2026 July 31/ 05:39: 35pm

    बनेपा/नेवाः समुदायको एकता, भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ बनेपामा १६ औँ नेवाः एकता दिवस भव्य रूपमा सम्पन्न भएको छ । 
    ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको उक्त कार्यक्रमले नेवाः समुदायभित्र आपसी एकता र सांस्कृतिक चेतनालाई अझ सुदृढ बनाएको सहभागीहरूले बताएका छन् । नेवाः एकता दिवस मूल समारोह समितिको आयोजनामा सम्पन्न कार्यक्रममा संयोजक जगन्नाथ श्रेष्ठ नेवाः एकता दिवस मूल समारोह सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि बनेपाका ९४ वर्षिय जेष्ठ नागरिक रामभक्त श्रेष्ठ रहेका थिए । 
    कार्यक्रममा स्वागत मन्तव्य अल्का जोशीले व्यक्त गरेकी थिईन् । नेवाः समुदायको इतिहास, भाषा र संस्कृतिको संरक्षण आजको आवश्यकता भएको उल्लेख गर्दै जोशीले नेवाः एकता दिवस केवल उत्सव मात्र नभई सामूहिक पहिचान र भावी पुस्तालाई संस्कृतिसँग जोड्ने महत्वपूर्ण अवसर भएको बताईन् । कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा नेवाः अभियन्ताहरूले आफ्ना धारणा राखेका थिए । हलिं नेवाः गुथि काभ्रे मिसा कचाका प्रतिनिधि, रामकाजी प्रधान, हलिं नेवाः गुथि, भोंत कचा, सुरेश शैजु हलिं नेवाः गुथि, केन्द्रीय अध्यक्ष, विश्वनाथ ताम्राकार नेवाः दे नेपाः मण्डल, अध्यक्ष, सिद्धि बहादुर कर्माचार्य, कर्माचार्य समाज काभ्रे, अध्यक्ष तथा माइला बाबु द्यौला, नेवाः अभियन्ता सहभागि थिए । 
    वक्ताहरूले नेवाः समुदायको ऐतिहासिक योगदान, भाषा–संस्कृतिको संरक्षणमा देखिएका चुनौती तथा आगामी पुस्तामा सांस्कृतिक चेतना हस्तान्तरण गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए ।  उनीहरूले नेवाः समुदाय एकजुट भई आफ्नो मौलिकता जोगाउनुपर्नेमा पनि जोड दिए । कार्यक्रममा नेवाः संस्कृति, नाच–गान तथा नृत्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका मोहन तौजलेलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । त्यसैगरी, नेपालकै पहिलो महिला नेवाः धिमे बाजा तथा नौ बाजा वाद्यक इन्दिरा लाछामस्युलाई पनि दोसल्ला ओढाई विशेष सम्मान प्रदान गरिएको थियो । सम्मानित व्यक्तित्वहरूको योगदानले नेवाः सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरसम्म चिनाउन सहयोग पुगेको आयोजक समितिको भनाइ थियो ।
    कार्यक्रमको विशेष आकर्षण बनेपाको ऐतिहासिक लायकु दरबारबाट सुरु गरिएको नगर परिक्रमा रहेको थियो । बाजा–गाजा, झाँक्रीसहित परम्परागत नेवारी भेषभूषामा सुसज्जित सहभागीहरूले नगर परिक्रमा गर्दा बनेपा नेवाः संस्कृतिको जीवन्त रंगमञ्च जस्तै देखिएको थियो । नगर परिक्रमाले स्थानीय बासिन्दा तथा दर्शकहरूको ध्यान आकर्षित गर्नुका साथै नेवाः संस्कृतिप्रति गर्वको अनुभूति गराएको सहभागीहरूले बताएका छन् । कार्यक्रम सञ्चालन भवानी जोशी, नेवाः अभियन्ताले गरेका थिए । कार्यक्रमलाई अनुशासित र प्रभावकारी रूपमा अगाडि बढाउँदै नेवाः एकताको सन्देशलाई सबै सहभागीहरूसम्म पु¥याउन सफल भएको सहभागिहरुले बताए । 
    साँझ परम्परागत नेवारी भोज आयोजना गरिएको थियो । नेवाः एकता, सांस्कृतिक सहकार्य र सामूहिक पहिचानलाई बलियो बनाउने उद्देश्यसहित सम्पन्न १६ औँ नेवाः एकता दिवसले बनेपामा सांस्कृतिक उत्साह थपेको आयोजक तथा सहभागीहरूको साझा धारणा रहेको छ ।