बनेपा/रोटरी क्लब अफ काभ्रे बनेपाको २५ औं पदस्थापन समारोह बनेपाको अरनिको पार्टी प्यालेसमा सम्पन्न भएको छ । ‘युनाइट फर गुड’ भन्ने नारासहित आयोजित पदस्थापन समारोहमा निर्वाचित नयाँ नेतृत्वलाई सपथ सहितको जिम्मेवारी हस्तान्तरण गरिएको थियो ।
वर्ष २०२५–२०२६ का लागि सरिता शाक्य अध्यक्षमा निर्वाचित भएकी छिन् । २०२४–२०२५ का अध्यक्ष श्यामकुमार तिमल्सिनाले नवनिर्वाचित अध्यक्षलाई रोटरियन माला सहितको पद हस्तान्तरण गरेका थिए । अध्यक्ष सरिता शाक्यले आफ्नो कार्यकालमा बालबालिकाहरुलाई विद्यालय तहमा योगको जागरण मार्फत रोग लागे पछि भन्दा लाग्नु अघि नै स्वस्थ राख्न स्वस्थ खानपान, सरसफाई, वातावरण तथा योगाभ्यासका बारेमा जानकारी गराउने बताईन् । ‘समुदाय र रोटरी बीचको सम्वन्धलाई अझै फराकिलो बनाउँदै रोटरीको २५ वर्षे गौरवपूर्ण इतिहासलाई कायम राख्न प्रयत्न गर्नेछु’–अध्यक्ष शाक्यले भनिन–‘अनाथ बालबालिका, बृद्धआश्रम तथा चाडपर्व केन्द्रित कार्यक्रम र अघिल्लो कार्यसमितिले तय गरेका कार्यक्रमहरुलाई निरन्तरता दिने छु । रोटरीयन सदस्य बृद्धिका लागि थप कार्यक्रम आयोजना गर्नेछु ।’
निवर्तमान अध्यक्ष श्यामकुमार तिमल्सिनाले अध्यक्षको कॉलर, ल्यापिन, हथौड़ा (गाभेल) हस्तान्तरण गर्दै शाक्यलाई पदस्थापन गराएका थिए । समारोहमा उनीसँगै प्रथम पुरुष युबराज शाक्यलाई पनि सम्मान गरिएको थियो । पुर्व डिस्ट्रिक गर्भनर दिलेन्द्रराज श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुर्व अध्यक्ष एवं प्रदेश सभा सदस्य कञ्चन्द्रबादे श्रेष्ठ, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, असिस्टेन्ट गर्भनर अशोककुमार श्रेष्ठ, ललितपुरका पुर्व अध्यक्ष अनिश बज्राचार्य लगायतले रोटरी र समुदायमा पु¥याएको योगदानका बारेमा चर्चा गरेका थिए । अध्यक्ष सरिता शाक्यले कार्यसमितिका सदस्यहरूलाई पद तथा गोपनियताको सपथ सँगै अन्यलाई परिचयपत्र वितरण गरेकी थिईन् । निवर्तमान अध्यक्ष श्यामकुमार तिमल्सिनालाई विशेष सम्मान गरिएको थियो । उनको कार्यकालमा भएका महत्वपूर्ण कार्यको प्रशंसा गर्दै क्लबका पदाधिकारीहरू तथा सदस्यहरूले कृतज्ञता व्यक्त गरेका थिए ।
निर्वतमान अध्यक्ष श्यामकुमार तिमल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेल तथा नेपाली जनताको समृद्धिको कामनासहित टोस्ट प्रस्ताव राखेका थिए । अध्यक्ष सरिता शाक्यले अन्तर्राष्ट्रिय रोटरी अध्यक्ष अरेञ्जो र उनकी पत्नी अन्ना मारियाको स्वास्थ्य तथा अन्तर्राष्ट्रिय रोटरीको सफलताका लागि दोस्रो टोस्ट प्रस्ताव गरेकी थिईन् । सचिव कुशल श्रेष्ठले सहभागिहरुलाई धन्यवाद दिएका थिए । कार्यक्रम रोटेरियन सलीस्मा कायस्थले संचालन गरेकी थिईन् । रोटरी क्लब काभ्रे बनेपाको २५ वर्षको सफल यात्रालाई सम्मान गर्दै आगामी वर्षका लागि नयाँ प्रेरणा दिएको सहभागिहरुले बताए । कार्यक्रममा विभिन्न क्लवका पदाधिकारी, रोटरीयन तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।









