– १ लाख २९ हजार ९ सय ६९ करदाता
– ८ प्रतिशतले बढ्यो राजश्व तर भेटिएन लक्ष्य
मोतीराम तिमल्सिना
धुलिखेल
आर्थिक वर्ष २०८१/०८२ मा काभ्रेपलाञ्चोक जिल्लाबाट ३ अर्ब ८८ करोड ५९ लाख ६८ हजार रुपैयाँ राजश्व संकलन भएको छ । आन्तरिक राजश्व कार्यालय धुलिखेलले बार्षिक लक्ष्यको तुलनामा ८५.६१ प्रतिशत प्रगति गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा कार्यालयले ८.७२ प्रतिशतले धेरै हो ।
जसमा आयकर १ अर्ब ८२ करोड ३३ लाख ४९ हजार, घर बहालकर ३ करोड २७ लाख २७ हजार, ब्याज कर ३२ करोड ७५ लाख १५ हजार रुपैयाँ संकलन भएको छ । आयकरतर्फ कार्यालयले २ अर्ब १८ करोड ३५ लाख ९१ हजार रुपैयाँ संकलन भएको छ । मुअकर १ अर्ब ३० करोड १ लाख ३३ हजार, अन्त शुल्क ४० करोड १९ लाख ५३ हजार, शिक्षा सेवा शुल्क २ लाख ६१ हजार, स्वास्थ्य सेवा शुल्क २९ हजार र अन्य शुल्क १ हजार रुपैयाँ संकलन भएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा घर बहालकर ९.०४ प्रतिशतले घटेको छ भने ब्याज कर ३.३० प्रतिशतले घटेको छ । कुल आयकर ७.८८ प्रतिशतले बढेको आन्तरिक राजश्व कार्यालय काभ्रेले जानकारी दिएको छ । अन्तःशुल्क १५.१० प्रतिशत, मुअकर ८.३९ प्रतिशतले बढेको छ । राजश्व हिस्सामा आयकरले ४६.९२ प्रतिशत स्थान ओगटेको छ । आयकर तर्फबाट ५६.१९ प्रतिशत स्थान हिस्सा राजश्वमा ओगटेको छ । आर्थिक वर्ष २०८०/०८१ मा काभ्रेपलाञ्चोक जिल्लाबाट ३ अर्ब ५७ करोड ४४ लाख ५० हजार राजश्व संकलन भएको थियो ।
करदाता सेवा कार्यालय दोलखा चरिकोटले लक्ष्यको ९२.७३ प्रतिशत राजश्व संकलन गरेको छ भने रामेछाप मन्थलीमा ७६.१९ प्रतिशत राजश्व संकलन भएको छ । धुलिखेलले भने ८६.०९ प्रतिशत राजश्व संकलन गरेको छ । जिल्लामा कुल करदाताहरुको संख्या १ लाख २९ हजार ९ सय ६९ रहेको छ । जसमा १३ सय ४५ सरकारी संस्था, मुअकरमा ५९ सय ८१, ब्यक्तिगत ७५ हजार १ सय ५७, आयकर ४५ हजार ७ सय ६८, स्वास्थ्य संस्था ४९, अन्तःशुल्कमा १५ सय ६६ र शिक्षण संस्थातर्फ १ सय ३ वटा करमा आबद्ध भएका छन् । २०४५ साल देखि भ्याटमा आबद्ध हुने कानूनी ब्यवस्था शुरु भएको हो ।
सरकारले हरेक क्षेत्रमा अनिवार्य पान नम्वर ब्यवस्था गरे पछि करदाताको संख्या र कर संकलन बढेको हो । कर प्रति बढिरहेको नागरिकहरुको चासो र करदाता शिक्षाका कारण राजश्व संकलन बढिरहेको छ ।
यी हुन विद्यागतमा उत्कृष्ट करदाता
आन्तरिक राजश्व कार्यालय धुलिखेलमा विभिन्न विद्यामा आर्थिक वर्ष २०८१/०८२ मा आयकर, ब्याज कर लगायतको शिर्षकमा उत्कृष्ट कर तिर्ने संस्थाहरु मध्ये सहकारी क्षेत्रको पहिलो र उत्कृष्ट पनौतीको सामुदायिक सहकारी रहेको छ । जिल्लामा रहेका लघुवित्त तर्फ आशा लघुवित्त, होटल तर्फ होटल मिस्टिक माउन्टेन, विद्यालय तर्फ नेपाल प्रहरी स्कुल साँगा, निर्माण ब्यवसायीहरु तर्फको श्री नवदुर्गा निर्माण तथा सरसफाई जनशक्ति प्रालि, उद्योगतर्फ सत्यम फुटवेयर इन्डष्ट्रिज प्राली, क्रसर तथा खानी तर्फ थ्रि.जी क्रसर उद्योग प्रालि र क्याम्पसतर्फ निस्ट कलेज प्रालिले धेरै कर बुझाएका छन् ।
सामुदायिक ः सहकारीमा पहिलो, उत्कृष्ट करदातामा छैटौ
जिल्लामा संचालन भएका मध्ये असार मसान्तसम्म आयकर र ब्याजकर बुझाएर उत्कृष्ट हुने सहकारीहरुमा पनौतीको सामुदायिक साकोस, पाँचखालको आर्थिक विकास मित्र बचत, बनेपाको मनकामना बचत र बुडोल सामुदायिक रहेका छन् भने छाता संगठन बागमती प्रदेश बचत तथा ऋण सहकारी पनि उत्कृष्ट करदातामा समावेश भएको छ ।
जिल्लामा रहेका १ लाख २९ हजार ९ सय ६९ करदाता मध्ये पनौतीमा रहेको सामुदायिक साकोस धेरै कर तिर्ने करदाताको सूचीमा छैटौ नम्वरमा पर्न सफल भएको छ भने सहकारी क्षेत्रमा पहिलो संस्था बन्न सफल भएको छ । सामुदायिक साकोसले ४ करोड ४९ लाख ७४ हजार ५ सय ८७ रुपैयाँ कर बुझाएको छ ।
उत्कृष्ट करदाता मध्ये असार मसान्तसम्म कर बुझाउनेमा पहिलो रोयल काठमाडांै हिमालय बेभरेज प्रालि रहेको छ । ३७ करोड ५८ लाख ५१ हजार ३ सय ८८ रुपैया तिरी उत्कृष्ट र पहिलो करदाता बनेको हो । यद्यपी पौष मसान्तसम्म विवरण थप गर्ने समय रहेकाले अन्य संस्थाहरु पनि उत्कृष्ट करदाता हुन सक्ने सम्भावना छ । तर पनि असार मसान्तसम्म त्यहि कम्पनी पहिलो करदाता बनेको हो । यो वाईन कम्पनी हो ।
सामुदायिक साकोसले बुझाएको ४ करोड ४९ लाख ७४ हजार ५ सय ८७ रुपैया कर मध्ये आयकर १ करोड ६८ लाख ४३ हजार ९ सय १२ र ब्याजकर २ करोड ८१ लाख ३० हजार ६ सय ७५ रुपैयाँ रहेको छ । पाँचखालमा रहेको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहकारी क्षेत्रको जिल्लाको दोश्रो धेरै कर बुझाउने सहकारी बनेको छ । १ करोड २९ लाख ८४ हजार ५ सय ६८ रुपैयाँ कर बुझाएको छ ।
बनेपामा रहेको मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ करोड २८ लाख ६१ हजार ३ सय ७२ रुपैयाँ कर बुझाएको छ । बुडोल सामुदायिक बचत तथा ऋण सहकारीले १ करोड ६ लाख ५४ हजार ९ सय १३ रुपैयाँ कर बुझाएको छ । सहकारीहरुको छाता संगठन बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडले २ करोड ५२ लाख २४ हजार १ सय ४२ रुपैयाँ कर बुझाएको छ ।









