2026 August 02/ 01:01: 38am

    बनेपा/नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले प्रतिनिधि सभा पुर्नस्थापना र प्रतिगमन खारेजको माग गर्दै देशब्यापी प्रर्दशन शुरु गरेको बताएका छन् । एमाले चुनावबाट भाग्दैन तर हुँदैन नहुने र चुनावी वातावरण नै नभएको अवस्थामा चुनाव चुनाव भनेर एमाले नअल्झने पोखरेलले बताए । 
    नेकपा एमालेले देशभर पालिका स्तरीय जनप्रर्दशन गरेको छ । काभ्रेका अधिकांश पालिकामा फरक फरक कार्यक्रम सम्पन्न भएका छन् । बनेपामा नगर कमिटीले आयोजना गरेको कार्यक्रममा पार्टीका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । अध्यक्ष नवराज मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका महासचिव शंकर पोखरेलले भाद्र २३ र २४ का आन्दोलनमा एमालेलाई सत्ताबाट हटाउन नेकपा माओवादी लगायतका केहि राजनीतिक दलका सक्रिय कार्यकर्ताहरु र नेताहरुको संलग्नता रहेको बताए । 
    महासचिव पोखरेलले सरकारले सामाजिक सञ्जाल बन्द गरेको नभई नियमन गर्न खोजेको बताएका थिए । युवाहरुको लत सामाजिक सञ्जाल बनेको कुरा बुझ्न नसकेको कुरा सत्य हो तर सामान्य ब्यवसाय गर्दा दर्ता गर्नु पर्ने कानूनी ब्यवस्था भएको अवस्थामा सामाजिक सञ्जाल दर्ता गर्नु पर्ने भए पनि त्यसो नगरी संचालन भएकाले सरकारले नियमन गर्न खोजेको उनले स्पष्ट पारे । एक घण्टा भन्दा लामो प्रशिक्षण मुलक मन्तब्य राख्दै पोखरेलले मुलुकको वर्तमान अवस्था, आगामी राजनीतिक घटनाक्रम र पार्टीको दृष्टिकोण सहितको धारणा राखेका थिए । 
    महासचिब पोखरेलले विद्यालय पोशाकमा आन्दोलनमा बालबालिकाहरु विद्यालय बस सहित कसले ल्याएको ? पानी बाँड्दै सरकारी संरचना र नेता तथा उद्योगी ब्यवसायीहरुको नीजि संरचना जलाउन कसले पठाएको ? अनि सरकारमा कुन कुन पदमा को जाने भन्ने निर्णय कसले गरेको ? विस्तारै खुल्दै गएको बताए । नेकपा एमाले चुनावबाट भाग्दैन तर चुनावको वातावरण नबनेको अवस्थामा एमालेले  चुनावमा भाग लिने अवस्था नरहेको उनले बताए । नेकपा एमाले प्रतिनिधि सभा पुर्नस्थापनाको पक्षमा रहेको उनले स्पष्ट पारेका थिए । 
    संकट आफैमा अवसर पनि भएको बताउँदै नेता पोखरेलले देशको सबै भन्दा लोकप्रिय शक्ति नेकपा एमाले भएको दावी गरे । लोकप्रिय शक्ति नेकपा एमालेलाई मुलुकको निर्णायक शक्तिका रुपमा बदल्न एमाले भित्रको एकता आवश्यक रहेको उनले औल्याए । नेकपा एमालेको ११ औ राष्ट्रिय महाधिबेशनलाई उत्सवको रुपमा मात्रै नभई संर्घषको उत्र्कषका रुपमा मनाउने योजनामा रहेको उनले बताए । जिल्ला जिल्लामा हुने कार्तिक २९ गतेको जनप्रर्दशन र मसिंर ६ गते राजधानीमा हुने प्रर्दशन विशाल हुने उनले दावी गरे ।