मण्डनदेउपुर/मण्डनदेउपुर नगरपालिका–७ स्थित कालिदेवी आधारभूत विद्यालयको ३२औँ वार्षिकोत्सव, अभिभावक भेला तथा विद्यार्थीहरुलाई जुत्ता र स्टेशनरी वितरण कार्यक्रमसम्पन्न भएको छ।
साविक महादेवस्थान गाविसका सबै वडामा विद्यालय भए पनि वडा नं.७ मा विद्यालय नभएको अवस्थालाई मध्यनजर गर्दै संविधान सभा सदस्य स्व.विदुर सापकोटाको पहल तथा वडावासीको सक्रिय सहभागितामा वि.सं. २०५० सालमा कालिदेवी प्राथमिक विद्यालयको स्थापना गरिएको थियो । ३२औँ वार्षिकोत्सव कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष ईश्वरीप्रसाद सापकोटाको अध्यक्षतामा तथा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा मण्डनदेउपुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष विष्णुप्रसाद पौडेल विशेष अतिथि थिए ।
कार्यक्रममा नगरपालिकाको नीति तथा योजना आयोगका उपाध्यक्ष गोकुल गौतम, विद्यालयका संस्थापक अध्यक्ष थलप्रसाद सापकोटा, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू कृष्णप्रसाद सापकोटा, चिरञ्जीवी लम्साल र शिवराम तिमल्सिना, वर्तमान कार्यवाहक अध्यक्ष बलराम सापकोटा, शिक्षक–अभिभावक संघका अध्यक्ष गोकुल लम्साल, पूर्व अध्यक्ष लक्ष्मण लम्साल, छिमेकी विद्यालयका प्रधानाध्यापक सुदर्शन सापकोटा, संस्थापक सदस्य रामकृष्ण श्रेष्ठ, गुणनिधि नेपाल, विद्यालय ब्यवस्थापन समिति सदस्य मञ्जु राई, अप्सरा लम्साल, पूर्व कार्यपालिका सदस्य सावित्री जमकट्टेल, शिक्षासेवी, बुद्धिजीवी, आम अभिभावक, सहयोगी दाताहरू, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्घाटन नगर प्रमुख टोकबहादुर वाईवाले गरेका थिए । विद्यालयका शिक्षक गंगा गौतमले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा विद्यार्थीहरूले गीतमार्फत अतिथिहरूलाई स्वागत गरेका थिए । कार्यक्रममा पूर्व अध्यक्षहरू शिवराम तिमल्सिना र कृष्णप्रसाद सापकोटाले शुभकामना ब्यक्त गरेका थिए । विद्यार्थीहरूको आकर्षक गीत तथा नृत्य प्रस्तुतिले कार्यक्रमलाई थप रमाइलो बनाएको थियो । कक्षा २ मा अध्ययनरत छात्रा सरु रम्तेलको प्रभावशाली भाषणले विद्यालयको शैक्षिक गुणस्तर झल्काएको सहभागीहरूले बताएका थिए ।
कार्यक्रमका अवसरमा सम्पूर्ण विद्यार्थीहरूलाई जुत्ता सहयोग गर्ने दाताहरू उत्तम सापकोटा, मण्डनदेउपुर–७, प्रदीप सापकोटा, धुलिखेल–३, रवि सापकोटा, प्रमोद सापकोटा र समीर सापकोटा मण्डनदेउपुर–७ लाई धन्यवाद ज्ञापन गरिएको थियो । त्यसैगरी स्टेशनरी सामग्री सहयोग गर्ने किरण सापकोटा, सुरेश कुमार श्रेष्ठ, कृष्ण प्रधान, धिरज चौधरी, ऋषिकेश मेहता र टोपराज दाहाललाई सम्मान सहित धन्यवाद व्यक्त गरिएको थियो । पूर्व शिक्षक सम्मान अन्तर्गत दुर्गादेवी सापकोटा र उर्मिला लम्साललाई सम्मान गरिएको थियो भने यस वर्षका उत्कृष्ट शिक्षकको रूपमा अनुजा सापकोटा तथा असल अभिभावकको रूपमा राममाया दनुवारलाई नगर प्रमुखद्वारा सम्मानपत्र प्रदान गरिएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष र वडा अध्यक्षले सम्मानित व्यक्तिहरूलाई टीका र खादा लगाएर सम्मान गरेका थिए ।
स्वास्थ्य समस्याका कारण नगर प्रमुखले शुभकामना मन्तव्य दिन नसके पनि नीति तथा योजना आयोगका उपाध्यक्ष गोकुल गौतमले नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय लगानी गरेको र त्यसको सकारात्मक प्रतिफल देखिन थालेको उल्लेख गरे । उनले शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र नगरपालिकाबीच सुमधुर सम्बन्ध आवश्यक रहेकोमा जोड दिए । विद्यालयमा विगत १६ वर्षदेखि अंग्रेजी माध्यममा पठनपाठन हुँदै आएको छ। सिमान्तकृत दनुवार तथा दलित समुदायका बालबालिकाको बाहुल्य रहेको यस विद्यालयलाई नगरको नमुना विद्यालयका रूपमा लिइन्छ । हाल विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययन गराइन्छ । ६ जना दरबन्दी शिक्षक, १ जना बालविकास सहयोगी तथा २ जना श्रेणीकृत शिक्षक गरी कुल ९ जना शिक्षक कार्यरत छन् ।
विद्यालयका प्रधानाध्यापक सुदर्शन नेपालले विद्यालयको प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै कार्यवाहक अध्यक्ष बलराम सापकोटाले विद्यालय स्थापना कालदेखि हालसम्म भोग्नुपरेका समस्या र समाधानका प्रयासबारे जानकारी गराउँदै सहयोगी दाताप्रति आभार व्यक्त गरे । उनले अभिभावकहरूलाई बालबालिकालाई समयमै खाना खुवाएर विद्यालय पठाउन अनुरोध गर्दै शिक्षकहरूलाई अझ लगनशील र प्रविधिमैत्री बन्न आग्रह गरे । साथै बालविकास केन्द्र व्यवस्थापन, कक्षा ४ र ५ का लागि डेस्कबेञ्च तथा शिक्षकका लागि कुर्सीको अभाव समाधान गर्न नगरपालिकासँग पहल गरिदिन आग्रह गरे ।
कार्यक्रमको सञ्चालन शिक्षिका अनुजा सापकोटाले गरेकी थिईन् । विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्दै कार्यक्रमसमापन गरिएको थियो।









