बेथान्चोक, गैह्भिन्ज्याङ/लक्ष्मी नारायण मन्दिर ब्यवस्थापन समिति बेथान्चोक वडा नम्वर ३ गैह्भिन्ज्याङको १२ औ बार्षिक साधारण सभा गाउँपालिका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यता तथा अध्यक्ष पूर्णप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको छ ।
‘बेथान्चोक गाउँपालिकाका सबै वडालाई धार्मिक पर्यटकीय क्षेत्रबाट समेत पहिचान दिने गरी हरेक समुदायको आस्था अनुसारका मन्दिर तथा गुम्बाहरुको ब्यवस्थापनमा ध्यान दिएका छौं’–गाउँपालिका अध्यक्ष भगवान अधिकारीले भने–‘बेथान्चोक कृषि, पशुपालनसँगै धार्मिक पर्यटनमा प्रचुर सम्भावना भएको पालिका हो ।’ वडा नम्वर १ देखि वडा नम्वर ६ सम्म रहेका धार्मिक क्षेत्रहरुलाई प्रचार प्रसार, संरक्षण, पुर्ननिर्माण तथा ब्यवस्थापनमा ध्यान दिदै धार्मिक सर्किट निर्माण गर्न लागिएको अध्यक्ष अधिकारीले बताए । बेथान्चोक गाउँपालिका वडा नम्वर ३ मा गुरुकुल सहितको बैष्णव पार्क निर्माणका लागि गाउँपालिकाले समपुरक योजनामा प्राथमिकता राखेको उनले बताए । चालु वर्षका लागि गाउँपालिकाले पहिलो योजनाका रुपमा गुरुकुल सहितको बैष्णव पार्क निर्माणका लागि एक करोड र प्रदेश सरकारले एक करोड रकम विनियोजन गरेको अध्यक्ष अधिकारीले बताए । ‘गाउँमा रहनु भएका जेष्ठ नागरिकहरुलाई मानसिक र शारिरिक रुपमा समेत स्वस्थ बनाउने गरी आध्यात्मिक चेतको विकास गराउने उदेश्यले भएका पवित्र कार्यहरुमा गाउँपालिका अभिभावक बन्ने छ’– अध्यक्ष अधिकारीले भने–‘धार्मिक सहिष्णुता सहितको समृद्ध र सचेत समुदाय निर्माणमा हाम्रो ध्यान केन्द्रित हुनेछ ।’
कार्यक्रममा गाउँपालिकाका पुर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बेथान्चोक गाउँपालिकाको ऐतिहासिक कार्यक्रम भएकाले यसको सफलिभुतका लागि शुभकामना ब्यक्त गरे । धार्मिक कार्यमा संलग्न हुँदा ब्यक्ति स्वस्थ हुने मात्रै नभई समुन्नत समाज निर्माणमा सहयोग पुग्ने उनले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्व अध्यक्ष मोतिराम तिमल्सिनाले स्थानीय स्तरमा शुरु भएका आध्यामिक ज्ञान सहितका कार्यक्रमहरुमा स्थानीय सरकारको प्राथमिकता महत्वपूर्ण भएको बताए । असल नागरिक निर्माणका लागि सचेत समाज निर्माणमा यस्ता कार्यक्रमहरु झनै महत्वपूर्ण हुने उनले बताए । कार्यक्रममा वडा अध्यक्ष कुवेर ढकालले आवश्यक सहयोग र समन्वयका साथ तोकिएको मिति भित्र योजना सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गरे । वडा नम्वर २ का अध्यक्ष पुरुषोतम तिमल्सिना, वडा नम्वर ५ का अध्यक्ष राजकुमार वाईवाले स्थानीय सरकारको प्राथमिकतामा रहेको उक्त कार्यक्रम सफल बनाउन शुभकामना ब्यक्त गरे ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सदस्य भवनाथ तिमल्सिनाले मन्दिर, गुरुकुल र पार्क निर्माणका लागि एक आना जग्गा खरिदका लागि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । भवनाथ तिमल्सिनाले वडा कार्यालय निर्माणका लागि जग्गा दान गरेका थिए । रामप्रसाद तिमल्सिना र भवनाथ तिमल्सिनाले वडा कार्यालय निर्माणका लागि जग्गा सहयोग गरेका थिए । कार्यक्रममा बैष्णव परिषदका अध्यक्ष रघुनाथ दाहाल, भागवत प्रचार प्रसार समितिका अध्यक्ष ठुलोबाबु तिमल्सिना, समितिका पुर्व सचिव गोपाल तिमल्सिना, समाजसेवी मछिन्द्रकुमार लामा, श्रीकृष्ण प्रणामी समितिका अध्यक्ष इन्द्रबहादुर तिमल्सिना लगायतले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा समितिका उपाध्यक्ष रामप्रसाद तिमल्सिनाले स्वागत गरेका थिए भने कार्यक्रम संचालन बेदप्रसाद तिमल्सिनाले गरेका थिए ।
स्व.भिमप्रसाद सापकोटाको सपना साकार बनाउने उदेश्यले शुरुमा उक्त क्षेत्रमा बेथान्चोक नारायण स्थान मन्दिर निर्माणको कार्य प्रारम्भ भएको थियो । क्रमशः अन्य पूर्वाधार निर्माणका लागि निरन्तर समुदाय सक्रिय छ । स्थानीय सरकार, प्रदेश र संघ सरकारको समेत प्रतिनिधित्वका लागि समुदायले एकादशीको अवसरमा अखण्ड भजन किर्तन गरिरहेका छन् । २०७४ भाद्र १४ गते देखि शुरु भएको अखण्ड किर्तन जारी छ । आजिवन सदस्य बृद्धी गर्ने, भवन सहितको जग्गा र पुर्वाधार निर्माणमा लाग्ने, धार्मिक प्रशिक्षण संचालन गर्ने लगायतका योजना अध्यक्ष पूर्णबहादुर अधिकारीले बताए । पूर्णबहादुर अधिकारी, बैकुण्ठ अधिकारी र मुक्तिनाथ अधिकारीले हरेक एकादशीमा कथा बाचन गर्दै आएका छन् । ५५ जना कर्ता रहेको उक्त संस्थामा ७५ जना आजीवन सदस्य छन् । आगामी वर्ष उक्त संख्यामा बृद्धि गर्ने योजना छ । सोहि कार्यक्रममा बैष्णव परिषद्मा अघिल्लो वर्ष सहयोग गर्ने मछिन्द्रकुमार लामालाई सम्मानपत्र वितरण गरिएको थियो । उनले राघवेन्द्र गुरुको शालिक निर्माणका लागि ३५ हजार सहयोग गरेका थिए ।









