2026 July 31/ 05:15: 27pm

      रविगाउँ, धुलिखेल/‘प्रविधि र संस्कारसहितको गुणस्तरीय शिक्षा, व्यवहार कुशल सिपमा निखारपन ल्याउने सेतीदेवीको इच्छा’ भन्ने उद्घोष बोकेको धुलिखेल २ रविगाँउमा रहेको नगरको तथा बागमती प्रदेशकै नमूना सेतिदेवी माध्यमिक विद्यालयले स्थापनाको ६४ औ बार्षिकोत्सव मनाएको छ । 
    विद्यालय ब्यवस्थापन समिति अध्यक्ष रमेश कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यता रहेको थियो । बार्षिकोत्सवको अवसरमा अभिभावक दिवस, विद्यालयमा निर्माण नभएको नवनिर्मित भवन हस्तान्तरण, विद्यार्थीहरुले पाठ्यपुस्तक अध्ययन पछि प्रयोगात्मक रुपमा तयार गरेका शैक्षिक सामाग्रीहरुको प्रर्दशनी, सांस्कृतिक कार्यक्रम, तेक्वान्दो खेलको डेमो, शिक्षकहरुको विद्यालय गान तथा विविध कार्यक्रम आयोजना गरिएको थियो । 
    कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकाले नमुना विद्यालयहरु निर्माण गर्ने, शिक्षाको गुणस्तर तल्लो कक्षा देखि नै कायम गर्ने, विद्यार्थीहरुलाई पाठयक्रम लक्षित ज्ञान प्रयोगात्मक रुपमा उपलब्ध गराउने, त्यसका लागि विद्यालयलाई आवश्यक पर्ने पूर्वाधार, दक्ष जनशक्ति, आवश्यक बजेट तथा शिक्षकहरुलाई तालिम तथा अन्य आवश्यक विषयमा सहजीकरण गरिएको बताए । एमजीएमएल कार्यक्रम लागु भएका सबै विद्यालयहरुले गुणस्तर सुधार गरेको बताउँदै क्रमशः कक्षाहरु थप गरी उक्त कार्यक्रम थप प्रभावकारी बनाउने नगर प्रमुख ब्याञ्जुले बताए । हरेक वर्ष शैक्षिक प्रर्दशनीमा सेतिदेवीले कायम राखेको गुणस्तरलाई निरन्तर अघि बढाउन, प्रविधिमैत्री शिक्षा र कक्षाहरुलाई प्राथमिकतामा राख्न आवश्यक सहयोग र समन्वय रहने नगर प्रमुख ब्याञ्जुले बताए । 
    कार्यक्रममा वडा अध्यक्ष अर्जुन न्यौपाने, विद्यालयलाई सहयोग गर्ने विभिन्न क्षेत्रका ब्यक्तिहरु, जनप्रतिनिधिहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा अभिभावक र शिक्षकहरु, पूर्व प्रधानाध्यापक तथा शिक्षकहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा धुलिखेल नगरपालिका शिक्षा शाखाका भोजकुमार ठकुरी, नगर क्षेत्रका अन्य विद्यालयका प्रधानाध्यापकहरुको तर्फबाट धुलिखेल १० कालिका माविका प्रधानाध्यापक मनोहर थापा, सेतिदेवी माविकी शिक्षक कल्पना सापकोटा, विद्यार्थी अमृता गौतम लगायतले विद्यालयले प्रदान गरेको शिक्षाका बारेमा धारणा राखेका थिए । 
    कार्यक्रममा बोल्दै प्रधानाध्यापक राजकुमार सारु मगरले विद्यालयले शिक्षा केवल साक्षरता मात्र नभई चेतनाको उज्यालो र भविष्य निर्माणको आधारशिला भएको बताए । परम्परागत सिकाईबाट आधुनिक प्रविधितर्फ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दैविद्यालयलाई केवल एउटा शैक्षिक संस्थामा मात्र सीमित नराखी ज्ञान र नवीनताको एउटा गतिशील केन्द्रको रूपमा स्थापित गर्ने संकल्प प्रधानाध्यापक सारु मगरले ब्यक्त गरे । 
    सेतिदेवी मावि राष्ट्रियस्तरमा हुने मूल्यांकन पद्दति एसईई तथा कक्षा १२ को नतिजामा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ । विद्यालयमा रहेका कक्षाकोठाहरु भित्ताले घेरिएका कोठा मात्र नभई आधुनिक स्मार्टबोर्ड जडित सिकाई केन्द्र भएको उनले बताए । विद्यार्थीहरूले २१ औँ शताब्दिमा आइरहेका नवीन शैक्षिक पद्दति मार्फत विश्वव्यापी प्रतिस्पर्धामा खरो उत्रिन सक्ने सीप सिक्न सहज भएको उनको तर्क छ । विद्यार्थीहरूमा समालोचनात्मक चिन्तन, जीवन जिउनेको कला (व्यवहार कुशल सिप), सिर्जनशीलता, नवप्रवर्तन, अहिलेको कृतिम बौद्धिकता जस्ता सिपहरु भर्नरोबोटिक्स तथा प्रविधिमैत्री शिक्षालाई पाठ्यक्रमको अभिन्न अंग बनाएको प्रधानाध्यापक सारु मगरले बताए । नगरपालिका र वडा सरकारको प्रमुख र सक्रिय सहभागिता र सहयोगका कारण मात्रै विद्यालयले सफलता प्राप्त गर्न सकेको प्रधानाध्यापक सारु मगरले बताए ।