संघीय सरकार मार्फत विनियोजन कार्यक्रममा विभिन्न कार्यालयको १४ करोड ७० लाख ४६ हजार रुपैया बजेट रोक्का राखेको छ भने प्रदेशका योजनाहरु प्रतिशतमा कटौती गरिएको छ ।
मोतीराम तिमल्सिना
धुलिखेल
जेनजी आन्दोलनपछि सरकारले संघ र प्रदेश अन्तर्गत छनौट भएका कार्यक्रम र योजनामा विनियोजन गरिएको बजेट रोक्का राखिएको छ । संघले केहि कार्यालयका केहि योजनामा विनियोजन गरेको रकम रोक्का राख्ने निर्णय गरेको छ भने प्रदेश सरकारले प्रतिशतका आधारमा योजनाको रकम कटौती गरेको छ ।
प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा रहेका विभिन्न कार्यालयहरु मध्ये जनस्वास्थ्य कार्यालय, मेथिन्कोट अस्पताल, प्रदेश जनस्वास्थ्य कार्यालय, कृषि विकास कार्यालय, शहरी विकास तथा भवन कार्यालय, जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, पशु सेवा कार्यालय, पूर्वाधार विकास कार्यालय लगायतमा विनियोजन गरिएको १४ करोड ७० लाख ४६ हजार २ सय ९८ रुपैयाको बजेट रोक्का राखिएको परिपत्र गरिएको छ ।
सबै भन्दा धेरै योजना जनस्वास्थ्य कार्यालय काभ्रेका काटिएका छन् । सोहि कार्यालयका ८ वटा योजनामा विनियोजन गरिएको केहि बजेट कटौती गरिएको छ । तर बजेटका हिसावले शहरी विकास तथा भवन कार्यालय काभ्रेपलाञ्चोकको बस्ती विकास कार्यक्रम (संघ) ५ करोड ८५ लाख रोक्का राख्ने निर्णय गरेको छ । बेथान्चोक गाउँपालिकाको महांकाल स्थान गोल्माकोट सडकको २५ लाख र खोपासी ढुंखर्क चयाम्राङबेशी सडकको २५ लाख रोक्का राख्ने निर्णय गरेको छ । त्यस्तै चापाबोट तल्लोथली दुर्लुङ्गखोला सडकमा विनियोजन भएको २५ लाख रकम पनि रोक्का भएको छ । काभ्रे जिल्ला पनौती नगरपालिका वडा नम्वर ८ मल्पि स्थित संजय साई मन्दिरको क्षेत्रमा पुर्वाधार निर्माणका लागि १ करोड रकम रोक्का भएको छ ।
पूर्वाधार विकास कार्यालयको स्थानीयस्तरका सडक पुल तथा सामुदायीक पहुँच सुधार परियोजना (संघ ) २ करोड ५० लाख रकम रोक्का राख्ने निर्णय गरेको छ । पूर्वाधार विकास कार्यालय अन्र्तगतको २ करोड ५० लाख रकमको योजना रोशीखोलाबाट शंखु बल्थली पूर्व वडा नम्वर १० र ११ जोड्ने गरी विनियोजन भएकोमा रोक्का राख्ने निर्णय भएको छ । जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयको नदी नियन्त्रण (संघ) ६५ लाख रुपैयाँ रोक्का भएको छ । उक्त कार्यालय मार्फत बनेपा १० स्थित मयलटार कालीखोला संरक्षणको २५ लाख र भैसेपाटी खोला नियन्त्रण अरनिको राजमार्ग उत्तर बनेपा १३ को ४० लाख रुपैया रोक्का भएको छ । कृषि विकास कार्यालय अन्र्तगत राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रम २५ लाख २५ हजार र सिंचाई आधुनिकीकरण अभिबृद्धि ९९ लाख २६ हजार रोक्का राख्ने निर्णय गरेको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालयका महामारी रोग नियन्त्रण कार्यक्रम १४ लाख ६ हजार, एड्स तथा यौन रोग नियन्त्रण ४ लाख, क्षयरोग नियन्त्रण ३१ लाख ९१ हजार, परिवार कल्याण कार्यक्रम (संघ) ९२ लाख ९८ लाख २ सय ९८, क्षयरोग नियन्त्रण (संघ सशर्त)४१ लाख २३ हजार रकम रोक्का रहेको छ । त्यस्तै जनस्वास्थ्य कार्यालय अन्र्तगत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र (संघ सशर्त अनुदान) ३ लाख, एड्स तथा यौन रोग नियन्त्रण (संघ सशर्त अनुदान) ७ लाख १२ हजार, उपचारात्मक सेवा कार्यक्रम (संघ शशर्त) १७ लाख ५० हजार, क्षयरोग नियन्त्रण (संघ सशर्त) ६ लाख ७१ हजार, नर्सिङ्ग तथा सामाजिक सुरक्षा सेवा कार्यक्रम २८ लाख ९२ हजार, अपाङ्गता रोकथाम तथा कुष्ठरोग नियन्त्रण (संघ) १ लाख ३५ हजार, परिवार कल्याण कार्यक्रम (संघ) १ करोड ७८ लाख ४० हजार, महामारी रोग नियन्त्रण (संघ) १२ लाख ३४ हजार रुपैया रोक्का रहेको छ । त्यस्तै मेथिन्कोट अस्पतालको महामारी रोग नियन्त्रण कार्यक्रम १ लाख ४३ हजार रोक्का भएको छ ।
प्रदेश सरकारले भने १० लाखसम्म १० लाख भन्दा माथिको योजनामा प्रतिशतका आधारमा रकम कटौती गरेको छ । १० प्रतिशत, २० प्रतिशत र ३० प्रतिशत समेत कटौती भएका छन् । जेनजी आन्दोलन र निर्वाचन देखाउँदै बागमती प्रदेश सरकारका सबै मन्त्रालयहरुले बजेट कटौती गरिएको छ । हरेक मन्त्रालयले पुर्वाधार निर्माणका लागि विनियोजन गरेको रकममा १० लाख रुपैयाँसम्मका योजनामा १० प्रतिशत कटौती गरिएको छ भने २० लाखसम्मका योजनामा २० प्रतिशत, ५० लाख रुपैयाँसम्मका योजनामा ३० प्रतिशत र त्यो भन्दा माथीका योजनामा पनि रकम कटौती भएको छ । चालुतर्फका योजनाहरुमा बैठक, तालिम र गोष्ठीमा हुने खर्च कटौती गरिएको छ । त्यस्ता कार्यक्रममा विनियोजन गरिएको रकम ५० प्रतिशतसम्म कटौती गरिएको छ ।
यी कार्यक्रमको बजेट रोक्का भयो
प्रदेश जनस्वास्थ्य कार्यालय
महामारी रोग नियन्त्रण कार्यक्रम – १४ लाख ६ हजार
एड्स तथा यौन रोग नियन्त्रण – ४ लाख
क्षयरोग नियन्त्रण – ३१ लाख ९१ हजार
परिवार कल्याण कार्यक्रम (संघ) – ९२ लाख ९८ लाख २ सय ९८
क्षयरोग नियन्त्रण (संघ सशर्त) – ४१ लाख २३ हजार
कृषि विकास कार्यालय
राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रम – २५ लाख २५ हजार
सिंचाई आधुनिकीकरण अभिबृद्धि – ९९ लाख २६ हजार
शहरी विकास तथा भवन कार्यालय काभ्रेपलाञ्चोक
बस्ती विकास कार्यक्रम (संघ) – ५ करोड ८५ लाख
जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय
नदी नियन्त्रण (संघ) – ६५ लाख
पशु सेवा कार्यालय
पशु सेवा विभाग – ५ लाख
पूर्वाधार विकास कार्यालय
स्थानीय स्तरका सडक पुल तथा सामुदायीक पहुँच सुधार परियोजना (संघ) – २ करोड ५० लाख





