अशोक ब्याञ्जु
उम्मेदवार
काभ्रे क्षेत्र नम्वर २, नेकपा एमाले
एमालेका उम्मेदवार अशोक ब्याञ्जुसँग राजनीतिक जीवनका ४० वर्ष, स्थानीय तहमा लामो कार्यकालको नेतृत्व अनुभव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको राजनीतिक–संस्थागत पहुँच, पार्टी संगठन भित्र बलियो पकड रहेको छ ।
अशोक कुमार ब्याञ्जु श्रेष्ठ काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ का नेकपा एमाले उम्मेदवार हुन् । उनी धुलिखेल नगरपालिकाको दुई कार्यकालसम्म निर्वाचित नगरप्रमुख हुन् । २०२८ भदौ १ गते जन्मिएका ब्याञ्जु बुबा बच्चुनाथ ब्याञ्जु र आमा तुईमाया ब्याञ्जुका छोरा हुन् । उनको परिवारमा श्रीमतीसहित एक छोरा र एक छोरी छन् ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र, अर्थशास्त्र र साहित्य विषयमा स्नातक गरेका ब्याञ्जुले २०४३ सालदेखि राजनीतिक जीवनको सुरुआत गरेका हुन् । २०५४ सालमा धुलिखेल नगरपालिकाको उपप्रमुखमा निर्वाचित हुँदा उनी देशभरका उपप्रमुखहरूमध्ये सबैभन्दा कान्छा जनप्रतिनिधि थिए । स्थानीय तहमा लामो कार्यकालको नेतृत्व अनुभव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको राजनीतिक–संस्थागत पहुँच, पार्टी संगठन भित्र बलियो पकड रहेको छ भने प्रतिनिधिसभा निर्वाचनको पहिलो अनुभव, अघिल्लो निर्वाचनमा स्थापित उम्मेदवारको प्रभाव, स्थानीय उपलब्धिलाई संघीय एजेण्डासँग जोड्ने चुनौती रहेको छ । उपप्रमुखमा निर्वाचित भएपछि उनी नेपाल नगरपालिका संघमा निरन्तर २० वर्षसम्म (२०७४ सालसम्म) उपाध्यक्षका रूपमा कार्यरत रहे । संघीय संरचना कार्यान्वयनपछि धुलिखेल नगरपालिकाको नगरप्रमुख निर्वाचित भएका उनी नेपाल नगरपालिका संघको अध्यक्षसमेत बने ।
सन् २०२१ देखि उनले एसिया प्यासिफिक क्षेत्रका स्थानीय सरकारहरूको सञ्जाल युनाइटेड सिटिज एन्ड लोकल गभर्नमेन्ट्स अध्यक्षको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन् । स्थानीय सुशासन, विकास पत्रकारिता, साहित्य तथा विभिन्न सामाजिक क्षेत्रमा सक्रिय ब्याञ्जुको नेतृत्वमा काभ्रेपलाञ्चोक जिल्लाबाट पत्रिका तथा रेडियो सञ्चालन हुँदै आएका छन् । उनी टुरिजम प्रमोसन अर्गनाइजेसन एसिया प्यासिफिक (कोरिया) को सचिवालय सदस्य हुनुका साथै स्थानीय सरकार र सहस्राब्दी विकास लक्ष्य कार्यान्वयनका लागि गठित समितिका सदस्य पनि हुन् । उनले इण्डोनेसिया, चीन, जापान, दक्षिण अफ्रिका, दक्षिण कोरिया, फ्रान्स, बंगलादेश, बेल्जियम, भारत र संयुक्त राज्य अमेरिकालगायत विभिन्न देशहरूको भ्रमण गरेका छन् ।
नेकपा एमालेको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्यसम्मको जिम्मेवारी निर्वाह गरिसकेका ब्याञ्जु श्रेष्ठ २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेबाट काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ का उम्मेदवार हुन् । यस क्षेत्रमा २०७४ र २०७९ को निर्वाचनमा एमालेकै गोकुल बाँस्कोटा निर्वाचित भएका थिए । पहिलो पटक प्रतिनिधिसभा सदस्यका रूपमा उम्मेदवारी दिएका ब्याञ्जु श्रेष्ठका लागि स्थानीय तहमा जस्तै मतदाताको विश्वास जित्नु मुख्य चुनौतीका रूपमा रहेको छ ।





