2026 August 02/ 07:31: 23am

मोतीराम तिमल्सिना
धुलिखेल

    काभ्रेपलाञ्चोक जिल्लामा आर्थिक वर्ष २०८१/०८२ मा अपराध न्यूनीकरणमा सुधारोन्मुख तथ्यांक देखिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सार्वजनिक गरेको बार्षिक प्रतिवेदनमा अपराधिक घटनाको संख्या अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा घटेको छ । तर प्राकृतिक प्रकोपका घटनामा बृद्धि भएको छ । 
    प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार काभ्रेपलाञ्चोक जिल्लामा अपराधिक घटना न्यूनीकरणमा भएका संस्थागत, सामुदायिक तथा तीन तहका सरकारको समन्वयमा भएका कृयाकलाप प्रभावकारी देखिएका छन् । अझै प्रभावकारी बनाउन नागरिकस्तरबाट निरन्तरको खबरदारी र समन्वय आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए । ‘आत्महत्या, हत्या, सडक दुर्घटनामा न्यूनीकरण भएको छ’–प्रमुख जिल्ला अधिकारी ढकालले भने–‘प्राकृतिक प्रकोपका घटनामा परेर ज्यान गुमाउने नागरिकहरुको संख्यामा भने बृद्धी भएको छ ।’ २०८१ असोज १०–१२ को अविरल वर्षात्का कारण यो संख्यामा बृद्धि भएको हो । 
    काभ्रेपलाञ्चोक जिल्लामा आर्थिक वर्ष २०८१/०८२ मा सडक दुर्घटनामा २४ जनाले ज्यान गुमाएका छन् भने ७ जनाको हत्या भएको छ । १ सय जनाले आत्हत्या गरेका छन् । प्राकृतिक प्रकोपमा परी ८९ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा प्राकृतिक प्रकोपमा परी ७ जनाले मात्रै ज्यान गुमाउनु परेको थियो । सडक दुर्घटनामा भने ३१ जनाले ज्यान गुमाएका थिए । यो वर्षको तुलनामा सडक दुर्घटना र दुर्घटनामा मृत्यु हुनेहरुको संख्या अघिल्लो वर्ष अलिक धेरै हो । आत्महत्या गर्नेहरुको संख्या पनि निरन्तर घटिरहेको छ । अघिल्लो वर्ष १ सय ३३ जनाले आत्महत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी कोमलबहादुर शाहले आत्महत्या न्यूनीकरणका लागि प्रहरीले समुदायसँगको सहकार्यमा जनचेतनामुलक कार्यक्रम गरिरहेको बताए । विद्यालय तह तथा समुदाय स्तरमा गरिएका कार्यक्रमहरु प्रभावकारी देखिएको एसपी शाहले बताए । 
    आर्थिक वर्ष २०८१/०८२ मा २ सय २० जनाले ज्यान गुमाए भने अघिल्लो वर्ष १ सय ८० जनाले ज्यान गुमाएका थिए । आर्थिक वर्ष २०८१÷०८२ मा अपराधिक घटना ६ सय ६९ वटा भए । यो संख्या अघिल्लो वर्ष ७ सय १८ वटा थियो । आर्थिक वर्ष २०८१/०८२ मा ५ सय ४२ जना अभियुक्त पक्राउ गर्दा अघिल्लो वर्ष ४ सय ६२ जना मात्रै अभियुक्त पक्राउ परेका थिए । प्राकृतिक प्रकोपका घटना २ सय ३८ वटा भए । अघिल्लो वर्ष ११ वटा मात्रै थिए । 
    सडक दुर्घटनामा परी आर्थिक वर्ष २०८१/०८२ मा २ सय १९ जना घाईते भए । अघिल्लो वर्ष ३ सय २१ जना घाईते भएका थिए । सडक दुर्घटना, सडक दुर्घटनामा घाईते र मृत्यु हुनेको संख्या अघिल्लो आर्थिक वर्षमा भन्दा धेरै कम भयो । प्राकृतिक प्रकोपका घटनामा परी आर्थिक वर्ष २०८१/०८२ मा १ सय २ जना घाईते भएका थिए भने अघिल्लो वर्ष ११ जना मात्रै घाईते भएका थिए । अन्य घटनामा कमी भए पनि प्राकृतिक प्रकोपका घटना, घटनामा परी घाईते तथा मृत्यु र जनधनको क्षतिमा अघिल्लो वर्ष पछि पछिल्लो वर्ष अत्याधिक धेरै भयो । 
    लागु औषधको प्रयोग तथा ओसारपसार ह्वात्तै बढेको छ । बालबालिका देखि युवाहरुमा लागु औषधको सहज पहुँच र विक्री वितरणका कारण लागु औषध सहज हुन थालेको छ । तर प्रहरीले पनि  सुचनाका आधारमा नियन्त्रण र पक्राउ दुबै गरिरहेको छ । आर्थिक वर्ष २०८१/०८२ मा लागु औष सम्बन्धीका ११ वटा मुद्दा दर्ता भएका छन् । जसमा २० जना पक्राउ परेका थिए । केहि धरौटीमा छुटेका छन् भने केहि पुर्पक्ष र केहि कैद तोकिएर सजाँय भुक्तान गरिरहेका छन् । २१ हजार ६ सय २६ वटा टरमाडोल ट्यालेट, ५६.१७ ग्राम ब्राउन सुगर लगायत विभिन्न प्रकृतिका लागु औषधमा प्रयोग हुने सामाग्री प्रहरीले बरामद गरेको छ । अघिल्लो वर्ष ९ वटा मुद्दा दर्ता भएका थिए । १९ जना पक्राउ परेका थिए ।