2026 July 30/ 02:48: 47pm

    नेकपा एमालेको ११ औ महाधिबेशनबाट केन्द्रिय कमिटीमा पुग्नेहरु नयाँ अनुहारका छन् । समावेशी विधान र युवाहरुको सहभागिता सुनिश्चित गरेसँगै कमिटीमा पुग्ने अवसर धेरैले प्राप्त गरेका छन् । केहिले स्वेच्छिक अवकाश पनि लिएका छन् । लामो समय जिल्लाबाट राजनीति गरी केन्द्रीय कमिटीको अनुशासन आयोग अध्यक्ष समेत रहेका केशव बडाल काभ्रेबाट निर्वाचित सांसद पनि हुन् । उनी मन्त्री पनि भए । अहिले स्वेच्छीक अवकाश लिएका छन् । 
    पहिलो पटक केन्द्रीय कमिटीमा पुग्नेहरुमा जिल्ला कमिटीका निर्वतमान अध्यक्ष एवं प्रदेश कमिटी सदस्य अशोक ब्याञ्जु, अखिलका पूर्व केन्द्रीय अध्यक्ष समिक बडाल, युवा संघका पूर्व केन्द्रीय उपाध्यक्ष अमित लामा छन् । पोलिटब्युरो सदस्य रहेका गोकुल बास्कोटा सचिव पदमा १० औ नम्वरमा परे । ७८ मत नपुगेका कारण उनी सचिवमा निर्वाचित हुन सकेनन् तर उनी केन्द्रीय सदस्यमा भने निर्वाचित भए । दोश्रो पटक निर्वाचित भएर केन्द्रीय कमिटीमा रुकमणी राना केन्द्रीय कमिटीमा पुगेकी छिन् । पूर्व केन्द्रीय सदस्य, सांसद् समेत भई अखिलको पूर्व केन्द्रीय अध्यक्ष नविना लामा झिनो मतले पराजित भईन् । उनले अध्यक्ष केपी ओली समुहबाट टिकट प्राप्त गरिनन् । पूर्व केन्द्रीय सदस्य रेशम लामा उम्मेदवार नै बनेनन् ।
    युवा नेता कञ्चन अधिकारी, जेनिश लामा र प्रदेश सांसद ज्ञानबहादुर लामा पराजित भए । काभ्रेपलाञ्चोकबाट ९ जना केन्द्रीय कमिटीमा सहभागी हुन उम्मेदवारी दर्ता गरिएको थियो । नेतृत्व चयनका लागि दुई समुह प्रतिस्पर्धामा थिए । अध्यक्ष केपी ओली समुहबाट अशोक ब्याञ्जु, समिक बडाल, रुकमणी बराईली, अमित लामा, जेनिश लामा थिए भने बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समुहबाट पोलिटब्युरो सदस्य समेत रहेका पूर्व मन्त्री गोकुल बास्कोटा सचिव पदमा प्रतिस्पर्धामा थिए । सदस्यहरुमा नविना लामा, कञ्चन अधिकारी र ज्ञानबहादुर लामा प्रतिस्पर्धामा थिए ।