2026 August 03/ 03:01: 02pm

    धुलिखेल/नेपालमा दोश्रो पटक गरिन लागेको आर्थिक गणनाको तयारी, आर्थिक गणना, अन्तराष्ट्रिय अनुभवहरु तथा नेपालमा गरिएको पहिलो आर्थिक गणनाको अनुभव तथा आगामी योजनाका बारेमा तथ्यांक समन्वय कार्यालय काभ्रेपलाञ्चोकले सरोकारवालासँग अन्र्तक्रिया गोष्ठी आयोजना गरेको छ । २०८२ फागुन महिना देखि नेपालमा दोश्रो आर्थिक गणना प्रारम्भ हुनेछ । 
    नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य मञ्जुकुमार कोँजुको प्रमुख आतिथ्यता तथा राष्ट्रिय तथ्यांक कार्यालयका राष्ट्रिय लेखा तथ्यांक महाशाखा, आर्थिक तथ्यांक महाशाखा उपप्रमुख तथ्यांक अधिकारी डा.शरदकुमार शर्माको अध्यक्षता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी केन्द्रिय सदस्य कोँजुले आर्थिक गणना मुलुकको आर्थिक समृद्धीका लागि अत्यावश्यक रहेको बताउँदै त्यसमा खटिने गणकहरुले गर्ने ब्यवहार, सोध्ने प्रश्नावली तथा त्यसका सकारात्मक विषयमा बुझाउन आवश्यक रहेको बताए । राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख डा.शरदकुमार शर्माले राष्ट्रिय तथ्यांक कार्यालयले गणना र सर्वेक्षण गरिरहने भए पनि आर्थिक गणना नेपालमा दोश्रो पटक र विशेष महत्व रहेको बताए । गणक, उत्तरप्रदायक तथा अन्य क्षेत्रका सरोकारवाला ब्यक्तिहरु जिम्मेवार बनाउन सकिँदा मात्रै तथ्यांक सहि आउन सक्ने बताउँदै शर्माले तथ्यांक लिएका ब्यक्ति तथा फर्महरुका सबै विवरण गोप्य हुने जानकारी दिए । ‘हरेक विवरण गोप्य हुन्छन् । गोप्य विवरण सार्वजनिक गरिदैन’–उनले भने–‘आर्थिक कृयाकलापका विषयमा दर्ता भए नभएको, कर तिरे नतिरेको जस्ता विषय सार्वजनिक हुँदैनन् ।’ दर्ता नभएका तर हरेक दिन एकै स्थानमा ब्यापार ब्यवसाय गरिरहने ठेलागाडाको सम्म तथ्यांक संकलन गरिने उनले बताए । 
    कार्यक्रममा धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष कोमलसुन्दर श्रेष्ठले सरकारी तथ्यांक र  ब्यवहारमा फरक हुने बताए । दर्ता भएका उद्योग कलकारखानाका आधारमा तथ्यांक निकाल्दा सहि नहुने उनको धारणा छ । सरकारी अनुदान प्राप्त गर्न, बैदेशिक रोजगारमा जान र अन्य प्रयोजनका लागि उद्योग तथा कृषि फर्महरु दर्ता गर्ने र ब्यवहारमा नहुने उनले बताए । गणकहरुलाई राम्रो तालिम र ब्यवहारीक बन्ने गरी खटाउन उनले अनुरोध गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपानेले जिल्लाका सबै क्षेत्रमा यसका बारेमा सचेतना फैलाउने र गणना गर्ने कार्यमा गणकहरुलाई ब्यवहारीक बन्ने गरी तालिम प्रदान गर्न अनुरोध गरे । संचारमाध्यम मार्फत तथ्यांकका बारेमा सकारात्मक सन्देशहरु प्रदान गर्ने गरी कार्य गर्न उनले सुझाव दिए । कार्यक्रममा सहभागीहरुले हरेक विवरण दिन भाषाको र शैलीको समेत ख्याल पु¥याउन सुझाव दिए । 
    कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालय आर्थिक गणना शाखाका निर्देशक डा.बेदप्रसाद ढकालले आर्थिक गणना र प्रश्नावलीका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । आर्थिक गणना, अन्र्तराष्ट्रिय अनुभवहरु, नेपालमा आर्थिक गणना, पहिलो आर्थिक गणना, राष्ट्रिय आर्थिक गणनाका उद्देश्यहरु, आर्थिक गणना किन ? आर्थिक गणनाले समेटेका क्षेत्र, गणनाको एकाई, गणना विधी, राष्ट्रिय तथ्यांक संकलन विधि, आर्थिक गणनाको प्रश्नावली र आगामी तयारीका बारेमा जानकारी गराएका थिए ।
     जिल्ला तथ्यांक अधिकारी दीपक कोईरालाले तथ्यांक र आर्थिक तथ्यांकका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । तथ्यांकको परिभाषा र आवश्यकता, तथ्यांकका सरोकारवाला, आर्थिक तथ्यांक, आर्थिक तथ्यांक संकलनमा  देखिएका समस्या, चुनौती, सरोकारवाला निकायको भूमिकाका बारेमा कोईरालाले कार्यपत्र मार्फत जानकारी गराएका थिए । २०७५ सालमा गरिएको आर्थिक गणनामा काभ्रेपलाञ्चोक जिल्लामा १४ हजार २ सय ८२ वटा प्रतिष्ठानमा ५४ हजार ५ सय ७५ जना संलग्न रहेको देखिएको थियो । जसमा पुरुष ३२ हजार ६ सय ५० र महिला २१ हजार ९ सय २५ जना थिए । पालिकागत रुपमा पनि तथ्यांक सार्वजनिक गरिएको थियो । सबै भन्दा कम खानिखोलामा ४ सय ६० र सबैभन्दा धेरै बनेपामा ४ हजार ३ सय ५९ वटा प्रतिष्ठान रहेका थिए । 
    कार्यक्रममा तथ्यांक समन्वय कार्यालय काभ्रेका अधिकृतद्धय दिपेन्द्र धामी र खगेन्द्र पौड्याल, तथ्यांक कार्यालयका सुपरिवेक्षक सन्तोष कार्की लगायतले आर्थिक गणना र तथ्यांकका सन्र्दभमा जानकारी गराएका थिए । सहभागिहरुले आर्थिक गणना तथा सरकारी कार्यालयहरुले प्रदान गर्ने सेवालाई अझै प्रभावकारी बनाउन सुझाव दिएका थिए । विशेषगरी उद्योगी ब्यवसायीहरुले अनलाईन मार्फत गरिने ब्यापारलाई करको दायरामा ल्याउन सुझाव दिएका थिए । नेपाल सरकारले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा आर्थिक गणना २०८२ सम्पन्न गर्ने गरी पास गरेको थियो । आर्थिक गणनाका लागि सूचिकरण र मुख्य प्रश्नावली फाराम तयार गरिएको छ । विभिन्न १८ प्रकारका क्षेत्रहरु आर्थिक गणनामा समेटिने जानकारी गराईएको थियो ।