बनेपा/बनेपा नगरपालिका वडा नम्वर १० जनागालमा रहेको जिल्लाकै नमूना विद्यालय नाईटिङ्गेल एकेडेमीले किड्स स्पोट्र्स फेस्टिवल २०८२ आयोजना गरेको छ । विगत वर्ष देखि विद्यालयले किड्स स्पोटर्स फेस्टिवल आयोजना गर्दै आएको छ ।
विद्यालयका कार्यकारी निर्देशक रत्नकुश रञ्जितकारको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली सेनाका जर्नेल राजन अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा अध्यक्षहरु चन्द्रबहादुर खड्का, रामबहादुर कुँवर, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, प्याब्सन बनेपाका अध्यक्ष महेन्द्र विष्ट, विद्यालयका प्रिन्सिपल उमा बस्नेत, श्रीमेहर गण धुलिखेकी सेनानी अर्चना श्रेष्ठ, शिक्षाविद् डा.श्याम भट्टराई, विद्यालयका शिक्षक तथा अभिभावकहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासलाई केन्द्रमा राख्दै आयोजित ‘किड्स स्पोट्र्स फेस्टिवल–२०८२’ भव्य रूपमा सम्पन्न भएको छ । विद्यालयस्तरका बालबालिकालाई खेलकूद, साँस्कृतिक कार्यक्रम तथा सृजनात्मक गतिविधिमार्फत एकआपसमा घुलमिल गराउने उद्देश्यले आयोजना गरिएको उक्त महोत्सवमा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । उद्घाटन समारोहमा बोल्दै प्राचार्य बस्नेतले बालबालिकालाई किताबी ज्ञानसँगै खेलकूद र सिर्जनशील गतिविधिमा सहभागी गराउनु आजको आवश्यकता भएको बताईन् । ‘बाल्यकालमै प्रतिस्पर्धा, अनुशासन र सहकार्यको भावना विकास गराउन यस्ता कार्यक्रम अत्यन्त उपयोगी हुन्छन्’–उनले भनिन् ।
कार्यक्रम विभिन्न चरणमा सञ्चालन गरिएको थियो । महोत्सव अन्तर्गत प्रि–प्राइमरी समूहका बालबालिकाका लागि समूहगत मार्चपास, जुम्बा डान्स, पि.टी, शो जस्ता आकर्षक कार्यक्रमहरू प्रस्तुत गरिएका थिए । साना बालबालिकाको उत्साह र अभिभावकको सक्रिय सहभागिताले कार्यक्रमस्थल उल्लासमय बनेको थियो । त्यसैगरी, कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरूका लागि विभिन्न खेलकुद प्रतियोगिताहरू सञ्चालन गरिएका थिए । समूहगत खेल, अभिभावक–विद्यार्थी समन्वयात्मक खेल लगायतका गतिविधिले सबैको ध्यान तानेको थियो । विशेषगरी अभिभावक स्वयं खेलमा सहभागी भएको दृश्यले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको सहभागीहरूले प्रतिक्रिया दिएका छन् ।
महोत्सवमा कोशी, राप्ती, गण्डकी, महाकाली, सेती, बागमती, त्रिशूली र कर्णालीजस्ता नाम दिइएका समूहहरूबीच मैत्रीपूर्ण प्रतिस्पर्धा गराइएको थियो । यसले बालबालिकामा राष्ट्रिय एकता, भौगोलिक चेतना र समूहगत भावना विकास गर्न सहयोग पु¥याएको अतिरिक्त कृयाकलाप संयोजक विक्रम प्रजापतिले बताए । सहभागिहरुले बालबालिकाको आत्मविश्वास बढाउनुका साथै विद्यालय–अभिभावक सम्बन्धलाई समेत मजबुत बनाउने धारणा व्यक्त गरे । उत्कृष्ट प्रदर्शन गर्ने समूह तथा विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। सहभागी बालबालिकालाई प्रोत्साहन स्वरूप प्रमाणपत्र प्रदान गरिएको थियो । समापन समारोहमा अध्यक्ष रत्नकुश रञ्जितले कार्यक्रम सफल बनाउन सहयोग गर्ने शिक्षक, अभिभावक तथा स्वयंसेवकप्रति धन्यवाद ज्ञापन गर्दै आगामी वर्ष अझ व्यवस्थित र व्यापक रूपमा महोत्सव आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । बालमैत्री वातावरणमा सम्पन्न किड्स स्पोट्र्स फेस्टिवल–२०८२ ले खेलकुद केवल प्रतिस्पर्धा मात्र नभई सिकाई, अनुशासन र खुसीको माध्यम पनि रहेको उनले बताए ।









