धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा सुरक्षित गर्भपतन सेवा लिने महिलाको संख्या पछिल्ला तीन आर्थिक वर्षमा क्रमशः घट्दो क्रममा देखिएको छ । जनस्वास्थ्य कार्यालयको तथ्यांक अनुसार मेडिकल तथा सर्जिकल दुवै विधिबाट गरिने गर्भपतन सेवामा कमी आएको हो ।
जनस्वास्थ्य कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७९/८० मा १ हजार १ सय ३७ जना महिलाले मेडिकल गर्भपतन सेवा लिएका थिए भने २०८०/०८१ मा यो संख्या १ हजार १ सय ४० जना पुगेको थियो। तर आर्थिक वर्ष २०८१/०८२ मा भने घटेर १ हजार ७४ जनामा सीमित भएको छ । यस्तै, सर्जिकल गर्भपतन सेवा लिने महिलाको संख्या पनि निरन्तर घट्दो क्रममा रहेको छ । २०७९/८० मा १ सय ८० जना महिलाले सर्जिकल विधिबाट गर्भपतन गराएकोमा २०८०/८१ मा यो संख्या १ सय ५० जना र २०८१/०८२ मा झरेर १०० जना मात्र पुगेको छ ।
२० वर्षमुनिका किशोरी तथा युवतीको हकमा मेडिकल तथा सर्जिकल दुवै विधिबाट गरिएको गर्भपतनको संख्या २०७९/८० मा ५८ रहेको छ । २०८०/०८१ मा ४२ र २०८१/०८२ मा ४९ रहेको छ । उक्त उमेर समूहको संख्या पूर्ण रूपमा घट्न सकेको छैन । तथ्यांकका आधारमा किशोरी स्वास्थ्य अझै चुनौतीपूर्ण रहेको संकेत देखाउँछ । गर्भपतनपछिको सेवालिने महिलाको संख्या पनि वर्षअनुसार फरक–फरक देखिएको छ । २०७९/८० मा ५२ जना, २०८०/०८१ मा ७९ जना र २०८१/०८२ मा भने उल्लेखनीय रूपमा घटेर ८ जना मात्रपुगेका छन् । विशेषज्ञहरूका अनुसार उक्त सेवामा कमी आउनु सकारात्मक र नकारात्मक दुवै हुन सक्ने जनस्वास्थ्य प्रमुख रागिश्री कक्षपतिले बताईन् । सेवामा पहुँच नहुनुका कारण महिलाहरू बाहिरै उपचार गराइरहेको सम्भावना हुन सक्ने सरोकारवालाहरुले बताएका छन् । स्वास्थ्यकर्मीहरूका अनुसार सुरक्षित गर्भपतन सेवा महिलाको प्रजनन स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले पहुँच, गोपनीयता र सेवाको गुणस्तरमा निरन्तर सुधार आवश्यक छ । किशोरी र युवती लक्षित यौन तथा प्रजनन स्वास्थ्य शिक्षा र परामर्श सेवामा जोड दिनुपर्ने उनीहरुले बताए ।
मृत्युमा उतारचढाव
काभ्रेपलाञ्चोक जिल्लामा पछिल्ला तीन आर्थिक वर्षको तथ्यांक अनुसार मातृ मृत्यु संख्या स्थिर देखिएको छ भने नवजात शिशु मृत्युमा भने उल्लेखनीय उतारचढाव देखिएको छ । जनस्वास्थ्य कार्यालयको बार्षिक तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/०८०, २०८०/०८१ र २०८१/०८२ मा प्रत्येक वर्ष १–१ जना आमाको मृत्यु भएको छ । ती सबै मातृ मृत्यु स्वास्थ्य संस्थामै भएको तथ्यांकले देखाउँछ । यसले संस्थागत प्रसूति सेवाको पहुँच बढे पनि जटिलता व्यवस्थापन अझै चुनौतीपूर्ण रहेको संकेत गर्छ ।
यस्तै, नवजात शिशु मृत्युतर्फ आर्थिक वर्ष २०७९/८० मा ३० जना नवजात शिशुको मृत्यु भएको थियो । तीमध्ये २८ जना स्वास्थ्य संस्थामा र २ जना संस्थाबाहिर (घरमै) मृत्यु भएका थिए । आर्थिक वर्ष २०८०/०८१ मा नवजात शिशु मृत्यु संख्या घटेर ८ जना मा सीमित भयो । जसमा ७ जना संस्थामा र १ जनाको घरमा मृत्यु भएको थियो । तर आर्थिक वर्ष २०८१/०८२ मा पुनः वृद्धि भई २२ जना नवजात शिशुको मृत्यु भएको छ, जसका सबै घटना स्वास्थ्य संस्थामै भएको देखिन्छ । स्वास्थ्यकर्मीहरूका अनुसार नवजात शिशु मृत्युमा कमी ल्याउन गर्भावस्थादेखि नै नियमित स्वास्थ्य जाँच, सुरक्षित सुत्केरी सेवा, समयमै सन्दर्भ (रेफरल) प्रणाली र जन्मपछिको नवजात शिशु हेरचाहलाई थप प्रभावकारी बनाउन आवश्यक छ।जिल्ला जनस्वास्थ्य कार्यालयले मातृ तथा शिशु मृत्यु न्यूनीकरणका लागि स्वास्थ्य संस्थाको गुणस्तर सुधार, दक्ष जनशक्ति व्यवस्थापन र समुदायस्तरमा सचेतना कार्यक्रमलाई अझ सुदृढ बनाइने जनाएको छ । आमा र बच्चाको मृत्यु दर कम गर्न प्रदेश सरकार मार्फत सीमान्तकृत एवं लोपोन्मुख जातीहरुको मातृ तथा बाल स्वास्थ्य सेवामा सहज पहुँच तथा उपभोग बढाउन संस्थागत सुत्केरी र तिनका बालबालिकाले पूर्ण खोप लगाएका आमालाई मासिक उत्प्रेरणा खर्च उपलब्ध गराउने गरेको छ । जिल्लाका विभिन्न पालिकामा रहेका सिमान्तकृत समुदायका आमाहरुले उक्त सेवा लिएका छन् । सबैभन्दा धेरै बनेपामा ३६ जना संस्थागत सुत्केरी र ७७ जना पूर्ण खोप बालबालिकाहरुले उत्पेरणा खर्च प्राप्त गरेका छन् । त्यस्तै मण्डनदेउपुरमा १८ जनाले प्राप्त गरे भने महाभारत गाउँपालिकामा २ आमा र ६ बालिकाहरुहरुले पूर्ण खोप बापत प्राप्त गरेका छन् । चौरीदेउरालीमा ५ जनाले पूर्ण खोप बापत उत्प्रेरणा खर्च प्राप्त गरेका छन् ।
मातृ तथा नवजात शिशु स्वास्थ्यलाई स्वास्थ्य प्रणालीको संवेदनशील सूचक मानिन्छ । सुरक्षित मातृत्व सेवा, संस्थागत सुत्केरी, दक्ष स्वास्थ्यकर्मी र समयमै उपचारको उपलब्धताले मातृ र शिशु मृत्यु दर घटाउन महत्वपूर्ण भूमिका खेल्दछ । काभ्रेपलाञ्चोक जिल्लामा पछिल्ला तीन आर्थिक वर्ष २०७९÷०८० देखि २०८१÷८२ को तथ्यांकले यो क्षेत्रको सुधारका लागि स्थानीय, प्रदेश र संघ सरकारको सक्रियता कमी देखिन्छ । सबै मातृमृत्यु स्वास्थ्य संस्थामै भएका छन्।यसले संस्थागत सुत्केरीको पहुँच राम्रो भए पनि जटिल प्रसूति व्यवस्थापन, आकस्मिक प्रसूति सेवा समयमै उच्चस्तरको रेफरल सेवामा कमजोरी देखिन्छ । स्वास्थ्य संस्थामै मातृ मृत्यु हुनु भनेको सेवा नलिएको होइन तर सेवा गुणस्तर, उपकरण, दक्ष जनशक्ति वा ढिलाइका कारणले जोखिम बढेको देखिन्छ । यसको सुधारका लागि स्थानीय सरकारले बार्षिक कार्यक्रममा समेत समावेश गर्नु पर्छ ।
नवजात शिशु मृत्युमा वर्षअनुसार उतारचढाव भएको छ । २०७९/०८० बाट २०८०/०८१ मा मृत्यु संख्या उल्लेखनीय रूपमा घटेको देखिन्छ जुन सकारात्मक संकेत हो । तर २०८१/०८२ मा पुनः उल्लेखनीय वृद्धि हुनु चिन्ताको विषय हो । पछिल्लो वर्ष सबै नवजात शिशु मृत्यु स्वास्थ्य संस्थामै भएकोले जन्मपछिको तुरुन्त हेरचाह, नवजात सघन उपचार सेवा, संक्रमण नियन्त्रणमा सुधार आवश्यक भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । गर्भावस्थामा जोखिम पहिचान नहुनु, समयपूर्व प्रसव र कम तौलका शिशु जन्मनु, नवजात शिशुमा संक्रमण भएको जानकारी पाउन नसक्नु, दक्ष जनशक्तिको अभाव वा अत्यधिक कार्यभार, उपकरण र औषधिको सीमितता, सन्दर्भ प्रणालीमा ढिलाइ, नीतिगत तथा कार्यक्रमगत सिफारिस हुन नसक्नु लगायतको रहेको कार्यरत स्वास्थ्कर्मीहरुले बताएका छन् ।









