धुलिखेल/काभ्रेमा होटल, होमस्टे तथा रिसोर्ट सञ्चालकहरुलाई आयुर्वेद सम्बन्धि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । आयुर्वेदको महत्वबारे जानकारी दिने उद्देश्यले आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बनेपाले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।
अभिमुखीकरण कार्यक्रममा आयुर्वेद विशेषज्ञ चिकित्सक डा.अर्जुन उपाध्यायले खानेकुरा, आयुर्वेद र पूर्वकर्मका बारेमा जानकारी गराएका थिए । स्वस्थ हुनुको मुल मन्त्र नै दिनचर्या, रात्रिचर्या र ऋतुचर्याको पालना गर्नु रहेको डा.उपाध्यायले बताए । उनले स्वास्थ्यका लागि हितकर र अहितकर खानेकुरा छुट्याएर मात्रै प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
खानेकुरा मिलाएर खान नजान्दा त्यहि विष बन्ने र रोगको कारकको रुपमा काम गरिरहेको उनको भनाई थियो । कान्जी, अमला, मोही, सहिजन, कुरिलो, लगायतका जडिबुटी, मौसमी÷बेमौसमी तरकारी फलफुलको प्रयोग मार्फत आतिथीलाई स्वागत गर्दै फरकपन दिन सकिने बताए । होटल रिसोर्टमा आयुर्वेदको प्रयोग बारे समेत उनले बताएका थिए । विरुद्ध आहारले स्वास्थ्यमा दुरगामी असर पर्ने उनले बताए । आयुर्वेदको प्रयोगले जीवनलाई कहिल्यै हानी नगर्ने उनले बताएका छन् ।
अभिमुखीकरण कार्यक्रममा आयुर्वेद चिकित्सक डा.निर्मला सुवालले नेपालमा आयुर्वेद पर्यटनको सम्भाव्यता बारे जानकारी गराएकी थिइन् । उनले असल खानपानदेखि पर्यटकको आकर्षणका लागि समेत होटल, रिसोर्टलाई आयुर्वेदमय बनाउन सकिने बताइन् । त्यसका लागि अर्गानिक तथा विषादीरहित खाद्यान्न प्रयोग, मौसम अनुसारको भान्सा, आसन, प्राणयामका अभ्यास होटल तथा रिसोर्टमा सञ्चालनमा ल्याउन सकिने बताइन् ।
कार्यक्रममा योग प्रशिक्षक जानुका भट्टराईले योगका अभ्यासहरु गराएकी थिइन् । योग अभ्यास गराउँदै उनले योगका अभ्यासलाई दैनिक जीवनमा जोड्दा शारिरिक, मानसिक समस्याबाट मुक्ति पाइने बताइन् । कार्यक्रममा सहभागी होटल, रिसोर्ट सञ्चालकहरुले आयुर्वेदलाई अतिथी आतिथ्यताका रुपमा विभिन्न परिकार बनाएर प्रयोगमा ल्याउने बताएका छन् । आयुवेदलाई प्रयोगमा ल्याउने बारे छलफल सुरु गर्ने समेत उनीहरुले बताएका छन् । कार्यक्रममा झटककुमारी खत्री, प्रताप लामा, धुलिखेल लज रिसोर्टका सञ्चालक प्रेमकण्ठ श्रेष्ठ लगायतले आयुर्वेदको महत्व, प्रयोग र सम्भावनाबारे आफ्नो धारणा राखेका थिए ।





