पनौती/पनौती नगरपालिका वडा नम्बर ८ अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा सुनिश्चित वडा घोषणा भएको छ ।
सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने नाराका साथ एक भव्य कार्यक्रमकाबीच अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा सुनिश्चित वडा घोषणा गरिएको हो । वडा अध्यक्ष बेदप्रसाद बञ्जाराको अध्यक्षतामा भएको कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख भण्डारीले सबै बालबालिकालाई शिक्षाको ज्योति पुर्याउने अभियानमा सहभागी सबैलाई धन्यवाद व्यक्त गरेका छन् । बालबालिकालाई देशको भविष्यका रुपमा चित्रण गर्दै उनले असल समाज निर्माणको एउटा चरण पुरा भएको बताए । उनले दिगोपना चुनौतीपूर्ण रहेको भएपनि सबैको प्रयासले निरन्तरता दिन सफल हुने विश्वास व्यक्त गरेका छन् ।
उप–प्रमुख गिता बञ्जाराले संविधानमै व्यवस्था गरिए बमोजिम सबैलाई शिक्षाको पहुँच सुनिश्चित गरिएको बताइन् । कार्यक्रममा वडा अध्यक्ष बेदप्रसाद बञ्जाराले बञ्जाराले भविष्यका आशा बालबालिकाको अधिकार रक्षा आफुहरुको दायित्व भएको बताए । उनले यसलाई निरन्तरता दिने भन्दै सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएका छन् । घोषणा सभामा वडा शिक्षा समिति सदस्य सचिव एवं भालेश्वर माविका प्रधानाध्यापक रामचन्द्र थापाले प्राप्त उपलब्धिका लागि भएका प्रयास, चुनौती र आगामी योजनाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा सुनिश्चित वडा घोषणा असामान्य कार्य भएको बताए । उनले यसको निरन्तरताका लागि शिक्षक व्यवस्थापन, शैक्षिक सामाग्री, भौतिक पुर्वाधार लगायतका पक्षमा समेत ध्यान दिनु जरुरी रहेको बताएका छन् ।
कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, निर्देशक प्रणराज न्यौपाने, शिक्षा शाखा अधिकृत पुष्पा अर्याल, स्रोत व्यक्ति महेश्वर जंगम, बालमैत्री शाखा प्रमुख केशब बञ्जारा, महिला तथा बालबालिका शाखा प्रमुख लक्ष्मि पोखरेल, वडा सदस्य एवं भालेश्वर माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र केसी, कार्यपालिका सदस्य चण्डिका परियार, वडा सदस्य शोभा कार्की, विश्वनाथ श्रेष्ठ, वडा सचिव राजकुमार श्रेष्ठ, बालमैत्री सहजकर्ता गिता थापा लगायत विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, विद्यार्थीहरको उपस्थिती रहेको थियो ।
कार्यक्रम सञ्चालन भालेश्वर माविका सहायक प्रधानाध्यापक हरिप्रसाद तिमल्सिनाले गरेका थिए । सहभागीहरुले वडाभित्र सबै बालबालिकाले अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चितताका लागि प्रतिवद्धता जनाएका छन् ।
त्यसैगरी पनौती नगरपालिका वडा नम्बर ४ अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा सुनिश्चित वडा घोषणा भएको छ । चरणबद्ध रुपमा गरिएको घरदैलो कार्यक्रम र अभिभावक सचेतना मार्फत कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको एकिन भएसँगै वडालाई अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा सुनिश्चित वडा घोषणा गरिएको हो । सोही अवसरमा विद्यालय छाडेर पुनः विद्यालयमा भर्ना भएका अनिल तामाङलाई सम्मान गरिएको थियो । अभियान अन्तर्गत १ हजार ४ सय ६२ घरधुरीमा पुगेर तथ्यांक संकलन गरिएको छ ।
वडा अध्यक्ष दिपक दाहालले वडाभित्रका सबै बालबालिका विद्यालयमा भर्ना भएको सुनिश्चित भएको भन्दै खुसी व्यक्त गरेका छन् । संविधानमै उल्लेख भएको शिक्षाको हक कार्यान्वयन भएको उनले बताए । वडाका सबै बालबालिकालाई गुणस्तरी शिक्षाको पहुँच पु¥याउन निरन्तर लाग्ने समेत वडा अध्यक्ष दाहालले प्रतिबद्धता जनाएका छन् । घोषणा सभामा वडा शिक्षा समितिका सदस्य सचिव अच्युतम बञ्जाराले प्रतिवेदन प्रस्तुत गरेका थिए । वडा नम्बर ४ मा ६ हजार ७ सय ११ जनसंख्या रहेकोमा १८ वर्ष मुनीका बालबालिकाको संख्या १ हजार ३ सय७० रहेको छ ।
कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष भीमप्रसाद आचार्य, वडा नम्बर ४ का वडा सदस्य कुमार बस्नेत, सविता थापा, प्रकाश बञ्जारा, पनौती नगरपालिका शिक्षा शाखाका स्रोत व्यक्ति महेश्वर जंगम, वडा सचिव कृष्णकाजी श्रेष्ठ, नायव सुब्बा भीमप्रसाद दाहाल, राजनीतिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, विद्यार्थी लगायत सरोकारवालाको सहभागीता रहेको थियो । कार्यक्रममा कार्यपालिका सदस्य राधिका विश्वकर्माले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम सञ्चालन बालमेत्री सहजकर्ता ललिता धितालले गरेकी थिइन् । सहभागीहरुले वडाभित्र सबै बालबालिकाले अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता जनाएका छन् ।









