2026 August 03/ 03:01: 12pm

    धुलिखेल/घर अगाडी रहेको झोलुङ्गे पुल काटकुट पारेर विक्री गरेका रोशी ७ का वडा अध्यक्ष अशोक गौतम दोश्रो पटक फलामको पुलका सामाग्री चोरी गरी विक्री गरेको अभियोगमा पक्राउ परेका छन् । सामान्य अर्थमा पुलबाट तर्ने हो । तर वडा अध्यक्ष गौतमले पटक पटक पुललाई नै तारि दिएका कारण उनि प्रहरी हिरासतमा अड्किएका हुन् ।
    मुलुकी अपराध संहिताको परिच्छेद २० मा चोरी तथा डाँका सम्वन्धी कसूरका सम्वन्धमा उल्लेख गरिएको छ । सोहि परिच्छेदको दफा २४२ मा चोरी गरेमा हुने सजायको ब्यवस्था गरिएको छ । दफा १ को क मा कुनै सरकारी वा सार्वजनिक सम्पत्ति वा कुनै धार्मिक स्थान वा देवालयको सम्पत्ति चोरी गरेमा र दफा १ को ख मा भुकम्प, आगलागी, वाढी, हुलदंगा वा यस्तै प्रकृतिको अरु कुनै सकंटापन्न स्थिती वा कुनै दुर्घटनाको मौका छोपी कुनै सम्पत्ति चोरी गरेमा चोरी गर्ने वा गराउने ब्यक्तिलाई दुई वर्ष देखि ७ वर्षसम्म कैद र २० हजार देखि ७० हजार रुपैयासम्म जरिवना हुने ब्यवस्था गरेको छ । उनि सामाजिक र सरकारी जिम्मेवारी बहन गरेका ब्यक्ति भएकाले उनका हकमा थप सजायँको समेत ब्यवस्था माग गरिएको छ । वडा अध्यक्ष गौतमले २०८२ जेठ ११ गते रोशी गाउँपालिका वडा नम्वर ७ र नमोबुद्ध नगरपालिका वडा नम्वर ६ को सिमानामा पर्ने पुल बगाएर पुलको फलाम कवाडीमा विक्री वितरण गर्न कवाडी संकलक मन्छु कुमारलाई अनुमति दिएका थिए । उनले वडा कार्यालयको चलानी नम्वर १०३२ को पत्र मन्टु कुमारलाई जो जसँगसम्वन्धीत छ भनेर उपलब्ध गराएका थिए । उक्त पत्र अघि खोलामा पुलको सामान कटान गर्न पनि उनले अनुमति दिएको पत्र मन्टुकुमारले प्रहरीलाई बुझाएका छन् । मन्टुकुमारले गौतमसँग खरिद गरेको सामानको मुल्य तिरिसकेको बताएका छन् । गौतमले आफनै ब्यक्तिगत खातामा सरकारी सम्पत्ति विक्री गरेको रकम राखेको उनको खाताबाट देखिएको छ । 
    नमोबुद्ध ६ का वडा अध्यक्ष टिकाबहादुर केसीले भने विक्री वितरणका लागि नभई सहजिकरणका लागि सिफारिस गरेका छन् । तर उनिहरु दुबैलाई एकै प्रकृतिको अभियोग दर्ता गर्ने तयारीमा प्रहरीले अनुसन्धान गरिरहेको छ । केसी हिजो साँझसम्म फरार भएका छन् । सरकारी सम्पत्ति रक्षा गर्नु पर्ने दायित्व बोकेका वडा अध्यक्ष मिलेर रोशी खोलामा बगेको फलामको पुलका पाटपुर्जा कवाडीमा विक्री गरे पछि फलामको खियाको सराप लागेको विश्लेषण हुन थालेको छ । जिल्लामा आएको एक महिना पनि नपुग्दै एसपी कोमल शाहले जिल्लाका अराजक समुहलाई नियन्त्रणमा लिदै धमाकेदार इन्ट्रि गरेको सन्देश दिएका छन् । वडा अध्यक्ष सोमबार पक्राउ परेका छन् । माओवादीबाट निर्वाचित वडा अध्यक्ष अशोक गौतम पटक पटक विवादमा तानिने ब्यक्ति हुन् । कहिले राजधानीमा वडाबासी नागरिकहरुलाई ललाई फकाई पु¥याएको त कहिले आफ्नै पार्टीका कार्यकर्ताहरुसँग रकम लिएर काम नगरिदिएको विषयमा होस् चर्चामा आईरहन्छन । अझ केहि महिना अघि उनले फलामको झोलुङे पुल विक्री गरेर राजश्व हिनामिना गरेको भन्दै परेको उजुरी पनि ढिसमिस भएको थियो । सरकारी सम्पतिको लिलाम प्रकृया छ । जहाँ नागरिकहरुले समेत चाहेर पनि प्रयोग गर्न पाउँदैनन तर वडा अध्यक्षहरुले खुलेआम पत्र पठाएर सामान विक्री गर्ने साहसलाई नागरिकहरुले समेत अचम्म मानेका छन् । नमोबुद्ध नगरपालिका वडा नम्वर ६ र रोशी गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्षले सरकारी सम्पत्ति पुलको सामान विना प्रतिस्पर्धा कवाडीलाई विक्री गरेका हुन । 
    विक्री गरेर कवाडीमा लैजाँदै गरेका दुई ट्रक सामान कटुन्जे प्रहरी चौकीले नियन्त्रणमा लिएको थियो । २०८१ असोज १०–१२ मा परेको अविरल वर्षातका कारण नमोबुद्ध नगरपालिका कटुञ्जे हुँदै रोशीबाट महाभारत जाने मुख्य सडकको पक्कि पुल रोशी खोलाले बगाएको थियो । उक्त पुल बगाए पछि खोलामा डाईभर्सन गरी अस्थायी रुपमा सडक सञ्चालन गरिएको छ । पुल नबन्दा र पुलका सामान छरपस्ट हुँदा यात्रुहरुले सास्ति ब्यहोरिरहेका छन् । नागरिकहरुलाई सहजीकरण गर्नु पर्ने अवस्थाका वडा अध्यक्षहरु भने सरकारी सम्पत्ति कौडीका भाउमा विक्री गरेर मोजमस्तिमा रमाउन थालेका छन् । त्यो पनि विना प्रतिस्पर्धा वडाको सिफारिस दिएर ब्यक्तिगत रुपमा विक्री गरिरहेको प्रहरीले बताएको छ । अनुमति विना सरकारी सम्पत्ति विक्री गरेको अभियोगमा प्रहरीले रोशी खोलाबाट मंगलबार राति दुई ट्रक नियन्त्रणमा लिएको हो । कटुञ्जे प्रहरी चौकीमा सई मनु सापकोटा इन्चार्ज छन् । उनकै नेतृत्वमा खटिएको प्रहरी टोलीले रोशी खोलाको पुलका सामाग्री कवाडीमा विक्री गर्न लागेको सूचनाका आधारमा अनुसन्धान गर्दा रातिको समय पारेर कवाडीमा लैजाँदै गरेका दुई वटा ट्रक नियन्त्रणमा लिएको थियो । वडा अध्यक्ष केसी फरार भएका छन् । केसी नेपाली काँग्रेस र गौतम नेकपा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष हुन् ।