ को हाराहारीमा पुगेको थियो । दुई सन्तानकी आमा । घर, परिवार, जिम्मेवारी–सबै थियो । तर एउटा कुरा थियो, जुन कहिल्यै पुरानो भएन । त्यो थियो पहिलो प्रेम । 
    सविता बिहान चिया उमाल्दै थिइन् । मोबाइल टेबलमा राखिएको थियो । स्क्रिनमा फेसबुक खुला थियो । त्यहाँ एउटा नाम बारम्बार उनको आँखामा आइरहन्थ्यो, प्रेम दोङ । एकछिन उनले मोबाइल उठाइन् । उसको प्रोफाइल खोलेर हेरेर फेरि बन्द गरिन् । मनले भन्यो, हेर्नु हुँदैन । तर मनले नै अर्को आवाज दियो, हेरेर के बिग्रन्छ र ? यो लडाइँ उनीसँग अहिलेको होइन । यो लडाइँ तीस वर्ष पुरानो थियो । त्यो समय उनीहरू १४–१५ वर्षका मात्र थिए । संस्युखर्कको स्कुल । पहाडको बीचमा रहेको सानो विद्यालय । त्यहाँबाट तल झर्दा एउटा खोल्सा बग्थ्यो । त्यही खोल्साको किनारमा धेरै पटक उनीहरू भेट्थे । प्रेम दोङ त्यही गाउँको केटो थियो । उ हँसिलो थियो । गाउँका मेलापात, खेलकुद, स्कुल–सबैतिर सक्रिय । सविता भने अलि शान्त स्वभावकी । तर जब प्रेमसँग कुरा हुन्थ्यो, उनको अनुहारमा अर्कै चमक आउँथ्यो । एकदिन प्रेमले सोध्यो, सविता, तिमीलाई म मन पर्छु ? सविताले सीधै जवाफ दिन सकिनन् । उनले तल बगेको खोल्सातिर हेरिन् । केहीबेरपछि उनले बिस्तारै भनिन, मलाई थाहा छैन... तर तिमी नदेख्दा मन खिन्न हुन्छ । त्यही जवाफ नै पहिलो प्रेमको स्वीकारोक्ति थियो । 
    गाउँको समाज सरल थिएन । त्यहाँ जात, परिवार, प्रतिष्ठा–सबै कुरा थियो । सविताको परिवार अलि कडा थियो । बुबा निकै अनुशासनप्रिय । एकदिन कसैले देखिदियो, सविता र प्रेम खोल्साको किनारमा कुरा गर्दै । त्यसपछि घरमा आँधी आयो । स्कुल पढ्न पठाएको कि केटा भेट्न ? बुबाको आवाज आज पनि सविताको कानमा गुञ्जिन्छ । त्यो दिनपछि सविताको बाहिर निस्कनै बन्द भयो । स्कुल जानु, घर आउनु–त्यत्ति मात्र । प्रेमसँग भेट ? अब असम्भव । केही महिनापछि एउटा खबर आयो । प्रेम काठमाडौँतिर पढ्न जाने भयो । जाने दिन बिहान उनी सविताको घर नजिकै आए । सविता झ्यालबाट बाहिर हेरिरहेकी थिइन् । प्रेमले तलबाट मात्र भने, म फर्केर आउँछु । सविताले केही भन्न सकिनन् । तर आँसु भने रोक्न सकिनन् । त्यो दिन उनीहरूले अन्तिम पटक एकअर्कालाई देखे । समय नदीजस्तै बग्यो । केही वर्षपछि सविताको विवाह भयो । भक्तपुर बसाइँ सरे । प्रेमको पनि विवाह भयो भन्ने खबर आयो । जीवन आफ्नै बाटोमा लाग्यो । सन्तान जन्मिए । जिम्मेवारी बढ्यो । तर मनको कुनै कुनामा त्यो १४ वर्षे उमेरको स्मृति कहिल्यै मरेन । 
    समय फेरि घुमेर आयो, यसपटक प्रविधिको रूप लिएर । एकदिन फेसबुकमा एउटा फ्रेन्ड रिक्वेस्ट आयो । नाम थियो, प्रेम दोङ । सविताको मुटु एकपटक जोडले धड्कियो । ३० वर्षपछि उनीहरू फेरि डिजिटल संसारमा भेटिए । पहिलो म्यासेज निकै छोटो थियो । सविता, तिमी नै हो ? उनले धेरैबेर सोचेपछि लेखिन, हो...म नै । त्यसपछि लामो मौनता । केही दिनपछि अर्को म्यासेज आयो, कस्तो छ जीवन ? सविताले लेखिन, जस्तो सबैको हुन्छ । तर समस्या त्यही थियो, अब उनीहरू केटा–केटी थिएनन् । दुवैको परिवार थियो । छोराछोरी थिए । समाज अझै उस्तै थियो । त्यसैले उनीहरूबीच बोलचाल बन्द जस्तै भयो । तर फेसबुकमा कहिलेकाहीँ एक–अर्काको फोटो हेर्ने बानी भने छुटेन । सविताको जीवन त्यतिमात्र सरल पनि थिएन । उनका श्रीमान् केही वर्ष बैदेशिक रोजगारमा गए । त्यसबीच उनले धेरै संघर्ष गरिन् । कृषि गर्ने प्रयास । सानो व्यापार । कहिले जागिर । तर सबै योजना सफल भएनन् । सबैभन्दा ठूलो चोट भने सहकारीबाट आयो । उनले वर्षौँसम्म जम्मा गरेको बचत सहकारी बन्द भएपछि फिर्ता नै आएन । त्यसमाथि कान्तिपुर फाइनान्समा राखेको रकम पनि वर्षौँदेखि अड्किएको थियो । घरमा तनाव बढ्दै गयो । कहिलेकाहीँ उनी एक्लै सोच्थिन, यो जीवन किन यति गाह्रो भयो ?
    एकदिन राति उनी एक्लै छतमा बसिरहेकी थिइन् । मोबाइल खोलेर फेरि प्रेमको प्रोफाइल हेरे । त्यहाँ एउटा फोटो थियो । उसको छेउमा उसकी श्रीमती र दुई बच्चा । त्यो फोटो हेर्दा सविताको मनमा अजीब भावना आयो । खुशी पनि । दुःख पनि । उनले आफैंलाई सोधिन् ।  यो माया आखिर के हो ? तीस वर्ष बितिसक्यो । जीवन आ–आफ्नो बाटोमा गयो । तर मनको डोर किन अझै टुटेन ? अझै एउटा प्रश्न उनको मनमा उठ्थ्यो, कहिल्यै भेट भयो भने के होला ? कहिलेकाहीँ उनलाई लाग्थ्यो, सायद हामी होइन...।  हाम्रा छोराछोरीहरूको भेट गराउनुपर्छ । त्यो सोच्दा उनी आफैं हाँस्थिन् । तर मनभित्रको द्वन्द्व भने बढिरहन्थ्यो । त्यो रात सविता लामो समयसम्म निदाउन सकिनन् । जीवनका सबै संघर्षहरू उनको आँखा अगाडि घुमिरहे । पहिलो प्रेम । परिवार । आर्थिक संकट । सपना । अन्त्यमा उनले बिस्तारै भनिन्, मर्नु कि बाँच्नु जस्तो बनायो यो जीवनले...।  तर अर्को क्षण उनले छोराछोरीको अनुहार सम्झिन् । त्यसपछि उनले आफैंलाई सम्झाइन, बाँच्नै पर्छ । 
    भक्तपुरको बिहान सधैं व्यस्त हुन्छ । तर त्यो दिन अलि फरक थियो । उनी बिहानै उठिन्, तर मन कतै टाढा पुगेको थियो, संस्युखर्कको पहाडतिर । कहिलेकाहीँ उनलाई लाग्थ्यो, जीवन एकदम छिटो बित्यो । हिजो मात्रै जस्तो लाग्थ्यो, जब उनी पहाडको बाटो हिँड्दै स्कुल जान्थिन् । स्कुल पुग्न करिब एक घण्टा लाग्थ्यो । र त्यो बाटोमा कहिलेकाहीँ प्रेम दोङ भेटिन्थ्यो । ए सविता, आज ढिला भयो है ?उ मुस्कुराउँदै भन्थ्यो । सविता लजाउँदै भन्थिन, तिमी नै ढिला आयौ । त्यो सानो झगडा त्यतिबेला उनीहरूको सबैभन्दा ठूलो खुशी थियो । तर अहिले त्यो समय सम्झँदा उनलाई एउटा प्रश्न सधैं सताउँथ्यो, यदि त्यो बेला परिवारले रोकिएको भएन भनेके हाम्रो जीवन फरक हुन्थ्यो ? तर जीवनमा ‘यदि’ भन्ने शब्दको कुनै अर्थ हुँदैन । समयले एकपटक बाटो मोडिसकेपछि फेरि फर्काएर ल्याउन सकिँदैन । सविताको श्रीमान् दुबईमा काम गर्थे । पहिलोपटक विदेश जाँदा सविता निकै डराएकी थिइन् । म एक्लै कसरी सबै सम्हाल्छु ? उनले सोचेकी थिइन् । तर बिस्तारै उनले आफूलाई बलियो बनाइन् । छोराछोरीको पढाइ, घरखर्च, सबै जिम्मेवारी उनैले सम्हालिन् । 
    एक समय उनले सोचेकी थिइन् । अब केही आफ्नै काम गर्नुपर्छ । त्यसैले उनले सानो कृषि व्यवसाय सुरु गरिन् । काभ्रेको गाउँमा भएको जग्गामा तरकारी खेती गर्ने योजना बनाइन् । केही समय राम्रो पनि चल्यो । तर बजारमा मूल्य घट्दा सबै योजना बिग्रियो । नोक्सान भयो । त्यसपछि उनले अर्को निर्णय गरिन् । सहकारीमा बचत गरौँ, भविष्यका लागि सुरक्षित हुन्छ । वर्षौँसम्म उनले थोरै–थोरै गरेर पैसा जम्मा गरिन् । तर एकदिन खबर आयो, सहकारी बन्द भयो । त्यो खबर सुन्दा उनको मुटु एकछिन रोकिए जस्तो भयो । उनको धेरै वर्षको बचत अचानक हावामा बिलायो ।  त्यसमा मात्र होइन, उनले कान्तिपुर फाइनान्समा राखेको रकम पनि वर्षौँदेखि अड्किएको थियो । उनी धेरैपटक कार्यालय धाइन् । तर हरेक पटक एउटै जवाफ, अहिले प्रक्रिया चलिरहेको छ । वर्ष बिते । जवाफ उही । त्यो आर्थिक समस्याले घरभित्र तनाव बढायो । श्रीमान् विदेशबाट फोन गर्दा कहिलेकाहीँ झर्किन्थे । पैसा कहाँ गयो त ? सविताले सम्झाउने प्रयास गर्थिन् । म के गरुँ ? सबैले राखेकै ठाउँमा राखेको त हो । तर शब्दहरूले सधैं समाधान ल्याउँदैनन् । कहिलेकाहीँ शब्दहरूले घाउ अझ गहिरो बनाउँछन् । त्यही तनावको बीचमा एकदिन फेरि मोबाइलमा नोटिफिकेसन आयो । सविताले स्क्रिन धेरैबेर हेरिरहिन् । त्यो एउटा सानो रियाक्सन थियो । तर उनको मनमा पूरा पहाड हल्लिएजस्तो भयो । केही दिनपछि प्रेमबाट म्यासेज आयो । कहिलेकाहीँ तिमीलाई सम्झिन्छु । सविताले धेरैबेर सोचिन् । जवाफ दिने कि नदिने ? अन्त्यमा उनले लेखिन, किन सम्झिन्छौ ?
    प्रेमले केही समयपछि लेख्यो, सायद पहिलो प्रेम भएकाले होला । त्यो म्यासेज पढ्दा सविताको आँखा रसाए । उनले सोचेकी थिइन, सायद उ बिर्सिसकेको होला । तर उ पनि त्यही स्मृतिमा अडिएको रहेछ । त्यसपछि उनीहरू बीच कहिलेकाहीँ सानो कुरा हुन थाल्यो । तर दुवै सावधान थिए । किनकी अब उनीहरू परिवार भएका मानिसहरू थिए । सीमाना पार गर्न मिल्दैन भन्ने दुवैलाई थाहा थियो । एकदिन प्रेमले अचानक सोध्यो–कहिल्यै भेट्ने मन लाग्दैन ? सविताको मुटु एकछिन जोरले धड्कियो । उनले लामो समय मोबाइल हेरेर बसिन् । अन्त्यमा उनले लेखिन, भेटेर के हुन्छ ? प्रेमले उत्तर दियो, केही हुँदैन । बस, पुरानो साथी जस्तो भेट । सवितालाई थाहा थियो, यो त्यति सजिलो छैन । भेट मात्र होइन, भावनाहरू पनि भेटिन्छन् । र ती भावनाहरू फेरि सम्हाल्न गाह्रो हुन सक्छ । त्यस रात उनी धेरैबेर सोचिरहिन् । एकातिर पुरानो माया । अर्कोतिर परिवार र जिम्मेवारी । मन दुई दिशामा तानिएको थियो । अचानक उनको दिमागमा अजीब विचार आयो । हामी भेट्नु भन्दा हाम्रा छोराछोरीलाई भेट गराउने हो कि ? त्यो सोच्दा उनी आफैं मुस्कुराइन् । जीवन कति अजीब हुन्छ । कहिलेकाहीँ मानिसहरूले पूरा गर्न नसकेको कथा अर्को पुस्ताले पूरा गर्छ जस्तो लाग्छ । तर अर्को क्षण उनलाई डर लाग्यो । यदि यो सब गलत भयो भने ? परिवारमा झन् समस्या आउन सक्छ । समाजले कुरा गर्न सक्छ । 
    त्यो रात उनी फेरि छतमा गइन् । भक्तपुरको आकाशमा ताराहरू चम्किरहेका थिए । उनले बिस्तारै भनिन, हे भगवान...।  यो माया किन अझै बाँकी छ ? तीस वर्षपछि पनि त्यो प्रश्नको उत्तर उनले भेट्न सकेकी थिइनन् । सविताको जीवन बाहिरबाट हेर्दा सामान्य देखिन्थ्यो । घर थियो, परिवार थियो, दुई छोराछोरी थिए । तर मनभित्र भने एउटा लामो संघर्ष चलिरहेको थियो । पहिलो प्रेमको स्मृति, आर्थिक समस्याको पीडा, परिवारको जिम्मेवारी । यी तीनवटाले उनको मनलाई कहिलेकाहीँ च्यापेर राख्थे । एकदिन सविता बजार गएकी थिइन् । भक्तपुरको कमलविनायक नजिकको तरकारी बजारमा सधैं भीड हुन्छ । उनी तरकारी किनेर फर्कँदै थिइन् । त्यही बेलाउनले अचानक एउटा परिचित आवाज सुने । सविता ? उनको शरीर एकछिन स्तब्ध भयो । यो आवाज...उनी जीवनभर बिर्सन सकेकी थिइनन् । उनी बिस्तारै फर्किइन् । सामुन्ने उभिएको मानिस उही थियो । प्रेम दोङ । तीस वर्षपछि उनीहरू पहिलो पटक आमनेसामने उभिएका थिए । दुवै केहीबेर बोल्न सकेनन् । समय जस्तो रोकिने गरी मौनता छायो । प्रेमले हल्का मुस्कुराउँदै भन्यो, कस्तो छौ ? सविताले छोटो उत्तर दिइन, ठिकै छु । तर उनको आवाज काँपिरहेको थियो । प्रेम पनि परिवर्तन भएको थियो । केस अलि फुलेका । अनुहारमा उमेरका रेखाहरू । तर आँखामा भने उही पुरानो चमक थियो । तिमी यहाँ कसरी ? सविताले सोधिन् ।  प्रेमले भन्यो, काठमाडौँमै काम गर्छु अहिले । कहिलेकाहीँ भक्तपुर आउँछु । त्यो सुन्दा सविताको मनमा अजीब भावना आयो । उनीहरू यति नजिक थिए तर तीस वर्षसम्म भेट भएन । 
    दुवै सडकको छेउमा उभिएर केहीबेर कुरा गरे ।  सामान्य कुराहरू भए  ।  परिवार, बच्चाहरू, काम तर ती शब्दहरूभित्र अनगिन्ती अनकहे भावना लुकेका थिए । प्रेमले एकछिनपछि भन्यो, कहिलेकाहीँ कफी पिउन भेट्न सकिन्छ नि । सविताले तुरुन्त जवाफ दिइनन् । उनको मन फेरि द्वन्द्वमा थियो । भेट्ने कि नभेट्ने ? अन्त्यमा उनले शान्त स्वरमा भनिन्, हामी अहिले बच्चा होइनौं । प्रेम मुस्कुरायो । थाहा छ । त्यसैले त केवल साथी जस्तो भेट भनिरहेको । सविता केही क्षण मौन रहिन् । त्यसपछि उनले विषय बदलिन् । तिम्रो परिवार कस्तो छ ? प्रेमले भन्यो, सबै ठीक छ । दुई बच्चा छन् । त्यो सुन्दा सविताको मन हल्का दुख्यो । तर त्यो दुःख ईष्र्या होइन थियो । यो केवल समयले छुट्याएको बाटोको सम्झना थियो । त्यस दिन उनीहरू धेरैबेर बसेनन् । छुट्टिने बेला प्रेमले फेरि भन्यो, कहिलेकाहीँ कुरा गरौँला । सविताले टाउको मात्र हल्लाइन् । घर फर्किँदा उनको मन निकै भारी थियो । उनी आफैंलाई सोधिरहेकी थिइन, यो भेट हुनु जरुरी थियो ? कहिलेकाहीँ पुराना घाउहरू फेरि खोल्नु खतरनाक हुन सक्छ । 
    घर पुगेपछि छोरीले सोधी, आमा, किन ढिला भयो ? सविताले सामान्य स्वरमा भनिन, बजारमा भीड थियो । तर उनको मन अझै बजारमै अडिएको थियो । त्यो रात उनले धेरैबेर मोबाइल हेरेर बसिन् । प्रेमबाट म्यासेज आयो । आज भेटेर राम्रो लाग्यो । सविताले केही समयपछि उत्तर दिइन, मलाई पनि । बस त्यत्ति । तर त्यो छोटो वाक्यले उनको मनमा पुरानो भावनाको आँधी ल्यायो । त्यसैबीच आर्थिक समस्या अझ बढ्दै गयो । सहकारीको पैसा फिर्ता आउने कुनै संकेत थिएन । कान्तिपुर फाइनान्सको रकम पनि अड्किएको थियो । घरमा खर्च बढ्दै गयो । एकदिन श्रीमान् विदेशबाट फोनमा रिसाए । हामीले दुःख गरेर कमाएको पैसा सबै डुबायौ तिमीले । त्यो वाक्य सविताको मनमा गहिरो चोट बन्यो । फोन राखेपछि उनी लामो समय रोइरहिन् । उनी जान्थिन, गल्ती उनको मात्र थिएन । तर कहिलेकाहीँ परिस्थितिले मानिसलाई दोषी बनाइदिन्छ । त्यही बेला मोबाइलमा फेरि म्यासेज आयो । प्रेमको । सबै ठीक छ ? सविताले उत्तर दिन धेरैबेर लगाइन् । अन्त्यमा उनले लेखिन, जीवन सजिलो छैन । प्रेमले तुरुन्त उत्तर दियो, यदि कहिल्यै कुरा गर्न मन लाग्यो भने म सुन्न तयार छु । त्यो वाक्य पढ्दा सविताको आँखा फेरि रसाए । तीस वर्षपछि पनिकोही उनको पीडा सुन्न तयार थियो । तर त्यही बेलाउनको मनले अर्को प्रश्न सोध्यो, के यो सही हो ? परिवार भएको मानिस पुरानो प्रेमसँग नजिकिनु...यो बाटो कहाँ पुग्छ ? त्यो रात उनले लामो समय आकाशतिर हेरिन् ।  उनलाई लाग्यो, जीवन कहिलेकाहीँ पहाडको घुमाउरो बाटो जस्तो हुन्छ । कहिलेकाहीँ पुरानो बाटो फेरि अगाडि आएर उभिन्छ । 


साथी सविना तामाङ
(सविताको अनुभुतीका आधारमा) 
भक्तपुर, काभ्रे