धुलिखेल/सहयोग र सरोकार धुलिखेल ६ काभ्रेले बाल गृहको आर्थिक वर्ष २०८१÷०८२ को सामाजिक परिक्षण गरेको छ । अध्यक्ष रुबेन रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा धुलिखेल नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विदुर गौतमको प्रमुख आतिथ्यता रहेको थियो । ज्योति निवास बाल गृहमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी गौतमले राज्यका निकायहरुले हेर्नु र गर्नुपर्ने दायित्व सहितको जिम्मेवारीलाई बालगृहले सहयोग पु¥याएकोमा धन्यवाद दिए । विश्वको र नेपालको राजनीतिक घटनाक्रम तथा बदलिँदो परिस्थितीमा कठिन चुनौतीका बाबजुत बाल गृहले बालबालिकाहरुलाई पु¥याईरहेको सेवाको प्रशंशा गर्दै सामाजिक विकास शाखा प्रमुख गौतमले स्थानीय सरकार साथमा रहेकाले कुनै पनि समस्या आउँदा अभिभावकको भूमिकामा रहेको बताए । धुलिखेलमा ८ वटा बालगृह रहेका छन् । २०२१ मा बालमैत्री नगर घोषणा भएको धुलिखेलमा १ सय ७ वटा बाल क्लव कृयाशिल छन् । बालबालिकाहरुका अधिकार, कर्तब्य र जिम्मेवारी सहित बालमैत्री वातावरण निर्माणमा बाल क्लव, बालगृह र स्थानीय सरकार सक्रिय रहेको उनले बताए । ज्योती निवास बाल गृहमा समेत बाल क्लवले गरिरहेका गतिविधिहरु र सक्रियताको उनले खुलेर प्रशंशा गरे ।
सामाजिक परिक्षण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत प्रहरी निरीक्षक मेहेगीन्द्रा लो तामाङले बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि सबै क्षेत्रको समन्वय आवश्यक रहेको बताईन् । बालबालिकाहरुले पाउनु पर्ने आधारभुत आवश्यकता, सरसफाई, सुरक्षा तथा भविष्यका लागि आईपर्ने चुनौतीका बारेमा समेत उनले बालगृहहरुले ध्यान दिनु पर्ने बताईन् । कार्यक्रममा गैसस महासंघकी अध्यक्ष गंगा तामाङ, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष मोतीराम तिमल्सिना, इम्मानुयल विद्यालयकी शिक्षिका राज्यलक्ष्मी श्रेष्ठ, बाल क्लबका सचिव ज्ञानु भट्टराई, स्थानीय, लक्ष्मी तिमल्सिना लगायतले बाल गृहले बालबालिकाहरुको क्षेत्रमा पु¥याएको योगदानका बारेमा चर्चा गरेका थिए ।
सामाजिक परीक्षण कार्यक्रममा साहरा बाल गृहका अध्यक्ष सुरेन माकजु, सहयोग र सरोकारका उपाध्यक्ष राजु रम्तेल, सचिव तथा निर्देशक रामप्यारी बस्नेत बज्राचार्य, सह सचिव देवराज भण्डारी, संचालक कुमार रम्तेल, सदस्य लक्ष्मी तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रे शाखा सदस्य एवं मदानी विटका सह सम्पादक विकास तिमल्सिना, संस्थाका लेखापाल सुनिल लुईटेल लगायतको सहभागिता रहेको थियो । कुमार रम्तेलद्वारा संचालित कार्यक्रममा सह सचिव देवराज भण्डारीले स्वागत गरेका थिए । अध्यक्ष रुवेन रानाले पवित्र उदेश्य राखेर बालबालिकाहरुलाई संरक्षण प्रदान गर्न भूमिका खेलिरहेको बताउँदै यो कार्यमा सहयोग र समन्वय गर्ने सबैमा धन्यवाद दिएका थिए ।
संस्थाले आर्थिक वर्ष २०८१÷०८२ मा ६ वटा कार्यक्रम संचालन गरिरहेको छ । पहिलो कार्यक्रम साक्षर अभियान हो । दीगो विकास लक्ष्य अनुसार सन् २०३० भित्र नेपाल साक्षर घोषणा भई सक्नुपर्छ । अझै पनि त्यो तथ्यांक पुरा हुन सकेको छैन । संस्थाले विभिन्न ७ वटा जिल्लाका ९ सय ३० जनालाई ३७ वटा कक्षा मार्फत एक वर्षको अवधीमा साक्षर गराएको सचिव रामप्यारी बज्राचार्यले बताईन् । कार्यक्रम शुरु भए देखि हालसम्म २७ हजार ब्यक्ति साक्षर भएका छन् । संस्थाको स्थापना नै साक्षर अभियानबाट शुरु भएको थियो । २५ वर्ष अघि स्वंय सचिव बज्राचार्यले उक्त अभियान शुरु गरेकी थिईन् । उक्त कार्यक्रम हालसम्म पनि निरन्तर संचालन भईरहेको छ । संस्थाले संचालन गरेको दोश्रो कार्यक्रम कृषिसँग सम्वन्धित छ । यो कार्यक्रम नेपालका ८ वटा जिल्लामा संचालन गरिएको छ । जसमा तरकारी खेतिका विभिन्न उत्पादनहरुका लागि कृषक पाठशाला लगायतका आवश्यक अन्य गतिविधिहरु संचालन गरिएको छ । एक वर्षको अवधीमा उक्त संस्थाले ७ सय ८० जना कृषकहरुलाई ११ वटा पाठशाला मार्फत अभिमुखीकरण गराएको छ भने माटो ब्यवस्थापन लगायतका अन्य कार्यक्रमहरुमा पनि कृषकहरुलाई सक्रिय बनाएको छ ।
तेश्रो कार्यक्रम पशुपालन हो । जसअन्र्तगत एक वर्षको अवधीमा बंगुरपालन, बाख्रापालन, कुखुरा, गाई भेसी लगायत छन् । जसमा २ सय ३ जना कृषकहरुलाई समेटिएको छ । जसबाट कृषकहरुको आयआर्जनमा बृद्धी भएको छ भने नियमित आम्दानीका लागि श्रोतको समेत ब्यवस्थापन भएको छ । चौथो स्वास्थ्य क्षेत्रको कार्यक्रम हो । ७ वटा जिल्लामा ग्रामिण स्वास्थ्य र महिला स्वास्थ्य कार्यक्रम अन्र्तगत विभिन्न रोगहरुको पहिचान, उपचार र सचेतनामुलक कार्यक्रम संचालन गरिएको छ । जसमा १८ वटा तालिम संचालन गरिएको छ । किशोर किशोरी लक्षित कार्यक्रम पनि संचालन गरिएको छ । ५ सय ६६ जना ब्यक्तिहरु स्वास्थ्य सेवा कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित भएका छन् । संस्थाले संचालन गरेको पाँचौ कार्यक्रम ज्योति निवास बालगृह हो । जहाँ बालबालिकाहरु बसेर अध्ययन गरिरहेका छन । बालगृहको नियम अनुसार एसईई पछि अभिभावक वा आफन्तको जिम्मा जान सक्ने अवस्थाका बालबालिकाहरु जिम्मा लगाईएको छ भने त्यसरी जान नसक्ने अवस्थाका बालबालिकाहरुलाई कक्षा ११ र १२ पनि सोहि गृहमा राखेर थप अध्ययन गराईएको छ । एक सय भन्दा धेरै बालबालिकाहरु बालगृहले हुकाई सकेको छ । २२ जना बालबालिकाहरु रहेको बालगृहमा यतिखेर एसईईको परीक्षाफल पछि १६ जना बालबालिकाहरु गृहमा आश्रित छन् । उनिहरुका लागि आवश्यक पर्ने सम्पूर्ण ब्यवस्थापन संस्थाले उपलब्ध गराउँदै आएको छ ।
संस्थाले संचालन गरेको छैटौ र अन्तिम महत्वपूर्ण कार्यक्रम ज्योति जीवन छात्रबृत्ति कार्यक्रम हो । जो अभिभावक भएर वा नभएर पनि, आफन्तको संरक्षणमा रहेर पनि अध्ययनका लागि सहज वातावरण निर्माण हुन नसकेका बालबाकिलाहरुका लागि उक्त कार्यक्रमले समेटेको छ । कार्यक्रम लागु भएका जिल्लाका बालबालिकाहरुका लागि उक्त कार्यक्रमबाट घर वा विद्यालय पुगेर छात्रबृत्ति उपलब्ध गराउने गरिएको छ । एक आर्थिक वर्षको अवधीमा संस्थाका तर्फबाट ५ सय २३ जना विद्यार्थीहरुले उक्त सेवा प्राप्त गरेका छन् । संस्थाले नियमित रुपमा दाखबारी त्रैमासिक बुलेटिन समेत प्रकाशन गर्दै आएको छ । मकवानपुर, काभ्रे, सिन्धुली, सर्लाही, महोत्तरी, म्याग्दी र रोल्पा जिल्लामा संस्थाले कार्यक्रम गरिरहेको छ । संस्थाका लेखापाल सुनिल लुईटेलले ६४ लाख ३५ हजार ४ सय ४९ रुपैया बराबरको आय ब्यय प्रस्तुत गरेका थिए । संस्थामा कविन बैद्य कोषाध्यक्ष छन् ।









