2026 August 03/ 03:01: 40pm

    धुलिखेल/धुलिखेल नगरपालिकाले सीप सहित उद्यमशिलतामा आधारित ब्यवसाय संचालन गरी आत्मनिर्भर बनाउने उदेश्यले आधारभुत तालिम प्राप्त गरेका महिलाहरुका लागि ब्याग बनाउने एडभान्स तालिम शुरु गरेको छ । १२ वडाबा २४ जना प्रशिक्षार्थीहरु सहभागि भएको उक्त तालिम नगर प्रमुख अशोक ब्याञ्जुले उद्घाटन गरेका छन् । 
    कार्यक्रममा बोल्दै नगर प्रमुख ब्याञ्जुले धुलिखेल नगरपालिकाले नेपालमा नै नमुना विभिन्न परिषद्हरु गठन गरी त्यहि परिषद् मार्फत आवश्यक पर्ने सीप सहितको उद्यमशिलता विकास गरिरहेको बताए । हरेक वर्ष विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सीप सिकाउँदै आत्मनिर्भर बनाउने गरी नगरपालिकाले फरक फरक तालिमहरु उपलब्ध गराएको उनले बताए । साथै महिलाहरुको सशक्तिकरणमा नगरपालिकाले आयोजना गरेका कार्यक्रमहरु प्रभावकारी भएको नगर प्रमुख ब्याञ्जुले बताए । 
    कार्यक्रममा सहभागी प्रशिक्षार्थी महिलाहरुले सिकिरहेको ब्याग उत्पादन तालिम प्रभावकारी भएको बताए । महिलाहरुका लागि विभिन्न स्थानमा जाँदा फरक फरक खालका ब्यागहरु आवश्यक पर्ने र प्रयोगमा आउने भएकाले त्यहि अनुसारका ब्यागहरु उत्पादन गर्न सक्ने भएको बताए । उत्पादनसँगै विक्री पनि भएकाले ब्यवसायलाई निरन्तरता दिएको उनिहरुले बताए । कार्यक्रम लैङ्गिक विकास तथा सामाजिक कल्याण शाखाकी संगीता भण्डारीको संचालन तथा शिक्षा शाखामा कार्यरत पवित्रा कोईरालाले स्वागत मन्तब्य राखेकी थिईन् ।