2026 August 01/ 12:08: 09am

    धुलिखेल/पछिल्लो समय सर्ने भन्दा नसर्ने रोगको महामारी हुन थालेको छ । विपत्तिका अनेक घटनाहरुमा केन्द्रित भईरहँदा नसर्ने रोग र जिल्लामा देखिएका प्रमुख १० रोगका बारेमा तीन तहकै सरकारले ध्यान दिनुपर्ने निश्कर्ष जनस्वास्थ्य कार्यालयले निकालेको छ । 
    जिल्लास्तरीय समीक्षा गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै जनस्वास्थ्य कार्यालय काभ्रेका सूचना अधिकारी एवं जनस्वास्थ्य अधिकृत दिपेन्द्रकाजी श्रेष्ठले भने–‘जिल्लाका प्रमुख दश रोगहरुको पहिचान गरी त्यसको रोकथाम, नियन्त्रण र उपचारका लागि तीन तहका सरकासँग समन्वय भएको छ ।’ खोकी, एपीडी÷ग्यास्ट्राईटिस, टाउको दुखाई, ज्वरो, चोटपटक, मांशपेशी दुखाई, वाथ रोग, थकान र कमजोरी , छाला सम्वन्धी र पेट दुखाईका विरामी धेरै देखिन थालेका छन् । ओपिडीमा जचाउँन आएका विरामीहरु मध्ये १३ वटै पालिकामा सबैभन्दा धेरै यी १० रोगका विरामी रहेको तथ्यांकले देखाएको श्रेष्ठले बताए । खोकी लागेर ओपिडी आउनेहरुको संख्या १२.७१ प्रतिशत, ग्यास्ट्रिक भएर आउनेहरुको संख्या १०.९२ प्रतिशत छ । टाउको दुख्नेको संख्या १०.८४ प्रतिशत, ज्वरो आउनेको संख्या ७.११ रहेको छ । चोटपटक लाग्नेहरुको संख्या ६.५० प्रतिशत, जोर्नी तथा मांशपेशी दुखाई हुनेहरुको संख्या ६.४५ प्रतिशत, वाथ रोगका विरामी ५.५४ प्रतिशत देखिएका छन् । त्यस्तै थकान र कमजोरी भएर आउनेहरुको संख्या ४.१७ प्रतिशत, छाला सम्वन्धीका २.७८ प्रतिशत र पेट दुखाईमा २.३८ प्रतिशतका विरामी देखिएका छन् । त्यस्तै जिल्लामा डेंगु संक्रमण, स्क्रवटाईफस, कुकुरको टोकाई, सर्पको टोकाई र कालाजार पछिल्लो समयका चुनौती बनिरहेका छन् । 
    आर्थिक वर्ष २०८१÷०८२ मा जिल्लाभरी १३ वटा पालिकामा रहेका ३ लाख ५३ हजार २ सय ५० नागरिकहरु मध्ये २ लाख ९० हजार ४३ जनाले सेवा लिएका थिए । एउटै ब्यक्ति पटक–पटक सेवा लिन गएको संख्या पनि त्यसमा उल्लेख गरिएको छ । तिमध्ये १ लाख २३ हजार ८ सय ८ रिफर गरिएका छन् ।