2026 August 02/ 07:30: 26am

बीमा समितिले भन्यो – अहिलेको रिफरलको भुक्तानी हुँदैन
    धुलिखेल/स्वास्थ्य बीमा बोर्डले काभ्रेमा तोकिएका प्रथम सेवा बिन्दुबाट रेफरल लेटर दिने काम मात्रै भएको भन्दै ध्यानाकर्षण गराएको छ । 
    जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा धुलिखेलमा भएको समन्वयात्मक बैठकमा बीमा बोर्डका प्रदेश संयोजक मनोज पौडेल र जिल्ला प्रमुख मुना निरौलाले आफुले सेवा दिन नसकेमात्रै माथिल्लो निकायमा रेफर गर्ने प्रावधान स्मरण गराएका छन् । उनीहरुले रेफर गरेको मात्रै बीमा बोर्डले भुक्तानी दिन नसक्ने समेत बताएका छन् । सरकारले निर्णय गरिसकेको विषयमा आफुहरुले केहि गर्न नसक्ने भन्दै उनीहरुले निर्णयको कार्यान्वयनमा जोड दिएका छन् ।
    यसै बिच सरोकारवालाहरुले धुलिखेल अस्पतालाई नै स्वास्थ्य बीमको प्रथम सेवा बिन्दु कायम गर्न काम गरेका छन् । जनशक्ति, भौतिक संरचनालाई बेवास्ता गर्दै अव्यवहारिक रुपमा निश्चित स्वास्थ्य संस्थालाई मात्रै प्रथम सेवा बिन्दु तोक्दा नागरिकले सास्ती खेप्नुपरिरहेको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमले बताए । बैठकले प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गरेर मात्रै प्रथम सेवा विन्दु तोक्न माग गरेको छ । स्तरोन्न्तीका लागि ६ महिनाको समय दिएर त्यसअघि धुलिखेल अस्पतालाई प्रथम सेवा बिन्दु तोक्न माग गरिएको समन्वय समिति प्रमुख गौतमले बताए । सेवा सञ्चालनका लागि तयारी अवस्थामा रहेका बनेपा, पाँच्खाल, मण्डनदेउपुर नगरपालिका लगायतका पालिकालाई पनि अनुमति दिनका लागि आग्रह गर्ने उनले बताए । १३ वटै पालिकामा कम्तिमा एउटा प्रथम सेवा बिन्दु तोक्न सरोकारवालाले माग गरेका छन् ।
    कार्यक्रममा पालिकाका प्रमुख÷उप–प्रमुख, अध्यक्ष÷उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, धुलिखेल अस्पतालका डा. बलराम मल्ल, रयुकाई आँखा अस्पतालका हिरामणी शमा, जिल्लाका लागि तोकिएका पाँचवटै स्वास्थ्य केन्द्रका व्यवस्थापन समिति अध्यक्ष लगायत सरोकारवालको उपस्थिती रहेको थियो ।