2026 August 03/ 03:09: 31am

    बनेपा/नेकपा एमालेले देशभर प्रतिगामी षड्यन्त्र विरुद्ध प्रर्दशन गरेको छ । घोषित कार्यक्रम अनुसार कार्तिक २२ गते शनिबार वडास्तरमा, २५ गते पालिका स्तरमा, २९ गते जिल्ला स्तरमा र मसिंर ६ गते राजधानीमा प्रर्दशनको तालिका सार्वजनिक गरेको थियो । 
    बनेपा नगर कमिटीको आयोजनामा बनेपामा आयोजित कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य गोकुल बास्कोटा, केन्द्रीय सदस्यहरु, प्रदेश कमिटीका नेताहरु, जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेल लगायतका नेताहरु तथा नगर कमिटीका नेताहरुले सम्बोधन गरेका थिए । अध्यक्ष नवराज मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न कमिटीका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । पालिकाहरुले कार्तिक २५ गते विभिन्न कार्यक्रम आयोजना गरेका थिए । चौरीदेउराली गाउँपालिका कमिटीले पनि बृहत्त कार्यक्रम आयोजना गरेको थियो । धुलिखेल नगर कमिटीले २८ गते धुलिखेलमा बृहत्त कार्यक्रम आयोजना गरेको अध्यक्ष विष्णु धितालले जानकारी दिए । जिल्ला स्तरीय कार्यक्रमको पनि तयारी गरिएको सचिव राजकुमार सापकोटाले जानकारी दिए । 
    प्रतिगामी षडयन्त्र – मुर्दावाद । विघटित प्रतिनिधिसभा – पुनस्र्थापना गर । भदौ २३ र २४ को अपराधिक घटनाको – निस्पक्ष छानविन गर । तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई – कारबाही गर । हत्या, हिंसा, आतंक – बन्द गर । भन्ने नारा सहित नेता तथा कार्यकर्ताहरुले प्रर्दशन गरेका थिए । साथै एमालेले पार्टीको ११ औ महाधिबेशनका लागि सहभागि हुन तोकिएको मापदण्ड अनुसार प्रतिनिधि छनौट गर्ने जनाएको छ । एघारौँ महाधिवेशन काठमाडौँमा ऐतिहासिक जनसभाका साथ मंसिर २७–२९ मा आयोजना गर्ने एमालेको निर्णय छ । महाधिवेशनमा करिब २१ सय प्रतिनिधिहरूको सहभागिता रहनेछ । मंसिर १३ गते देशभरका सबै स्थानमा एकै पटक प्रतिनिधि चयन हुनेछन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र र उत्पिडित दलित समुदायको अलग्गै क्लस्टर निर्माण गरिएको छ । प्रतिनिधि चयनको अनुपात १२ सय पार्टी सदस्यवाट ४ जना प्रतिनिधि चयन गरिनेछ । जसमा १ जना महिला, १ जना ४० वर्षमुनिको युवा र २ जना खुला प्रतिनिधि रहनेछन् । प्रत्येक थप ८ सय सदस्यमा १ जना प्रतिनिधि थपिनेछ । पहिलो प्रतिनिधि महिला हुने र चौथोमा पुनः महिला समावेश गरिनेछ । एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई प्रतिनिधि चयनको इकाई मानिनेछ । एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला वा गैरभौगोलिक जिल्लाहरूमा जिल्ला नै निर्वाचन इकाई हुने व्यवस्था गरिएको छ ।
    दलित समुदायको निर्वाचन इकाई जिल्ला रहने छ । प्रत्येक ५ सयमा एकजना प्रतिनिधि हुने ब्यवस्था छ । ट्रेड युनियनको हकमा भूगोलको प्रदेशवाट २ महिला सहित ७ जना, केन्द्रीय सल्लाहकार परिषद्बाट २५ जना निर्वाचित हुने ब्यवस्था गरिएको छ । प्रत्येक प्रदेश कमिटीबाट ५ जना जसमध्ये २ जना महिला अनिवार्य, पार्टी–सम्बद्ध जनसंगठनहरूबाट ५ जना जसमध्ये २ जना महिला अनिवार्य, महासंघीय ढाँचाका संगठनहरूबाट २ महिला सहित ७ जना, प्रवासको हकमा भारत प्रवास र महादेश कमिटीबाट २ महिला सहित ५ जना, विभाग र केन्द्रीय कार्यालयबाट एक–एक जना, केन्द्रीय कमिटीबाट मनोनित प्रतिनिधिको संख्या कुल प्रतिनिधिको ५ प्रतिशत रहनेछ । 
    काभ्रेमा १५ हजार १ सय ११ संगठित सदस्य मध्ये प्रतिनिधि सभा निर्वाचनन क्षेत्र नम्वर १ मा ७ हजार ५३ र क्षेत्र नम्वर २ मा ८ हजार ५८ जना संगठित सदस्य छन् । उत्पिडित दलितका हकमा करिब एक हजार सदस्य छन् ।