2025 December 16/ 06:22: 31am

मोतीराम तिमल्सिना
श्रीखण्डपुर

    सरकारको नियमित बस्ने क्याविनेट थियो । सरकारका प्रवक्ता समेत रहेका संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले काभ्रेपलाञ्चोक जिल्लामा वर्षाै देखि अलपत्र अवस्थामा रहेको आईटी पार्क अन्यत्र संचालन गर्ने र उक्त स्थानमा सरकारको तर्फबाट सरकारलाई हरेक वर्ष आम्दानी र रोजगारको समेत सिर्जना हुने सुरक्षण मुद्रण केन्द्र राख्ने प्रस्ताव पेश गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले बास्कोटाको उक्त प्रस्तावलाई स्वीकृति दिए । 
    हो त्यहि क्याविनेट थियो २०७५ चैत्र ४ गते सोमबार । मन्त्री बास्कोटाले चैत्र १० गते आईतबार पत्रकार सम्मेलन मार्फत क्याविनेटको उक्त निर्णय सार्वजनिक गरे । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ बाट २०७४ सालमा निर्वाचित भई मन्त्री भएका गोकुल बास्कोटाले काभ्रेपलाञ्चोक जिल्लाको समृद्धिका लागि बहुबर्षिय र बहुचर्चित योजनाहरु कार्यान्वनको शुरुवात त्यसरी गरेका थिए । अलपत्र परेको आईटी पार्कलाई प्रयोगमा ल्याउने उनको त्यो साहसिक र दीर्घकालिन महत्वको निर्णय थियो । २०७५ चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकले आईटी पार्कलाई सुरक्षण मुद्रण केन्द्रमा परिणत गरी आवश्यक पुर्वाधार निर्माण गर्ने निर्णय गरेको थियो । 
    सेक्युरिटी प्रिन्टिङ प्रेस, प्रतिरक्षा विश्वविद्यालय, सुर्यविनायक–धुलिखेलसम्मको फराकिलो सडक, महाभारत ट्रेल, ललितपुर ग्वार्काे हुँदै फुलचोकी रयाले पनौती नमोबुद्ध विपी राजमार्ग बैकल्पिक राजमार्ग लगायतका दर्जनौ बहुबर्षिय आयोजना प्रारम्भ भए । खानेपानी, सिंचाई, सडक पुर्वाधार तथा विद्यालय भवन लगायतका क्षेत्रमा बास्कोटाले प्रारम्भ गरेका आयोजनाहरुले गति लिईरहेका छन् । ‘जिल्लालाई थप समृद्ध बनाउने आयोजनाहरु मध्ये सेक्युरिटी प्रिन्टिङ प्रेस महत्वपूण छ’–सरकारका प्रवक्ता समेत रहेका संचार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले भने–‘आयोजना शुभारम्भ गर्नका लागि विभिन्न कालखण्डमा विभिन्न गतिविधिमा संलग्न विगतका सरकार, सरकारका मन्त्री तथा अन्य क्षेत्रमा सक्रिय ब्यक्तिहरुलाई धन्यवाद दिनु पर्छ ।’ मन्त्रालयका सचिव राधिका अर्यालले आयोजना शुभारम्भ गर्ने कार्यमा अहोरात्र सक्रिय पूर्व मन्त्रीहरु गोकुल बास्कोटा र पृथ्वी सुब्बा गुरुङलाई विशेष धन्यवाद ब्यक्त गरिन् । 
    सुरक्षण मुद्रण केन्द्र संचालन गर्ने गरी त्यहाँ रहेको सूचना प्रविधि (आईटी) पार्कको जग्गा सुरक्षण मुद्रण विकास समितिलाई दिने निर्णय गरेको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त जग्गा समितिलाई दिई काभ्रेमा सरकारले सेक्यूरिटी प्रेस सञ्चालन गर्ने योजना भएको बताएका थिए । त्यतिखेर बास्कोटाले सेक्यूरिटी प्रेस सञ्चालन गर्न फ्रान्ससँग आशय पत्रमा हस्ताक्षर गरेका थिए । सरकारले रेडियो नेपालको खुमलटारमा रहेको जग्गा आईटी पार्कका लागि उपलब्ध गराउने निर्णय त्यसअघि गरिसकेको थियो । रेडियो नेपालको ११८ रोपनी जग्गा सूचना प्रविधि पार्क बनाउन उपयोग गर्ने र काभ्रेमा प्रयोगविहीन रहेको आईटीपार्कलाई थप व्यवस्थापन गर्न सेक्यूरिटी प्रेस राख्ने योजना थियो । आईटी पार्कको उक्त जग्गा तथा भवनहरू सञ्चार मन्त्रालय अन्तर्गत छ । 
    २०५७ सालमा २५७ रोपनी जग्गा खरीद गरी भवन तथा पूर्वाधार निर्माण गरिएको उक्त पार्क ३० करोड रुपैयाँमा बनेको थियो । तर, सरकारको बेवास्ताका कारण त्यतिबेलासम्म पनि आईटी पार्क सञ्चालन हुन सकेको थिएन । सञ्चार मन्त्रालयका अनुसार २०६३ मा नेदरल्याण्डको एक कम्पनीले ६ महीना काम गरे पनि इन्टरनेट र यातायात पूर्वाधारको समस्या देखाउँदै पार्क निर्माणलाई अलपत्र पारेको थियो । समयसमयमा आईटी पार्क सञ्चालनको प्रयास भए पनि सरकारको ठोस नीति नहुँदा सफल हुन सकेको थिएन । 

यसरी शुरु भयो निर्माण कार्य 
        सरकारले आर्थिक वर्ष २०७५/०७६ सालमा सुरक्षण मुद्रण प्रेस राख्ने निर्णय गरेको थियो । भौतिक पूर्वाधारको काम थाल्न आर्थिक वर्ष २०७६/०७७ मा एक अर्ब नौ करोड बजेट विनियोजन भई कामको शुरुवात गरिएको हो । प्रारम्भिक चरणमा करिब रु ३३ अर्बमा निर्माण सम्पन्न गर्ने योजना बनाईएको केन्द्र निर्माण सम्पन्न गर्न क्रमागत बजेट विनियोजन गरिने उल्लेख गरिएको थियो । उक्त योजनालाई क्रमशः गर्ने गरी पहिलो चरणमा हाललाई ८ अर्बको बनाईएको छ । ३ अर्ब प्रेसका लागि खर्च भईसकेको छ । 
    सूचना प्रविधि पार्कमा स्थापना गरिएको सुरक्षण मुद्रण केन्द्रमा सेक्युरिटी प्रिन्टिङ पे्रसको निर्माणसम्बन्धी काम गर्ने जिम्मेवारी पाएका केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल विरुद्ध भ्रष्टाचार सम्बन्धी आधा दर्जन मुद्दा दर्ता भएका छन् । सोहि कारण पनि उक्त आयोजनाले गति लिन सकेन । आयोजनालाई ‘बुहवर्षीय’ बनाउने प्रक्रियालाई केही समय रोकिएको थियो । ‘आयोजना बहुवर्षीय बनाउन अर्थ मन्त्रालयमा बजेट सहितको प्रक्रिया टुङ्गो लगाएर शुरु गरिएको थियो’–कार्यकारी निर्देशक देवराज ढुंगानाले भने–‘सरकारले राहदानी, बैंक नोट, चालक अनुमति पत्र, स्मार्टकार्ड, हुलाक टिकट, अन्तः शुल्क स्टीकर, सिमकार्ड लगायत सुरक्षित छपाइका लागि पार्कमा केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।’ हाललाई चालक अनुमति पत्र छाप्ने कार्य प्रारम्भ गरिएको छ । छापाखाना निर्माणार्थ आवश्यक भवनलगायत भौतिक संरचनाका लागि जमीन मिलाउने, पर्खाल निर्माण तथा पार्कभित्रै भवनमा पहुँचमार्ग निर्माणको काम सकिएको लामो समय भई सकेको थियो । खानेपानीका लागि एक÷एक लाख लिटरका दुई वटा खानेपानीका ट्याङ्की निर्माण, छापाखानाका लागि आवश्यक पर्ने चार ठूला जेनेरेटर जडान तथा उक्त जेनेरेटर सञ्चालन गर्ने इन्धन भण्डारका लागि तीन लाख लिटर क्षमताको अण्डरग्राउण्ड डिजेल ट्याङ्की निर्माण सम्पन्न भएर पनि अलपत्र थियो । पार्कभित्र जमीनमुनि विद्युतीय ‘हाई भोल्टेज’का तार रहेकाले त्यसलाई छेउतर्फ व्यवस्थित गरिएको थियो । आवश्यकीय भवन तथा अन्य भौतिक संरचना निर्माणका लागि आयोजनालाई बहुवर्षीय बनाएर करिव ७ वटा ठेक्का लगाईएको थियो । प्रेस सञ्चालनमा आएपछि सुरक्षित मुद्रणबापत नेपालबाट वार्षिक रुपमा बाहिरिने १० अर्ब जोगिनेछ । 
    वर्षौँदेखि प्रयोगविहीन अवस्थामा रहेको पार्कमा सुरक्षण मुद्रण केन्द्र स्थापना गरी प्रेसको काम शुरु गरिएको हो । कूल २५७ रोपनी जमीनमा अवस्थित पार्कभित्र हाल दुई वटा ठूला व्यापारिक÷प्रशासनिक भवन तथा चारवटा सुविधा सम्पन्न आवासीय भवनलगायत नौ भवन छन् । तर, पे्रस स्थापनार्थ थप भवन निर्माण तथा केहि भत्काउनुपर्ने कार्यकारी निर्देशक ढुंगानाले बताए । प्रेस पूर्ण रुपमा संचालनमा आउँदा केन्द्रका लागि दुई सय प्राविधिक सहित करिब एक हजार जनशक्तिको आवश्यकता पर्नेछ । साथै, कुन भवन÷स्थानमा कस्तो प्रकारको पे्रस–मेसिन राख्ने भन्ने विषयमा विस्तृत छलफल गर्न पनि बाँकी नै रहेको जनाइएको छ । हाल ६० जना कर्मचारी राखेर कार्य प्रारम्भ गरिएको छ । 
    पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले केन्द्र निर्माणमा केहि ढिलाइ भए पनि सवारी चालक अनुमति पत्र छाप्न शुरु गरेर संचालनमा आएकोमा खुशी ब्यक्त गरे । ‘केन्द्रका लागि जनशक्ति र बजेट अभाव हुन्न, यो दीर्घकालीन राष्ट्रिय गौरवको आयोजना भएकाले यसको काम योजनाअनुसार निरन्तर भइरहनुपर्छ’–उनले भने । उनी विघटित प्रतिनिधि सभाका सदस्य पनि हुन् । दोश्रो पटक २०७९ मा पनि बास्कोटा अत्याधिक मतका साथ सोहि निर्वाचन क्षेत्रबाट विजयी भएका थिए । विसं २०५७ मा निर्माण शुरु गरिएको आइटी पार्क निर्माणकार्य सम्पन्न भई २०६१ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । दक्षिण एशियामै ठूलो मानिएको उक्त पार्क सञ्चालनमा ल्याउन नसक्दा पार्क जीर्ण अवस्थामा पुगेको थियो । 

के हुन्थ्यो पार्क भित्र ? 
    प्रयोगविहीन अवस्थामा रहँदा उक्त पार्कमा चलचित्रको छायाङ्कन, जिल्लाका राजनीतिक तथा अन्य कार्यक्रमहरु हुँदै आएका थिए । यसबीचमा केही सूचना–प्रविधिका संस्थाले पार्कमा बसेर काम थाले पनि छोटो समयमै छाडेर जाने गर्दै आएका थिए । काठमाडौ विश्वविद्यालयलाई समेत सरकारले केहि समय सम्झौता गरेर आईटी सम्वन्धी कार्यक्रम संचालन गर्ने अनुमति प्रदान गरेको थियो । तत्कालिन मन्त्री बास्कोटाको क्याविनेटले सुरक्षण मुद्रणलाई तीन चरणमा विकास गर्न कार्यमूलक एवं नतिजामूलक गुरुयोजना तयार पारेको थियो । सोहीअनुरुप पहिलो चरणमा नेपाललाई पाँच वर्षभित्र आत्मनिर्भर बनाउने, दोस्रो चरणमा दश वर्षभित्र सुरक्षण मुद्रण सम्बन्धी विश्वसनीय सेवा र गुणस्तरीय सुरक्षण वस्तु सार्क र दक्षिणपूर्वी एशियाका राष्ट्रलाई उपलब्ध गराउने भन्ने थियो । 
    साथै, तेस्रो चरणमा भने १५ वर्षभित्र सुरक्षण मुद्रणसम्बन्धी विश्वसनीय सेवा र गुणस्तरयुक्त सुरक्षण वस्तु अन्य बाँकी तेस्रो मुलुकमा उपलब्ध गराउने रणनीति तय गरेको थियो । सरकारले प्रेस मेसिन खरीदका लागि भने दुई देशका सरकार–सरकारबीच जी टू जी’ सम्झौता गर्ने जनाउँदै आएको थियो । 

६ महिनामा १२ लाख लाईसेन्स
    मन्त्री जगदिश खरेलले २०८२ कार्तिक २१ गते शुभारम्भ गरेको सुरक्षण मुद्रण केन्द्रले यातायात ब्यवस्था विभागसँग १२ लाख सवारी चालक अनुमति पत्र छाप्ने सम्झौता गरेको छ । दैनिक ५ सय छाप्ने गरी प्रारम्भ गरिएको प्रेसलाई आवश्यक जनशक्ति, बजेट र नीतिहरु निर्माण गरिएको मन्त्री खरेलले बताए । विवादित मुद्दा र अलपत्र कार्यहरुलाई द्रुत गतिमा टुङ्गो लगाउने गरी ६ महिना भित्र ९ प्रकारका सरकारी कागजातहरु छाप्ने गरी तयारी गरिएको कार्यकारी निर्देशक देवराज ढुंगानाले बताए । नेपालमा राजश्व लिएका ३० लाख लाईसेन्स छाप्न बाँकी छन् ।