2026 August 01/ 12:07: 11am

विकास तिमल्सिना
बनेपा

    काभ्रेको श्रीखण्डपुरमा रहेको सुरक्षण मुद्रण केन्द्रमा ड्राइभिङ लाइसेन्स छपाईको तयारी थालिएको छ । यातायात व्यवस्था विभागले सुरक्षण मुद्रण केन्द्र मार्फत १२ लाख सवारीचालक अनुमति पत्र छपाई थाल्ने तयारी गरेको हो । अहिले धमाधम तयारीको काम भइरहेको छ ।
    यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबिच क्षतिग्रस्त भएको विभागको सूचना प्रणाली पूर्वाधारबाट लाइसेन्सका विवरण रिकभर भएपछि तुरुन्तै लाइसेन्स छपाई थाल्ने समझदारी भएको थियो । विभागले अहिले सवारीचालक अनुमतिपत्रसम्बन्धी विवरण रिकभरको काम गरिरहेको छ । आफूसँग भएको लाइसेन्स छाप्ने मेसिन सहितका उपकरण गत भदौमा जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएपछि विभागले केन्द्रबाट लाइसेन्स छाप्ने भएको हो ।
    २०८२ जेठमा नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था विभाग र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रबिच छाप्न बाँकी २८ लाख हाराहारी लाइसेन्स छाप्ने सम्बन्धमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । केही दिनअघि मात्रै यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबिच क्षतिग्रस्त भएको विभागको सूचना प्रणाली पूर्वाधारबाट लाइसेन्सका विवरण रिकभर भएपछि तुरुन्तै लाइसेन्स छपाइ थाल्ने समझदारी भएको थियो । सोहीअनुसार विभागले अहिले सवारीचालक अनुमतिपत्रसम्बन्धी विवरण रिकभरको काम गरिरहेको छ ।
    केन्द्रका अनुसार विभागसँगको समन्वयमा १२ लाख लाइसेन्स छपाइको तयारी भइरहेको छ । जसका लागि विभागले करिब ३० करोड रुपैयाँ केन्द्रलाई उपलब्ध गराउने छ । विभागले केन्द्रलाई छाप्नुपर्ने लाइसेन्सको स्याम्पल उपलब्ध गराएपछि स्याम्पलिङको काम अघि बढ्नेछ । विभागले लाइसेन्सको डेटा केन्द्रलाई उपलब्ध गराएको तीन दिनपछि छपाइ थाल्ने केन्द्रको तयारी छ । “१२ लाख लाइसेन्स छपाई गर्न सक्ने क्षमता छ । बजेट उपलब्ध भयो भने आवश्यकअनुसार थप लाइसेन्स छाप्न केन्द्र सक्षम छ । प्राविधिक रूपमा पनि हामी तयार छौं । मुख्य कुरा भनेको विभागबाट रिकभर भएको डेटा हामीलाई उपलब्ध हुनुप¥यो,” एक प्राविधिकले बताए ।