2026 August 02/ 02:29: 29am

    धुलिखेल/काभ्रेबाट नेपालीका नाममा नागरिकता र राहदानी किनेर लिएका विदेशी नागरिकहरू अहिले जेलबाट फरार भएका छन् । दावा छिरिङ भनिने निमा तामाङका साथबाट बरामद भएका नेपाली नागरिकताका ब्यक्तिहरु पत्ता लाग्न सकेको थिएन । पासाङ तामाङ, सोनाम लामा, तेन्जिङ गुरुङ, राम लामा र पछि फेला परेका तेन्जिङ सोनाम तामाङ थिए । अहिले नेपालमा विध्वसात्मक आन्दोलन मच्चाउनेहरुमा उनिहरुकै समुह र यसरी नै नागरिकता खरिद गर्नेहरु धेरै भएको खुलेको छ ।
    नेपालमा विभिन्न समयमा प्रवेश गरेका यस्ता ब्यक्तिहरुले राजनीतिक पहुँच बढाउँदै प्रशासनिक संयन्त्रलाई प्रभावमा पारेर नागरिकता खरिद विक्री गरिरहेका थिए । दावा छिरिङ्ग भनिने निमा तामाङले अन्य ब्यक्तिहरुलाई समेत नागरिकता र राहदानी विक्री गर्न सहजीकरण गरेका थिए । ति मध्येका एक हुन तेन्जिङ सोनाम तामाङ । उनले २०७८ असोज १९ गते जिल्ला प्रशासन कार्यालय काभ्रेबाट राहदानी लिएका थिए । उनको राहदानी नम्बर १२४२६०४२ हो । नागरिकता नम्बर ३०३०७५–१८४३ भए पनि काभ्रेबाट जारी भएको देखिँदैन । तर, काभ्रेपलाञ्चोक जिल्लाको नागरिकता कोडनम्बर ३०३० नै हो । उनको जन्म मिति २०४७ कात्तिक १८ गते उल्लेख छ । अभिलेखमा काभ्रेबाट नागरिकता नदेखिए पनि सोही नागरिकताका आधारमा राहदानी लिएको खुलेको छ । पक्राउ परेका विदेशीहरूको साथबाट बरामद भएका कागजातका आधारमा तेन्जिङ सोनाम तामाङको नामको नागरिकता र राहदानी फेला परेको सीआईबीले जानकारी दिएको थियो ।
    सुन लगायत तस्करीमा सक्रिय रहन जिल्ला प्रशासन कार्यालय काभ्रेबाट नागरिकता खरिद गरेका तिब्बती मुलका बेल्जियम नागरिक नेपाली नाम निमा भनिने दावा क्षिरिङ जेलबाट भागेको डेढ महिना वितिसक्दा समेत कारागार फर्किएका छैनन् । उनि सहित केहि विदेशीले काभ्रे जिल्ला प्रशासन कार्यालयबाट नागरिकता खरिद गरेको छानविन समितिले पत्ता लगाएको थियो । उनि रवि लामिछाने जेलबाट भागेकै दिन २०६२ भदौ २५ गते जगन्नाथदेवल जेलबाट भागेका थिए । देशभर करिव ६ हजार कैदी बन्दी अझै जेल फर्किएका छैनन । कारागार प्रशासनले २०८२ असोज २६ गते प्रकाशन गरेको फरार बन्दीहरुको सूचीमा जगन्नाथदेवल कार्यालयबाट तिब्बतियन मुलका बेल्जियम नागरिक नेपाली नाम निमा तामाङ भनिने दावा क्षिरिङ फरार भएका हुन् । चीन, रुस, पाकिस्तान, दक्षिण अफ्रिका, भुटान, क्यानाडा, म्यानमार, मलेसिया, बंगलादेश, अमेरिका, सुडान, साउथ अफ्रिका, थाईल्याण्ड, युक्रेन, युगान्डा, जिम्बाविया, बोलोविया, भेनेजुयला, अफ्रिका क्यारमिन, ब्राजिल, मानमार्ग, बेलायत लगायतका मुलुकका १ सय ८ जना छन् भने छिमेकी देश भारतका मात्रै ५ सय ४० जना छन् । 
    २०८० भाद्र १० गतेसम्म जिल्ला प्रशासन कार्यालय काभ्रेबाट ६ विदेशी नागरिकले फर्जी कागजात तयार गरी नागरिकता र राहदानी लिएको प्रमाणित भएको थियो । दावाले सुन भन्दा पहिला नागरिकता र राहदानीको तस्करी गर्ने गरेको खुलेको थियो । नागरिकता विक्री गर्ने संख्या ३ सय भए पनि अनुसन्धानका क्रममा दर्जन भन्दा धेरै नागरिक सम्र्पकमा आएका छैनन । ‘चिनियाँ नागरिक ली नेङकाईको साथमा राम लामा र सोनाम लामा नामका दुईवटा राहदानी बरामद भएका थिए’– स्रोतले बतायो– ‘राम र सोनामले एकै दिन काभ्रेबाट २०७८ पुस ८ गते राहदानी लिएका हुन् । उनीहरूले लिएको राहदानी अनुसारको नागरिकता नम्बर भने गृह मन्त्रालयको रेकर्डमा भेटिँदैन ।’ राम लामाको जन्म २०५३ वैशाख १५ गते राखिएको छ । नागरिकता नभएकाले ठेगाना प्रस्ट छैन । १२५८९४५७ नम्बरको राहदानी लिएका रामको नागरिकता नम्बर ३०३०४१–२२५४ हो । यो जिल्लाको अभिलेखमा नक्कली हो । यस्तो खालको नम्बर काभ्रेबाट जारी भएको नागरिकतामा छैन ।
    सोनामको राहादानी नम्बर १२५८९४५६ र नागरिकता नम्बर ३०३०४२–२२५४ हो । जन्ममिति २०५३ भदौ ७ राखिएको छ । नागरिकता र राहदानीको नम्बरसँगै छ । उनीहरू दुवै जना नेपाली हैनन् । प्रहरीको रेकर्डमा भने दावा, सोनाम र रामको मात्रै नागरिकता फेला परेको छ । सीआईबीले गरेको अनुसन्धानमा पासाङ, तेन्जिङ र तेन्जिङ सोनाम थपिएका छन् । तेन्जिङको राहदानी नम्बर ११८८०३१ हो । २०२०–२–२४ अर्थात् २०७६ फागुन १२ गते काभ्रेपलाञ्चोक जिल्लाबाट लिएको राहदानीमा २०३९ जेठ २४ गते जन्ममिति राखिएको छ । ‘सीआईबीले गरिरहेको अनुसन्धानबाट निमा भन्ने दावा तामाङले आफूसहित अन्य ५ जनालाई काभ्रे जिल्लाबाट नागरिकता तथा राहदानी उपलब्ध गराएको खुलेको छ’, स्रोतले भन्यो– ‘केहीलाई नागरिकता र राहदानी दुवै र केहीलाई फर्जी नागरिकताका आधारमा सक्कलै राहदानी दिलाएको गृह मन्त्रालयको रेकर्डमा देखिएको छ ।’ दावाको सेटिङमा केही कर्मचारी खुलेर नै सक्रिय भएको पनि सीआईबीले अनुसन्धानमा फेला पारेको थियो ।
    तत्कालीन समयमा नागरिकता र राहदानी उपलब्ध गराउने कार्यमा तत्कालीन अधिकृतद्वय भूपेन्द्र पाण्डेय र झपेन्द्रराज खरेल, सुब्बाद्वय रामचन्द्र अर्यालको संलग्नता रहेको देखिए पनि पाण्डेयलाई मुद्दा चलाईएन । खरेल र अर्याल भने पटक पटक जेल पर्दै धरौटीमा रिहा हुँदै गरेका थिए । राहदानीको १५ लाख र नागरिकताको ५ लाख रुपियाँमा बिक्री गरेको स्रोतले बतायो । दावाले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ११ का पेमा तामाङको छोरा बनेर नागरिकता लिएको गृहमन्त्रालयले बनाएको छानबिन टोलीले पुष्टी गरेको थियो । उक्त विषयमा छानबिन गर्न  २०८० साउन २२ गते गृहमन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो । नेपालमा बेल्जियमको नागरिकका रुपमा पर्यटक भिसामा आएको अवस्थामा उनि पक्राउ परेका थिए । उनले नेपाली नागरिकता लिएको पाइएपछि तथ्य पुष्टि गर्न अनुसन्धान टोली गठन गरिएको थियो । 
    दावालाई २०८० साउन १३ गते शनिबार राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । ठमेलको होटल भियानामा छापा मारी उनलाई पक्राउ गरिएको थियो । १७ वर्ष अघि पनि उनी पक्राउ परेका थिए । उनले २०७४ पुस २० गते नागकिरता लिएको खुलेको थियो । २०८० साउन ३ गते ब्रेक शुमा राखेर ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । नेपाल बस्दा दावाको सम्वन्ध र सम्पर्क माओवादी नेता कृष्णबहादुर महरासँग देखिएको थियो । महरा तेश्रो पटक यहि अभियोगमा पुर्पक्षका लागि थुनामा गएका छन् । दावाले उनले नेपाली युवती रोल्पा घर भएकी अमला रोक्कासँग विवाह गरेको कागजात पेश गरेका थिए । अमला रोक्का लामो समय फरार भए पछि अदालतमा हाजिर भएकी थिईन् । उनलाई पनि अदालतले धरौटीमा रिहा गरेको थियो । अमला रोक्काको पूर्व पति कायम नै छन् । निर्वाचन आयोग र अन्य निकायमा अहिले पनि वहालवाला श्रीमान् अमलाका अर्कै छन् । दावासँग उनको सक्कली तर कागजी र पैसाको विवाह थियो । श्रोतका अनुसार दावा जेलबाट भागेर उनै अमला रोक्का र त्यहि राजनीतिक संयन्त्रसँगको सम्पर्कमा छन् । दावा जेलबाट भागे लगत्तै वर्तमान सरकारले कृष्णबहादुर महरालाई भित्र पठाएको हो ।