बनेपा/आन्दोलनमा बनेपा नगरपालिका जलाएका छन् । नगरपालिका ध्वस्त भएको छ । बैकल्पिक स्थानबाट सेवा प्रारम्भ भएको छ । यतिबेला नगरपािलका आफै आर्थिक संकटमा छ । नगरपालिकालाई तिर्नु पर्ने दायित्व भएकाहरु बर्षाै कर नतिरी बसिरहेका छन् ।
पुरानो सपिङ कम्प्लेक्स ब्लक ‘ख’ बनेपा ८ का बोलपत्रदाता रोहित श्रेष्ठले मासिक ६ लाख ७१ हजार २ सय २६ रुपैयाँ तिर्नु पर्ने कबोल थियो । २०७९ मंसिर २३ गते ३५ दिन कार्यादेश कटाएर १८ महिना ३ दिनको अवधी पाएका रोहित श्रेष्ठले २०८१ असारसम्म १ करोड २१ लाख ४९ हजार १ सय ९० रुपैयाँ बुझाउनु पर्नेमा ६० लाख ४६ हजार ३० रुपैयाँ मात्रै बुझाए । सोहि आर्थिक वर्ष भित्र उनले ६१ लाख ३ हजार १ सय ६० रुपैयाँ बुझाएका छैनन् ।
महालेखाले तत्काल उक्त रकम असुल गर्न बनेपा नगरपालिकालाई निर्देशन दिएको भए पनि आर्थिक वर्ष २०८१÷०८२ सकिँदासम्म बहाल रकम असुल हुन सकेको छैन । आर्थिक वर्ष २०८१÷०८२ सकिन लाग्दा समेत असुल हुनुपर्ने सबै रकम असुल हुन नसकेको हो । नयाँ सपिङ कम्प्लेक्स पूर्वतर्फ ब्लक ‘ग’ का राधेश्याम काफ्लेले मासिक ३ लाख ३५ हजार १ सय बुझाउनु पर्ने कबोल थियो । २०८१ असारसम्म ६० लाख ६५ हजार ३ सय १० रुपैयाँ बुझाउनु पर्नेमा काफ्लेले १३ लाख ४० हजार ४ सय मात्रै बुझाए । ४७ लाख २४ हजार ९ सय १० रुपैयाँ नबुझाएका काफ्लेले आर्थिक वर्ष २०८१÷०८२ मा सबै रकम बुझाएका छन् । दोश्रो वर्षमा भने उनले कबोल अनुसारको सम्झौता कार्यान्वयन गरे । नयाँ सपिङ कम्प्लेक्स पश्चिमतर्फ ब्लक ‘घ’ का बोलपत्रदाता मनिषा बडाल, मंगलटार ५ ले २९ लाख ७० हजार २ सय १९ रुपैया बुझाउनु पर्नेमा १ लाख ८२ हजार २ सय २२ रुपैयाँ बुझाएर २७ लाख ८७ हजार ९ सय ९७ रुपैयाँ असुल हुन बाँकी छ । साबिक ६ नम्वर वडा कार्यालय भवन पछाडिको पूर्वतर्फको सटर ब्लक ‘ङ’ का रोहित श्रेष्ठले ४ लाख ९ हजार ५ सय ३८ रुपैयाँ बुझाउनु पर्नेमा १ लाख ७५ हजार ८ सय ७५ मात्रै बुझाएर २ लाख ३३ हजार ६ सय ६३ रुपैयाँ बुझाएका छैनन ।
बसपार्क भित्रको ग्यारेज भवनको ब्लक ‘च’ अन्र्तगत दोर्जे ह्ुल्सा जेभी तेमाल ४ ले १८ लाख ३० हजार १ सय ९ सय रुपैयाँ बुझाउनु पर्नेमा १ लाख १ हजार १ सय ११ रुपैयाँ मात्रै बुझाएको छ । १७ लाख २८ हजार ९ सय ९८ रुपैया बुझाउन बाँकी छ । नगरपालिकाको उनिहरुबाट मात्रै सोहि आर्थिक वर्षमा बहाल रकम १ करोड ५५ लाख ७८ हजार ७ सय २८ रुपैयाँ असुल गर्न बाँकी छ । २ करोड ३४ लाख २४ हजार ३ सय ६६ रुपैयाँ असुल हुनुपर्नेमा ७८ लाख ४५ हजार ६ सय ३८ रुपैयाँ मात्रै असुृल भएको छ ।
तिर्नै मान्दैनन् ‘सम्पत्ति कर’
नागरिकहरुले सम्पत्ति कर नबुझाई सिफारिस समेत हुँदैन । तर पहुँचका भरमा नगरपालिकालाई तिर्नु पर्ने सम्पत्ति कर केहि संस्था र ब्यक्तिले बर्षाै देखि बुझाएका छैनन । अघिल्लो वर्ष चेष्टा साप्ताहिकले सम्पत्ति कर नबुझाउनेहरुको सूची प्रकाशन गरेको थियो । सोहि समाचार प्रकाशन पछि बनेपा १३ मा रहेको नेपाल प्रहरी स्कुलले सबै सम्पत्ति कर बुझाएको छ ।
नेपाल पुलिस स्कुलका नाममा रहेको २०७४/०७५ देखि २०८०/०८१ सम्मको ३५ लाख ४४ हजार ९ सय ५५ रुपैयाँ असुल गर्न बाँकी थियो । आर्थिक वर्ष २०८१/०८२ मा उक्त विद्यालयले सम्पत्ति कर बुझाएको छ । तत्कालीन दिपेन्द्र प्रहरी स्कुलका नाममा रहेको २०७४/०७५ देखि २०८०/०८१ सम्मको मालपोत कर २४ लाख १३ हजार ६ सय ६६ रुपैयाँ तिरेको छ । प्रहरी कल्याण केन्द्रका नाममा रहेको २०७४/०७५ देखि २०८०/०८१ सम्मको ९ लाख ८८ हजार ४ सय ४७ रुपैयाँ तिर्नु पर्नेमा आर्थिक वर्ष २०८१÷०८२ मा सबै रकम बुझाएको छ ।
काभ्रे बहुमुखी क्याम्पस बनेपालाई हरेक वर्ष बनेपा नगरपालिकाले बजेट विनियोजन गर्छ । तर क्याम्पसले तिर्नु पर्ने रकमका बारेमा अनदेखा गरिरहेको छ । २०५७/०५८ देखि २०८०/०८१ सम्मको ३१ लाख ९ हजार ४ सय ४८ भूमिगत मालपोत कर र सम्पत्ति कर बुझाएको छैन । भूमिगत मालपोत कर कसैलाई पनि छुट दिन सकिने कानूनी ब्यवस्था छैन । काभ्रे बहुमुखी क्याम्पसले बनाएका भवनहरुको नक्सा पास पनि छैन । नक्सा पास गरेको भए सम्पत्ति कर बुझाउनै पर्ने ब्यवस्था छ । सम्पत्ति कर नबुझाई नक्सा पास गर्ने पहुँच पनि हुन सक्छ । तर पनि काभ्रे बहुमुखी क्याम्पस पैसा बुझाउने कुरामा आनाकानी गरिरहेको छ । नगरपालिका पनि पैसा असुल गर्न सक्रिय भएको छैन । काभ्रे बहुमुखी क्याम्पसका नाममा रहेको केहि रोपनी जग्गा पनि पछिल्लो समय सरकारीकरण भईसकेको छ । कानूनतः धार्मिक संस्था र गैह्नाफामूलक, मन्दिर लगायतका संघ संस्थाहरुको हकमा भने सम्पत्ति करमा छुट दिन सक्ने ब्यवस्था गरिएको छ । उसले तिर्नुपर्ने मालपोत कर धेरै छ ।
सम्पत्ति कर नबुझाउनेमा शिर मेमोरियल हस्पिटल पनि छ । अस्पतालले १ लाख ७९ हजार ९२ रुपैयाँ तिर्न बाँकी छ । यो आर्थिक वर्ष २०८०/०८१ लेखापरिक्षणमा उल्लेख छ । आर्थिक वर्ष २०८१/०८२ मा उक्त संस्थाहरुले रकम बुझाएका छैनन् । त्यस्तै ग्लेसियर एजुकेशनल फाउण्डेशन प्रा.लि.ले ८५ हजार ९ सय ९० रुपैयाँ तिर्नु पर्ने छ । सम्पत्ति करमा बेरुजु रहेको १ करोड ५ लाख २० हजार २ सय १९ रुपैयाँ मध्ये नेपाल प्रहरी स्कुल एक्लैले करिव ८० लाख रुपैयाँ बुझाएको छ । त्यस्तै सुर्यभक्त श्रेष्ठका नाममा ९८ हजार ८ सय ८४ रुपैयाँ सम्पत्ति कर तिर्नुपर्ने बेरुजु छ । त्यस्तै आगन्तुक रिसोर्ट बनेपाले ९९ हजार ७ सय ३७ रुपैयाँ तिर्न बाँकी छ ।









