धुलिखेल/अघिल्लो रात गाँजाको धुँवा उडाएर भोलिपल्ट सवारी साधन गुडाउँदा प्रहरीले एकै स्थानबाट ८ जना चालक तथा सह–चालकहरुलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकालाई लागु औषध (गाँजा) विरुद्धको अभियोग दर्ता गरिएको छ । पिसाब परिक्षण गर्दा उनिहरुले गाँजा खाएको खुलेको हो ।
जिल्लाका विभिन्न स्थानमा लागु औषध ओसारपसार, विक्री वितरण तथा प्रयोगकर्ताहरुको संख्या बढिरहेको छ । चालक तथा सह–चालकहरुले अघिल्लो रात सवारी साधन थन्क्याएर सुत्ने बेला जिउ नदुखोस भनेर थोरै गाँजा खाएर सुतेको बयान दिएका छन् । प्रहरीले पनौती ५ का ३० बर्षीय ध्रुर्व महत, बनेपा १३ का २८ बर्षिय मिलन थापा मगर, पनौती ४ का ३७ बर्षिय राजेश बस्नेत, मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका ३ का ३७ बर्षिय नविन ठकुरीलाई पक्राउ गरेको छ । त्यस्तै बनेपा १२ का ३२ बर्षिय किशोर केसी, सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका ७ का २७ बर्षिय सुबास चौलागाई, सिन्धुली जिल्ला गोलञ्जर गाउँपालिका ६ का ३३ बर्षिय विजय थापा, सिन्धुली जिल्ला मरिन गाउँपालिका ८ का २५ बर्षिय अशोककुमार थिङ रहेका छन् ।
२०८२ साउन १ गते दिउँसो १ बजेको समयमा पनौती नगरपालिका ५ आईटीपार्क नजिकै प्रहरी, ट्राफिक प्रहरीको संयुक्त गस्ति टोलीले संयुक्त सवारी साधनका चालक र सह–चालकहरुको स्वास्थ्य परीक्षण गर्ने क्रममा ५ जना चालक र ३ जना सह चालकलाई पक्राउ गरी लागु औषध सम्बन्धी मुद्दा दर्ता गरेको हो । उनिहरुमा गरिएको परिक्षणमा पक्राउ परेकाहरु सबैले अघिल्लो दिन गाँजा खाएको स्वीकारेका थिए । अघिल्लो दिन खाएको गाँजा ब्यक्तिको शरीरमा २४ घण्टासम्म रहने भएकाले सवारी साधन चलाईरहँदा पनि त्यसको असर देखिएको प्रहरीले बताएको छ । सवारी दुर्घटना न्यूनीकरणको पहिलो प्रयास स्वरुप प्रहरीले चालक र सहचालकको स्वास्थ्य अवस्था ठिक हुनु पर्ने निष्कर्ष निकालेको थियो । त्यहि क्रममा ट्राफिक प्रहरीले छड्के रुपमा विभिन्न स्थानमा बस तथा अन्य सवारी साधनका चालक, सह–चालकहरुको स्वास्थ्य परिक्षण गर्दै आएको छ । उनिहरु सबैलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो ।









