बल्थली, लडकेश्वर/नेपालकै चर्चित लडकेश्वर धाममा शिवपुराण तथा गंगा दशहरा स्नान सकिए लगत्तै आगामी श्रावण महिनामा त्रिशुल अर्पण रुद्रधाम आयोजना गर्न लागिएको छ । श्रावण महिनामा हरेक ब्यक्तिले त्रिशुल अर्पण गर्ने गरी योजना निर्माण गरिएको कालाग्नि रुद्रपीठ पीठाधीश मुकुन्द शर्मा हुमागाईले बताए ।
कालाग्नि रुद्रपीठ लडकेश्वर धाममा निर्माण गरिएको त्रिशुल रुद्रधाम आयोजना गरि अर्पण गरिनेछ । २०८१ असोज १०–१२ को अविरल वर्षातका कारण सोहि क्षेत्रमा निर्माण गरिएका पूर्वाधारहरुमा क्षति पु¥याएको थियो । उक्त समयमा पीठाधीश मुकुन्द शर्मा हुमागाईले प्रत्यक्ष त्यसको अनुभव लिँदै आगामी दिनमा हुन सक्ने सम्भावित जोखिम र त्यसबाट हुने क्षति न्युनिकरणका लागि अपनाउनु पर्ने उपायका बारेमा सरोकारवाला निकायसँग छलफल पनि गरेका छन् । लडकेश्वर धाममा निर्माण गरिएको त्रिशुल र अन्य संरचना सुरक्षित छन् । त्यहि त्रिशुललाई अर्पण गर्ने गरी श्रावण महिनाभर रुद्रयाग आयोजना गरिन लागिएको हो ।
यस अघि उक्त क्षेत्रमा राष्ट्रिय कोटि होम आयोजना गरिएको थियो । सफलतापुर्वक सम्पन्न भएको कोटि होममा राष्ट्रपति रामचन्द्र पौडेल देखि पुर्व राजा ज्ञानेन्द्र शाह लगायतको सहभागिता रहेको थियो । लडकेश्वर धाममा हरेक वर्ष ठुलो एकादशीको समयमा मेला लाग्ने गरेको थियो । इतिहासमा उक्त धाममा माघ १ गते माघे संक्रान्ति लगायतका चाडपर्वमा समेत उक्त धामको दर्शन गर्ने गरिएको उल्लेख छ । पत्रकार महासंघका पुर्व अध्यक्ष महेश पौडेलले इतिहासका बारेमा जानकारी गराउँदै थप खोज अध्ययन भईरहेको बताए । भुपतेन्द्र मल्ल राजा भएको समयमा माघ १ गते लडकेश्वर महादेवको दर्शन गरेको खर्च विवरण सार्वजनिक गरिएको इतिहासका पानाहरुमा उल्लेख छ । पनौतीको त्रिवेणीधाम दर्शन गरि एक रात त्यहि बास बसेर भोलिपल्ट माघ १ गते लडकेश्वर हुँदै पलाञ्चोक भगवती र दोलखा दर्शन पछि फर्किँदा भएको खर्च विवरण उल्लेख गरिएको छ । तत्कालीन समयमा पनि राजपरिवारका सदस्यहरुले वा राष्ट्र प्रमुखहरुले लड्केश्वर धामको दर्शन गर्ने गरेको महत्वपूर्ण धार्मिक, ऐतिहासिक र साँस्कृतिक स्थानको चर्चा र प्रचार प्रसार गर्न आवश्यक रहेको पीठाधीश मुकुन्द शर्मा हुमागाईले बताए । स्थानीय तथा संचारकर्मी सागर आचार्यले विपत्तिले पु¥याएको क्षतिमा कसैको साथ नभएको बताए । ७ करोड भन्दा धेरै पूर्वाधारमा क्षति पु¥याएको उनले बताए ।
सडक तथा अन्य पूर्वाधारका लागि स्थानीय, प्रदेश र संघ सरकारको ध्यानाकर्षण गराएको भए पनि प्राथमिकतामा नपरेको उनले बताए । लडकेश्वर धाममा सफल कोटिहोम पछि विपत्तिबाट भएको क्षति र त्यसबाट मानवमा परिरहेको असर न्यूनिकरण गर्न जिल्लाको अग्लो स्थान बेथान्चोक नारायणस्थानमा लक्ष्य होम आयोजना गरिएको थियो । लडकेश्वर धामबाट रथ यात्रा सहित बेथान्चोक गाउँपालिकामा लक्ष्य होम आयोजना गरिएको थियो । अहिले उक्त स्थानमा शिव पुराण तथा गंगा दशहरा स्नान चलिरहेको थियो । साउन महिनामा भने एक महिना भर नै त्रिशुल अर्पण रुद्रयाग आयोजना गरिने उनले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपानेले जिल्लाको महत्वपूर्ण स्थल लडकेश्वरको प्रचार प्रसारमा कमि हुन नदिने बताए ।









