2026 August 04/ 05:38: 17pm

    बनेपा/अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपाले ‘क्लबफुट’ सचेतना कार्यक्रम अन्तर्गत क्लवफुट भएका बालबालिकाहरु उपचार पश्चात सहज रुपमा जीवनयापन गर्न सक्छन भन्ने सन्देश दिने उदेश्यले फुटसल प्रतियोगिता आयोजना गरेको छ । 
    संस्थाका संस्थापक अध्यक्ष डा.अशोक बास्कोटाले फुटसल प्रतियोगिताको उद्घाटन गरेका थिए । बनेपामा आयोजित उक्त प्रतियोगितामा उपचार पछि निको भई विभिन्न पेशा ब्यवसायमा संलग्न भएका ब्यक्तिहरु समेत सहभागि थिए । बनेपाको स्पाईनल इन्जुरीमा कार्यरत प्रज्वल पौडेलको १५ महिनाको उमेरमा क्लवफुटको उपचार गरिएको थियो । उनलाई क्लवफुट भएको र उपचार पछि सहज भएको धेरै पछि जानकारी भयो । समयमा नै उपचार गर्न सकियो भने कुनै समस्या नहुने उनको अनुभव छ । बाँकेकी एलिना काफ्ले, सर्लाहीकी सुवासना श्रेष्ठ, मोरङकी रुपाकुमारी पासवान, बर्दियाकी शिवानी पाण्डे पनि क्लवफुटको समस्या पछि उपचार पाई नियमित अवस्थामा छन् । उनिहरु सबैले फुटसलमा सक्रिय सहभागिता जनाएका थिए । कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष बास्कोटाले अस्पताल स्थापनाको मुख्य उदेश्य नै यस्ता बालबालिकाहरुलाई समयमा नै पहिचान गर्ने, उपचार गर्ने र पुर्नस्थापना गर्ने बताए । स्थापनाको चार दशक अवधीमा १० हजार भन्दा धेरै क्लवफुट भएका बालबालिकाहरुले उपचार पाईसकेको बताउँदै संस्थापक अध्यक्ष बास्कोटाले जन्मजात हुने यो अवस्थालाई अभिभावकहरुले समयमा नै ध्यान पु¥याई चाँडो भन्दा चाँडो उपचारमा आउन अनुरोध गरे । 
    फुटसल प्रतियोगितामा पुरुष तर्फ १५ जना र महिला तर्फ १० जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । लिगका आधारमा खेलाईएको उक्त प्रतियोगितामा सहभागिहरुलाई संस्थापक अध्यक्ष  बास्कोटा, प्रमुख प्रशासकीय अधिकृत प्रकाश यादव, मेडिकल इन्चार्ज डा.यमप्रकाश गुरुङ, फिजियोथेरापिस्ट श्याम महर्जन लगायतले सहभागि खेलाडीहरुलाई हौसला प्रदान गरेका थिए । प्रतियोगिता स्थलमा क्लबफुट सम्बन्धी जनचेतना र परामर्श, हेल्प डेस्क तथा प्राथमिक स्वास्थ्य सेवा, सहभागी बालबालिकाहरुलाई सम्मानपत्र वितरण गरिएको थियो । क्लबफुटको समयमै उपचार भएमा बालबालिकाहरुले सामान्य जीवनयापन गर्न सक्छन् भन्ने सन्देश उजागर गर्न फुटसल महत्वपूर्ण मानिन्छ । क्लबफुट उपचार प्राप्त बालबालिकाद्धारा खेलिने फुटसल उत्साहपूर्ण हुनेछ । बालबालिकाहरुको खेल मैदानमा देखिने हाँसो, दौड र गोलहरु हाम्रा प्रयासहरुको सफलताको उदाहरण भएको बताईएको छ । अध्ययन अनुसार नेपालमा बर्षेनी ७ सय ८२ बालबालिकाहरु यो अवस्थाका जन्मने गरेका छन् । 
    

क्लवफुट के हो ? 
    क्लबफुट एक जन्मजात अवस्था हो । जसमा बच्चाको खुट्टा तल झुकेर भित्रतिर फर्किएको हुन्छ । हरेक १००० जना जन्मेका बच्चाहरुमा करीब ३ जना जतिमा क्लब फुट भएको हुन्छ । कहिलेकाहीँ यो समस्या एउटै परिवारमा धेरै बच्चाहरुमा हुनसक्छ । केटाहरु केटीहरु भन्दा बढि प्रभावित छन् । क्लब फुटको उपचार बच्चा जन्मेपछि जति सक्यो चाँडो गर्यो त्यति नै राम्रो परिणाम देखिन्छ । भर्खर जन्मेका बच्चाका हाडहरु नरम नै हुन्छन्, तर समय बित्दै गएपछि ती हाडहरु कडा हुँदै जान्छन् र सामान्य बनाउन गा¥हो हुन्छ । विश्वभरि परिचित पोन्सेटी कास्ट पद्धतिबाट जति सक्दो चाँडो उपचार गरेमा खुट्टाको विकृति सामान्य अवस्था ल्याउन सकिन्छ । जुन पद्धति प्रत्येक ५ देखि ७ दिनमा सिरियल कास्टिङ्ग लगाएर क्रमिक रुपमा विकृतिलाई मिलाउदै जान्छ । यस किसिमले ५ देखि ७ पटक सम्म सिरियल कास्टिङ्ग गर्नुपर्ने हुन्छ तर कुर्कुच्चाको माँसपेशीलाई प्लास्टरले पुरै मिलाउन नसकिने भएकोले सानो शल्यक्रिया गर्नु आवस्यक छ । शल्यक्रिया गरिसकेपछि विशेष खालको उपकरण दिन्छ । जसलाई डेनिस ब्राउन (डि.बि.) स्प्लिन्ट भनिन्छ । आवश्यकतानुसार बच्चा हिड्न थालेपछि क्लब सुज दिनुपर्दछ ।