काठमाडौ/बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) छैटौ स्थापना दिवस तथा पाँचौ बार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष उद्धव सापकोटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २०८२ मसिंर २६ गते आयोजना हुने साधारण सभामा सम्मान तथा पुरस्कारका लागि १४ विद्यामा उत्कृष्ट विभिन्न क्षेत्रका ब्यक्ति तथा संस्थाहरुको नामावली घोषणा गरिएको थियो । २०७७ साल श्रावण १३ गते विधिवत रुपमा दर्ता भई बागमती प्रदेशका १३ जिल्लाभर कार्यक्षेत्र बनाई जिल्ला बचत संघ र प्रारम्भिक संस्थाहरु समेत गरी ५ सय ४९ भन्दा धेरै सहकारी संस्थाहरुको छाता संगठनको रुपमा रहेको बागमती प्रोस्कूनमा आर्थिक वर्षको अन्त्यमा २ अर्ब ४६ करोड बराबरको सम्पती रहेको छ । स्थापना दिवसको अवसर पारी संस्थाले उत्कृष्ट कार्य गर्ने सहकारी संघ÷संस्था तथा अभियानको प्रवद्र्धनमा योगदान पु¥याउने अभियन्ता लगायतका विभिन्न विद्यामा पुरस्कार घोषणा गरेको हो ।
कार्यक्रममा बागमती प्रोस्कूनले १४ विधामा सम्मान तथा पुरस्कृत हुने व्यक्तित्व तथा संघ÷संस्था छनौटका लागि बरिष्ठ उपाध्यक्ष दिवसराज खड्काको संयोजकत्वमा महासचिव गोविन्द खड्का र सचिव ठाकुर बास्कोटा रहेको समिति गठन गरेको थियो । समितिले गरेको सर्वसम्वत निर्णय सचिव ठाकुर बास्कोटाले घोषणा गरेका थिए । यो वर्ष बामगती प्रोस्कूनले उत्कृष्ट सहकारी अभियन्ता पुरस्कारबाट राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्ललाई पुरस्कृत गर्ने निर्णय गरेको छ । संविधान सभा सदस्य समेत रहेकी मल्ल अन्तर्राष्ट्रिय सहकारी महासंघकी बोर्ड सदस्य भैसकेकी छन् । त्यस्तै उत्कृष्ट जिल्ला बचत संघबाट काठमाडौं जिल्ला बचत संघ, उत्कृष्ट साकोसमा जनमुखी साकोस दोलखा, उत्कृष्ट महिला साकोस लक्ष्मी महिला साकोस काभ्रे पुरस्कृत हुने भएका छन् ।
त्यस्तै पूर्व सञ्चालक तेजेन्द्रबहादुर खड्का, उत्कृष्ट पदाधिकारी एवं सञ्चालक बुडोल सामुदायिक साकोस काभ्रेका अध्यक्ष कैलाश केसी, उत्कृष्ट व्यवस्थापक ग्रामिण साकोस चितवनका सिताराम सिलवाल, उत्कृष्ट व्यवस्थापक महिला तर्फ जागरण साकोस मकवानपुरकी मेनुका दाहाल, सञ्चारकर्मी नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष एवं मदानी विट डटकमका प्रधान सम्पादक मोतिराम तिमिल्सिना, उत्कृष्ट कर्मचारी संघबाट रामकृष्ण दुलाल रहेका छन् । त्यस्तै उत्कृष्ट सेवा उपयोग विद्यामा नेचुरल साकोस काठमाडौं, उत्कृष्ट लगानीकर्तामा विन्धवासिनी साकोस काभ्रे, उत्कृष्ट बचतकर्तामा दोलखा जिल्ला बचत संघ र एकीकरण गर्ने संस्था बज्रबाराही साकोस मकवानपुरलाई प्रोत्साहन पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।
बागमती प्रोस्कूनको प्रतिवेदन तथा पाँचौ बार्षिकोत्सव कार्यक्रमसम्म आईपुग्दा संस्थाले गरेको प्रगति, अवस्था तथा आगामी चुनौतीका बारेमा प्रमुख कार्यकारी अधिकृत केशव दाहालले प्रस्तुती गरेका थिए । पछिल्लो समय सहकारी अभियानलाई नियन्त्रणमुखी रहेको बताउँदै दाहालले सर्वाेच्च अदालतले खारेज गरिसकेको दृष्टि बन्धक शुल्क प्रदेश सरकारले पटक पटक थोपरेको, तरलताको सवाल, अभियानको रकम लगानी, बचतको सिमा, संघका गतिविधिहरुलाई रोक्न गरिएको प्रयत्न, धितो लिलाम, सकार सम्वन्धी ब्यवस्था, प्रमुख कार्यकारी अधिकृत तथा ब्यवस्थापक सम्वन्धी ब्यवस्था लगायतका कारण सहकारी अभियानमा चुनौती थपिएको उनले बताए । संस्थाको कारोवार अघिल्लो वर्षको तुलनामा घटिरहेको, बचतको सिमा घटेको तथा ऋण कारोवार पनि घटिरहेको उनले बताए । जन्म दिने तर कर्म गर्न नदिने सरकारी रणनीति रहेकाले सहकारी अभियानमा संकट नै संकट देखिन थालेको बताउँदै सबै क्षेत्रको सक्रियता र अभियानको कृयाशिलता आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष तथा पूर्व मन्त्री दिपकप्रकाश बास्कोटाको विशेष आतिथ्यता रहेको थियो । बागमती प्रोस्कूनका महासचिव गोविन्दप्रसाद काफ्लेले संचालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष जिवसराज खड्काले स्वागत मन्तव्य राखेका थिए । सहकारी अभियान, सरकारी निकायका प्रतिनिधिहरुको आतिथ्यता रहेको कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सचिव रविन ढकाल, राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डि.वी बस्नेत, संचालक परितोष पौडेल, टेकप्रसाद चौलागाई, सुमन नेपाल, नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको विशेष आतिथ्यता साथै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य धु्रव आचार्य, बागमती प्रदेश सहकारी रजिष्ट्रार प्रदिप पौडेल, नेफ्स्कूनका सञ्चालक खेम प्रसाद सुवेदी, सिता पौडेल, बागमती प्रदेश सहकारी संघ लेखा समिति संयोजक विकल्प पाठक लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा विशिष्ठ अतिथीहरुले संघको थप प्रगति र सफलताको कामना गरे । प्रारम्भिक संस्था र संघलाई कानुनत परेका असजिला पक्षहरुमा महासंघ सँगै रहने र समस्या समाधानमा लागिपर्ने प्रतिवद्धता प्रमुख अतिथी ओमदेवी मल्ले बताईन् । संघका महिला उपाध्यक्ष कल्पना श्रेष्ठले धन्यवाद मन्तव्य राखेको उक्त कार्यक्रममा अध्यक्ष उद्धव सापकोटाले संघले निरन्तर अभियानलाई कृयाशिल बनाउन पैरवी गरिरहेको बताए ।









