2026 July 31/ 01:26: 00pm

    धुलिखेल/माघ ६ गते उम्मेदवारी दर्ता सँगै उम्मेदवारहरु मतदाता भेटघाटमा ब्यस्त भएका छन् । यो पटक निर्वाचनका लागि प्रचार प्रसारको समय कम उपलब्ध गराईएको छ भने कोणसभा, जुलुस जस्ता कार्यक्रम गर्न रोक लगाईएको छ । 
    निर्वाचन आचार संहिताका कारण उम्मेदवारहरुलाई पर्ने आर्थिक भार समेत कम हुने अपेक्षा उम्मेदवारहरुले गरिरहेका छन् । निर्वाचनका प्रचार सामाग्री र निर्वाचन प्रचार प्रसारको सिमा तोकिएको छ । जिल्लाबाट ४२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सबै उम्मेदवार प्रतिस्पर्धाका लागि मतदाता भेटघाटमा छन् । उम्मेदवार विरुद्ध उजुरी दिने समयमा कुनै उम्मेदवार विरुद्ध उजुरी नपरेको र उम्मेदवारी समेत फिर्ता नभएकाले सबै उम्मेदवार प्रतिस्पर्धामा रहेका हुन् । 

उम्मेदवारलाई ‘खसीको टाउको’ ! 
    दल बाहेक स्वतन्त्र उम्मेदवारी दिने उम्मेदवारहरुले निर्वाचन चिन्ह प्राप्त गरेका छन् । निर्वाचन आयोगले उम्मेदवारका लागि खसिको टाउको देखि भंगेरासम्मको निर्वाचन चिन्ह वितरण गरेको छ । निर्वाचन क्षेत्र नम्वर २ का स्वतन्त्र उम्मेदवार आशा तामाङले भँगेरा प्राप्त गरेकी छिन् । उमेश थापाले ठेकी पाएका छन् । केशवराज तिमल्सिनाले आँप पाएका छन् । गणेशप्रसाद अधिकारीले आँखिझ्याल, डिल्लीप्रसाद न्यौपानेले मसी, लेनिन विष्टले कप र प्लेट, विष्णुकुमार श्रेष्ठले प्रेसर कुकर र सीताराम मैनालीले खसीको टाउको पाएका छन् । निर्वाचन क्षेत्र नम्वर २ मा राजेशकुमार श्रेष्ठले आँखीझ्याल पाएका छन् भने युवराज चौलागाईले ड्रमसेट र जीवन लामाले क्याप पाएका छन् ।     
बागीलाई आँखीझ्याल
    ३६ वर्ष देखि निरन्तर राजनीतिमा सक्रिय पनौतीका राजेशकुमार श्रेष्ठ र पाँचखालका गणेशकुमार अधिकारी दुबैले एउटै निर्वाचन चिन्ह आँखीझ्याल प्राप्त गरेका छन् । नेपाली काँग्रेसले वितरण गरेको टिकटमा असहमति राख्दै पनौती घर भएका क्षेत्र नम्वर १ का श्रेष्ठ र पाँचखाल घर भएका अधिकारीले क्षेत्र नम्वर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । श्रेष्ठ नेविसंघबाट राजनीतिमा प्रवेश गरेका थिए । निरन्तर पार्टी राजनीतिमा सक्रिय श्रेष्ठ खेलकूद विकास समिति तथा विभिन्न सामाजिक संघ संस्थामा समेत कृयाशील थिए । क्षेत्र नम्वर १ मा माओवादी सशस्त्र द्वन्द्वमा गोली लागि घाईते भएका जिउँदा शहिद तीर्थ पसखलःको प्रस्ताव र पनौतीका समाजसेवी पूर्व नेकपा माओवादीका नेता समेत रहेका सुदर्शन सुवेदीको समर्थनमा श्रेष्ठ उम्मेदवार बनेका हुन् । नेपाली काँग्रेसले गुणराज मोक्तानलाई उम्मेदवार बनाएको छ । श्रेष्ठ ६० वर्षका भए । त्यस्तै पाँचखाल वडा नम्वर १० का गणेश अधिकारीले राजनीतिक दलहरु प्रति बढेको वितृष्णा र नेपाली काँग्रेसले गरेको निर्णयका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । उनी नेपाली काँग्रेसमा सक्रिय थिए । ३६ वर्षका अधिकारीले पनि श्रेष्ठले जस्तै आँखीझ्याल पाएका छन् । क्षेत्र नम्वर २ मा नेपाली काँग्रेसले मधु आचार्यलाई उम्मेदवार बनाएको छ । 
मध्यम उमेरका उम्मेदवारको बर्चश्व
    प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि काभ्रेपलाञ्चोक जिल्लाका निर्वाचन क्षेत्र नम्बर १ र २ मा मनोनयन दर्ता गराएका उम्मेदवारहरूको उमेर संरचनाले मध्यम उमेर समूह (४०–५० वर्ष) राजनीतिक प्रतिस्पर्धामा बलियो उपस्थिति रहेको छ । उमेर समुह अनुसार २६–३५ वर्षसम्म ८ जना रहेका छन् । जसको प्रतिशत १९ हुन आउँछ । ३६–४० वर्षसम्मका ९ उम्मेदवार छन् । जसको प्रतिशत २१.४ रहेको छ । ४१–५० वर्षसम्मका १४ जना छन् । जुन ३३.३ प्रतिशत रहेको छ । ५१–६० वर्ष उमेर समुहका ९ जना छन् । जसको प्रतिशत २१.४ प्रतिशत रहेको छ । ६० वर्ष भन्दा माथीका २ जना उम्मेदवार छन् । जसको प्रतिशत ४.८ प्रतिशत रहेको छ । 
    निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार काभ्रेपलाञ्चोकमा उम्मेदवारहरूको उमेर २६ वर्षदेखि ६२ वर्षसम्म रहेको छ । तर, अधिकांश उम्मेदवार ४० को दशकमा केन्द्रित देखिन्छन् । ठूला राजनीतिक दलका प्रमुख उम्मेदवार देखि स्वतन्त्र उम्मेदवारसम्म यही उमेर समूहमा छन् ।राजनीतिक विश्लेषकहरूका अनुसार संगठनात्मक अनुभव, स्थानीय पहिचान र अन्य क्षेत्रको समेत व्यवस्थापन गर्न सक्ने क्षमता भएका कारण दलहरूले मध्यम उमेर समूहलाई सुरक्षित विकल्पका रूपमा अघि सारेका छन् । ‘यो उमेर समूहमा ऊर्जा र अनुभव दुवै सन्तुलनमा हुने भएकाले दलहरू त्यतै आकर्षित देखिन्छन्,’– एक स्थानीय विश्लेषकले बताए ।उमेर विश्लेषण गर्दा ३५ वर्षमुनिका उम्मेदवार संख्या निकै न्यून छ । केही स्वतन्त्र र साना दलका उम्मेदवारहरू मात्र २० को उत्तरार्ध र ३० को सुरुवाती उमेर समूहमा छन् । युवापुस्ताको राजनीतिक सहभागीताबारे व्यापक बहस भइरहे पनि उम्मेदवारीमा भने त्यसको प्रभाव सीमित देखिएको छ । काभ्रेपलाञ्चोकमा ५० वर्षभन्दा माथिका उम्मेदवारहरू पनि उल्लेख्य संख्यामा मैदानमा छन् । ५५, ६० र ६२ वर्ष उमेर समूहका उम्मेदवारहरूले लामो राजनीतिक अनुभव, पार्टीभित्रको पकड र पुरानो मताधारलाई आफ्नो मुख्य शक्ति मानेका छन् ।
    उमेर समूहसँगै महिला उम्मेदवारको संख्या सीमित छ । भएका महिला उम्मेदवारहरू प्रायः ३० देखि ४० वर्ष उमेर समूहमा केन्द्रित छन् । सक्रिय र सक्षम उमेर समूह भए पनि समग्र उम्मेदवारीमा महिला प्रतिनिधित्व कमजोर देखिएको छ । 

उम्मेदवारको विवरण
उमेर समूह    उम्मेदवार संख्या    प्रतिशत
२६–३५ वर्ष        ८        १९.०%
३६–४० वर्ष        ९        २१.४%
४१–५० वर्ष        १४        ३३.३%
५१–६० वर्ष        ९        २१.४%
६० भन्दा माथी     २        ४.८%