2026 August 02/ 07:19: 37am

    धुलिखेल/तथ्यांक समन्वय कार्यालय काभ्रेपलाञ्चोकले काभ्रेपलाञ्चोक जिल्लाको आलुखेती सर्वेक्षण, २०८१ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । 
    तथ्यांक समन्वय अधिकारी दिपक कोईरालाका अनुसार काभ्रेपलाञ्चोक जिल्लाको आलु खेतीको वर्तमान अवस्था र सम्भाव्यता अध्ययन गर्न सञ्चालित काभ्रेपलाञ्चोक जिल्लाको आलु खेती सर्वेक्षण २०८१ को प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको माइलस्टोन कार्यक्रम अन्तर्गत तथ्याङ्क समन्वय कार्यालय, काभ्रेपलाञ्चोकले सञ्चालन गरेको सर्वेक्षण सफलतापूर्वक सम्पन्न भएको कार्यालयले जानकारी दिएको छ । उक्त कार्यक्रम अन्तर्गत जिल्लाका प्रमुख आलु उत्पादन क्षेत्रहरूमा कृषकहरूको सक्रिय सहभागितामा विस्तृत तथ्याङ्क सङ्कलन र विश्लेषण गरिएको छ । सर्वेक्षण अनुसार काभ्रेपलाञ्चोक जिल्लामा ५,४५० कृषक परिवारले ११,६१९ कित्तामा जम्मा ३४,५०१ रोपनी क्षेत्रफलमा आलु खेती गरी कुल २,८०,२३५ क्विन्टल उत्पादन गरेका छन् । जसमा प्रति परिवारको औसत क्षेत्रफल २.९७ रोपनी, औसत उत्पादन २४.१२ क्विन्टल र औसत उत्पादकत्व ८.४२ क्विन्टल प्रति रोपनी रहेको देखिएको छ । सर्वेक्षण अनुसार, काभ्रेपलाञ्चोक जिल्लामा हिउँदे आलु खेतीमा ३,६५९ कृषक परिवारले ७,३०८ कित्तामा जम्मा २१,३३२ रोपनी क्षेत्रफलमा खेती गरी कुल १,८७,३४२ क्विन्टल आलु उत्पादन गरेका छन् । यसमा प्रति परिवार औसत २.९२ रोपनी क्षेत्रफलमा खेती गरेको, २५.६३ क्विन्टल उत्पादन तथा प्रति रोपनी ९.१ क्विन्टलको उत्पादकत्व देखिएको छ । त्यस्तै, वर्षे आलु खेतीमा २,९८३ कृषक परिवारले ४,३१० कित्तामा १३, १६९ रोपनी क्षेत्रफलमा खेती गरी कुल ९२,८९३ क्विन्टल आलु उत्पादन गरेका छन्, जसअनुसार प्रति परिवार औसत ३.०६ रोपनी क्षेत्रफलमा खेती गरेको, २१.५५ क्विन्टल उत्पादन तथा प्रति रोपनी ७.२५ क्विन्टलको उत्पादकत्व देखिन्छ ।
    सर्वेक्षण अनुसार कुल आलु उत्पादनमा प्रतिशतका आधारमा जनकदेव सबैभन्दा बढी ६४.४९ प्रतिशत उत्पादन भएको छ भने क्रमशः डेजिरे (झप्री) १७.०३ प्रतिशत, खुमल सेतो – एक ७.१० प्रतिशत, पनौती लोकल ३.१८ प्रतिशत, खुमल रातो– दुई ४.४३ प्रतिशत, कार्डिनल ( निलो आलु) १.३२ प्रतिशत, कुफ्री सुन्दरी ०.२९ प्रतिशत, रोजिता ०.३० प्रतिशत, खुमल उज्वल ( चिप्सको लागी । ०.१८ प्रतिशत, कुफ्री ज्योती ०.१५ प्रतिशत, एम. एस. ०.१३ प्रतिशत र अन्य १.४१ प्रतिशतमा उत्पादन भएको देखिन्छ । सर्वेक्षण अनुसार काभ्रेपलाञ्चोक जिल्लामा आलुखेती गर्ने ५,४५० कृषक परिवारमध्ये ६१६ (११.३%) ले ऋण लिएका थिए भने ४,८३४ (८८.७% ) ले कुनै ऋण नलिएको देखिएको छ। ऋण लिने कृषकमध्ये सबैभन्दा धेरै ६५.८० प्रतिशतले सहकारी संस्थाबाट ऋण लिएका छन्, त्यसपछि २०.९१ प्रतिशतले बैंक तथा वित्तिय संस्था, ५.०२ प्रतिशतले कृषक समूह, ४.८६ प्रतिशतले आफन्त वा ईष्टमित्र, २.११ प्रतिशतले महिला समूह तथा १.३० प्रतिशतले अन्य स्रोतहरूबाट ऋण लिएको देखिन्छ । किटनासक प्रयोग गर्ने ८०.४७ प्रतिशत र प्रयोग नगर्ने १९.५३ प्रतिशत कृपक परिवार रहेका छन् । जसमध्ये, कटनासक प्रयोग गर्ने कृषकहरूमा २५.४३ प्रतिशतले सुरक्षित (हरियो), ६२.४२ प्रतिशतले मध्यम खालको (निलो), १०.८३ प्रतिशतले कडा (पहेलो) र १.३१ प्रतिशतले अतिकडा (रातो) को कीटनाशक प्रयोग गरेका थिए । सर्वेक्षण अनुसार, जम्मा १,२९,६९२ जनाले आलुखेतीमा संलग्न रहेकोमा ८०,४९४ महिला र ४९,१९८ पुरुष रहेका छन्, जहाँ महिलाको औसत पारिश्रमिक ७८१ रुपैयाँ प्रतिदिन र पुरुषको औसत पारिश्रमिक १,०५८ रुपैयाँ प्रतीदिन रहेको छ । काभ्रेपलाञ्चोक जिल्लामा आलुखेतीबाट कृपकहरूले कुल १ अर्ब ७३ लाख रुपैयाँ आम्दानी गरेका छन् भने कुल खर्च ५५ करोड १९ लाख रुपैयाँ रहेको छ । यसरी आम्दानी र खर्चको अन्तरका आधारमा कृषकहरूले ४५ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको देखिएको छ ।
    प्रारम्भिक प्रतिवेदनले जिल्लाको आलु खेतीको क्षेत्रफल, उत्पादन, उत्पादकत्व, कृषकहरूको सहभागिता र खेती प्रविधिको अवस्थाबारे महत्वपूर्ण तथ्यहरू प्रस्तुत गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाको कृषि अर्थतन्त्रमा आलु खेतीको महत्वपूर्ण योगदानलाई निर्विवाद रुपमा देखाएको छ । साथै, उक्त तथ्याङ्कले कृषि नीति निर्माण, योजना तर्जुमा र अनुगमनका लागि आधारभूत सामग्री प्रदान गर्ने अपेक्षा गरिएको जिल्ला तथ्यांक समन्वय अधिकारी दिपक कोईरालाले जानकारी दिए । विस्तृत विश्लेषण सहितको पूर्ण प्रतिवेदन भने तयार गर्ने क्रममा रहेको उनले बताए । सर्वेक्षणले काभ्रेपलाञ्चोक जिल्लामा आलु उत्पादनलाई थप व्यवस्थित र व्यावसायिक बनाउने तथा कृषकहरूका आम्दानी वृद्धिमा योगदान पुर्याउने विश्वास लिएको कोईरालाले बताए । कृषकहरूको जीवनस्तर सुधारमा ’समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको उनले बताए । 
के हो सर्वेक्षण ? 
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको माइलस्टोन कार्यक्रम अन्तर्गत, राष्ट्रिय तथ्याङ्क कार्यालयको निर्देशनमा तथ्याङ्क समन्वय कार्यालय, काभ्रेपलाञ्चोकद्वारा सञ्चालन गरिएको व्यावसायिक आलुखेती सर्वेक्षण, २०८१ पहिलोपटक सम्पन्न भई प्रारम्भिक नतिजा प्रकाशित गरिएको छ । जसले दीर्घकालीन कृषि नीति निर्माण र समग्र कृषि विकासका लागि आधार तयार गरेको छ । सर्वेक्षणले काभ्रेपलाञ्चोक जिल्लामा आलु खेतीको यथार्थ अवस्था, खेतीको क्षेत्रफल, लागत, आम्दानी, जनशक्ति प्रयोग,कृषकहरूको सामाजिक तथा प्राविधिक विवरण, सिँचाइ, मल– वीउ, औजार, श्रम, आर्थि पक्ष तथा कृपकहरूका समस्या र सुझावहरू समेटेर समग्र रूपमा तथ्याङ्क संकलन गरिएको थियो । वि.सं. २०८० माघ १ देखि २०८१ पुस मसान्त सम्मलाई ‘सन्दर्भ अवधी’ मानी आलुखेती सर्वेक्षण, २०८१ सञ्चालन गरिएको थियो । सर्वेक्षणले आलु उत्पादनसँग सम्बन्धित सवै महत्वपूर्ण पक्षहरूको तथ्याङ्क वैज्ञानिक ढंगले संकलन गरी जिल्लाको व्यावसायिक खेतीको वर्तमान अवस्था बुझ्न सहयोग पुयाउने अपेक्षा गरिएको छ ।
    आलुखेती गर्ने कृषकहरूलाई लक्षित गरी सञ्चालित यो सर्वेक्षण सरल, सहभागीमैत्री र न्यून लागतमा सम्पन्न गरिएको थियो, जसले तथ्याङ्कको गोपनीयता सुनिश्चित गर्दै कृषि नीति निर्माण, योजना तर्जुमा तथा कृषकहरूको जीवनस्तर उन्नतिमा महत्वपूर्ण योगदान पु–याउने अपेक्षा गरिएको छ ।

प्रमुख सूचकहरुको तालिका
सूचकहरु                     एकाई            नतिजा
जम्मा आलुखेती गर्ने कृपक परिवार        संख्या            ५४५०
जम्मा आलुखेती गरेको कित्ता संख्या        संख्या            ११६१९
जम्मा आलुखेती गरेको क्षेत्रफल            रोपनी            ३४५०१
जम्मा आलुको उत्पादन                क्विटल            २८०२३५
प्रती परिवार औसत आलु उत्पादन        क्विटल            २४.१२
प्रति रोपनी आलुको उत्पादकत्व            क्विटल            ८.४२
आलु खेतीको कुल खर्च                रु.             ५५ करोड १९ लाख
आलु खेतीको कुल आम्दानी             रु            १ अर्व ७३ लाख
कुल नाफा                    रु.             ४५ करोड ५४ लाख