बनेपा/लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औ बार्षिक साधारण सभा संस्थाका जेष्ठ सदस्य कान्छी राईको प्रमुख आतिथ्यता तथा अध्यक्ष हिमाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ ।
सहकारी क्षेत्रमा सदस्यहरु घट्ने क्रम बढिरहेको समयमा लक्ष्मी महिला बचतमा भने सदस्यहरु बृद्धि भईरहेको छ । महिलाहरुको आर्थिक शशक्तिकरण र सवलीकरण गर्ने उदेश्यले स्थापना भएको सहकारीले सदस्यहरुका लागि विभिन्न सेवा उपलब्ध गराउँदै आएको छ । संस्थापक अध्यक्ष तिर्थमाया प्रधान, अध्यक्ष हिमाली श्रेष्ठ, उपाध्यक्ष कविता कार्की, सचिव सकुन्तला श्रेष्ठ, कोषाध्यक्ष कल्याणी चन्द ठकुरी, लेखा सुपरिवेक्षण समिति संयोजक सोविता थापा मगर, नेपाल पत्रकार महासंघ काभ्रे शाखा पुर्व अध्यक्ष मोतीराम तिमल्सिना लगायतले सहकारीले समुदायमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
सहकारीले साधारण सभाको अवसरमा जेष्ठ सदस्य सम्मान गरेको छ । ६५ वर्ष उमेर पुगेका २५ जना जेष्ठ सदस्यलाई दोसल्ला, सम्मानपत्र, हर्लेक्स र विस्कुट सहित सम्मान गरिएको छ । त्यस्तै बाल बचत सदस्यहरु एसईई उर्तिण ३९ जनालाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको छ । ति मध्ये नीजि तर्फका एक छात्र र एक छात्रा तथा सामुदायीक तर्फका एक छात्र र एक उत्कृष्ट छात्रालाई नगद सहित सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट शेयर सदस्य सज्जा श्रेष्ठ, ऋणी इन्दु राई, नियमित बचतकर्ता सायरा प्रधान र बाल बचतकर्ता सायीका गौतमलाई सम्मान नगद सहित सम्मान गरिएको थियो । त्यस्तै संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझी मेनेन्जर्स क्लवमा कोषाध्यक्ष निर्वाचित भएकोमा संस्थाले बधाई सहित सम्मान गरेको थियो ।
संस्थाको सेवा केन्द्र बनेपा ७ गोदामचोक र धुलिखेल ६ हस्पिटलचोकमा रहेको छ । केन्द्रिय कार्यालय पनौती ५ चौकोटमा छ । आर्थिक वर्ष २०८०/०८१ मा ४३ सय ७८ सदस्य रहेको सहकारीमा २०८१/०८२ मा ४७ सय ९६ पुगेका छन् । ४३ जनाको खाता बन्दी भएको छ । १४ जना नवदुलहीलाई भेटघाट गरिएको छ । हरेक दुलहीले ७ सय २५ रुपैया प्राप्त गरेका छन् । प्रसुती राहत तथा अन्य कोष मार्फत ५४ जना सदस्यहरुले एक÷एक हजार सहयोग प्राप्त गरेका छन् । मृत्यु राहत सेवाबाट १४ जनाले दश दश हजार रुपैया सहयोग प्राप्त गरेका छन् भने विरामी राहत मार्फत ८ जनाले पाँच पाँच हजार सहयोग प्राप्त गरेका छन् । साधारण सभाले यसमा केहि बृद्धी गर्ने प्रस्ताव पास गरेको छ ।
त्यस्तै चालु आर्थिक वर्षमा ४२ वटा कार्यक्रम प्रस्ताव गरिएको छ । अन्तराष्ट्रिय स्तरको तालिम तथा गोष्ठी देखि कर्मचारी र संचालक तथा शेयर सदस्यहरुको क्षमता अभिबृद्धि तथा सचेतनामुलक कार्यक्रम आयोजना गरिने प्रस्ताव गरिएको छ । प्रस्तावित कार्ययोजनामा दुई वटा नयाँ कार्यक्रम थप गरिएको छ । उमेर, पेशा र ब्यवसायका आधारमा समुह बर्गिकरण गरी शिक्षा प्रदान गर्ने, कृषि तथा पशुपालन तालिम, ब्यवसायीक योजना निर्माण तालिम लगायतका कार्यक्रम कार्ययोजनामा समेटिएको अध्यक्ष हिमाली श्रेष्ठले बताईन् ।
संस्थाको शेयर पुँजी आर्थिक वर्षको अन्त्यसम्ममा ३ करोड १४ लाख ८४ हजार २ सय पुगेको छ । २६ करोड ८६ लाख ५४ हजार ४ सय १७ रुपैया बचत, २० करोड ९६ लाख १६ हजार ५ सय ४६ रुपैया ऋण लगानी रहेको संस्थाको स्थिर पुँजी ४४ लाख ९२ हजार ९ सय ४ पुगेको छ । सबै कोष तथा अन्य खर्च कटाएर ३ लाख ७९८ हजार ६ सय ९५ रुपैया आम्दानी रहेको छ । प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीले लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थामा सदस्य संख्या बृद्धी भईरहेको र सदस्यहरुलाई सहकारी शिक्षा कार्यक्रम मार्फत अभिमुखिकरण तथा ब्यवसायीक योजना र आर्थिक बृद्धिका लागि सहजिकरण गरिरहेको बताए ।









