2026 August 03/ 09:23: 10am

बनेपा/बनेपा नगरपालिकाले लेखिएको इतिहासलाई जोगाउन मन्त्री तथा सरकारका सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णयलाई कार्यान्वनमा जोड दिएको छ । विशेषगरी सहकारी तथा भूमी ब्यवस्था मन्त्री, सहकारी विभाग र सरोकारवाला निकायहरुलाई बनेपा नगरपालिकाले संसदीय समिति र नेपाल सरकार मन्त्री परिषद्ले गरेको निर्णयलाई कार्यान्वन गराउन ध्यानाकर्षण गराएको हो । 
    नगर प्रमुख शान्तिरत्न शाक्यले २ हजार साल भदौ महिनामा बनेपामा संचालनमा रहेको सहकारीलाई आधिकारिक रुपमा पहिलो सहकारीका रुपमा मान्न र त्यहि वर्षलाई सहकारी स्थापनाको वर्ष मनाउने गरी नगरपालिकाले आवश्यक तयारी गरिरहेको बताए । सोहि तयारी अनुरुप सहकारी तथा भूमि व्यवस्था मन्त्री बलराम अधिकारी लगायतको ध्यानाकर्षणका लागि आवश्यक पत्राचार गरिएको उनले बताए । बनेपा नगर परापूर्वकाल देखि नै हाम्रो मुुलुकको आर्थिक, सामाजिक, सांंस्कृतिक, धार्मिक, राजनीतिक र व्यापारिक शहर हो । संघीय राजधानी काठमाण्डौको महत्वपूर्ण नाका हुनुको साथै राजधानीबाट सवैभन्दा नजिकमा पर्ने व्यापारिक नगर मध्येको ठूलो नगर पनि हो । नेपालको आर्थिक क्षेत्रको ऐतिहासिक विकास क्रममा बनेपाको उल्लेखनीय भूमिका रहँदै आएको छ । 
    आर्थिक विकासको अभिन्न अंगको रुपमा राज्यले स्वीकार गरेको सहकारीको भूमिका सहकारीको प्रादुर्भाव भएको समय देखि नै सोहि मुताविक रहँदै आएको प्राप्त तथ्यहरुले स्पष्ट पारेको छ । नेपालको आर्थिक विकासको अभियानमा सहकारीको भूमिकालाई आत्मासथ गरी अघि बढाउँदै लैजाने क्रममा राणा शासनकालमा नै वि.स. २००० साल भाद्र महिनामा बनेपामा सहकारी संस्थाको स्थापना गरी सहकारीको माध्यामबाट विभिन्न आर्थिक गतिविधिहरु सन्चालन भएको तथ्य र प्रमाणहरु प्राप्त भएका छन् । थप अध्ययन गर्न बनेपा नगरपालिका नगरकार्यपालिकाको बैठकबाट सहकारी प्रार्दुभाव अध्ययन समिति समेत गठन गरेको छ । समितिको अध्ययन प्रतिबेदन तथा प्राप्त सवुद प्रमाण समेतका आधारमा बनेपा नगरपालिकाले वि.स. २००० साल भाद्र महिनामा बनेपाबाटै सहकारीको प्रारम्भ भएको तथ्यलाई आधार मानी २०८२ साल भाद्र १ गते ८२ औं राष्ट्रिय सहकारी दिवस मनाउने गरी मन्त्रीलाई अनुरोध गरिएको नगर प्रमुख शाक्यले बताए । 
    नगरपालिकाले सहकारीको रकम दुरुपयोग सम्बन्धी संसदीय छानविन समितिको प्रतिबेदन, सहकारीको प्रार्दुभाव बनेपाबाट भएको प्रष्ट रुपमा उल्लेख रहेको, सहकारीको ईतिहाँस समेत उल्लेख गरी तत्कालिन सरदार भीम बहादुर पाँडेले लेख्नु भएको प्रकाशित पुस्तक (त्यस बखतको नेपाल) तथा स्वय भीम वहादुर पाँडेको छोराहरुको भनाई, संसदीय प्रतिवेदन कार्यान्वय गर्ने भनी नेपाल सरकारले प्रतिवेदनको व्यहोरा स्वीकार गरेको र मन्त्रीपरिषद्को बैठकको निर्णय लगायतका प्रमाणहरु नगरपालिकाले पेश गरेको छ ।