2026 August 03/ 03:01: 03pm

विकास तिमल्सिना
रयाले, पनौती

    शहरी क्षेत्रका बचत तथा ऋण सहकारी संस्थाहरुप्रति विश्वास खस्कँदै गएको अर्थात् नागरिकहरुले सहकारीप्रति हेर्ने दृष्टिकोण बदल्ने परिस्थितिमा पनौती नगरपालिका वडा नम्वर १ रयालेमा रहेको जनमैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यहरुलाई जनमुखी अभियान मार्फत ब्यवसायीकतामा आत्मनिर्भर बनाउने अभियानलाई तिव्रता दिएको छ । 
    ‘सहकारीको मुख्य उद्देश्य नै सदस्यहरुलाई बचत तथा ऋणका कार्यक्रमसँगै आत्मनिर्भर बनाउनु हो’–अध्यक्ष राजकुमार सापकोटाले भने–‘प्रत्येक सदस्यलाई आत्मनिर्भर बनाउने अभियान शुरु गरिएको छ । ब्यवसायीकतामा मात्रै आत्मनिर्भर सम्भव छ ।’ सदस्य महिलाहरुलाई ब्यवसायीकता मार्फत आत्मनिर्भर बनाउन २२ वटा समुह गठन गरिएको छ । ३१ सय सदस्य रहेको सहकारीले कृषि र पशुपालनमा ब्यवसायीकताका लागि बिउ, विजन, विषादी, कृषि औजारका सामाग्रीहरु उपलब्ध गराएको छ । प्रत्येक समयमा २० देखि २५ जना सदस्य आबद्ध छन् । समुहका प्रत्येक सदस्यहरु आत्मर्निभर बन्ने गरी सीप, नेतृत्व विकास र सशक्तिकरण अभियान शुरु गरिएको अध्यक्ष राजकुमार सापकोटाले बताए ।
    शनिबार १ सय जना महिला सदस्यहरुलाई स्प्रेयर पम्प उपलब्ध गराईएको छ भने २० जनालाई प्लाष्टिक टनेल उपलब्ध गराईएको छ । यसअघि सहकारीले आवश्यकता अनुसार सदस्यहरुलाई पाठी उपलब्ध गराएको थियो । उक्त पाठी २ वर्ष फिर्ता गर्नु पर्नेछ । त्यतिबेलासम्म बाख्राबाट भएको आम्दानी मार्फत सदस्यले थप ब्यवसाय गर्न सक्नेछन् । कृषि औजारका लागि सहकारीले हिमालयन लिकि फाउण्डेशनको साझोदारीतामा महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा उपलब्ध गराईएको हो । ‘महिलाहरुको सशक्तिकरणका लागि सहकारीले शुरु गरेको अभियानमा साझेदारी गर्न पाउँदा र सदस्यहरु ब्यवसायिकतामा सक्रिय भई आत्मनिर्भर बन्न थप सहयोग गर्नेछौं’–फाउण्डेशनका प्रमुख पदम तामाङले भने–‘सशक्तिकरण नहुँदासम्म आय–आर्जन र आत्मनिर्भर सम्भव छैन । संस्था र सहकारीको साझेदारीतामा समन्वय रहनेछ ।’ 
    सहकारी मार्फत समुहमा आबद्ध सबै सदस्यहरुलाई मौसम अनुसारका विउहरु निःशुल्क उपलब्ध गराएको छ । काँक्रो, फर्सी, करेला, रायो, सिमी, मटरकोसा लगायतका विभिन्न विउहरु सदस्यहरुले प्राप्त गरेका छन् । जसले उत्पादनका लागि मात्रै सहयोग पुगेको नभई ब्यवसायिक बन्न उत्प्रेरित बनाएको सीप विकास समुहकी अध्यक्ष मैया श्रेष्ठले बताईन् । टनेलको प्रयोगले उत्पादन बृद्धि भएको छ । वर्षात्मा पानी र हिउँदमा हुने शित तथा अन्य रोगहरुबाट समेत तरकारी जोगाउन सकिने र धेरै उत्पादन हुने अध्यक्ष श्रेष्ठले बताईन् । विषादी कम प्रयोग गरी घरेलु उपचारमा जोड दिन सिकाएको सहकारीले बजारीकरणमा समेत प्राथमिकता दिएको छ । 
    कुनै समय बसन्ती गौतम सापकोटा सहकारीमा आबद्ध हुने कुरामा सकारात्मक थिईनन् । सहकारीमा सदस्य बनेर समुहमा सक्रिय भए पछि उनको जीवनमा खुशी नै खुशी छाउन थालेको छ । निरकमल समुहमा सदस्य भएर उनले मौषम अनुसारको खेतिमा उनले मल, विउ विजन तथा अन्य सीपमुलक तालिमहरु प्राप्त गरिन् । जसका कारण उनले गरेको खेतिबाट मनग्ये आम्दानी हुन थाल्यो । कमाएको रकम खुत्रुके किनेर जम्मा गर्न थालिन् । तिहारको लक्ष्मी पुजाको दिन खुत्रुके खोलेर हेर्दा बसन्तीले १ लाख ५० हजार रकम प्राप्त गरिन् । खुशीले गद्गद् मात्रै भईन् सहकारीले दिएको समुन्नत सहयोगका लागि आभार प्रकट गरिन् । उक्त रकम सहकारीमा बचत गरिन् । अहिले आफ्नै श्रीमान्लाई २ लाख रुपैयाँ ऋण लगानी गरेकी छिन् । घर ब्यवहारमा श्रीमान् श्रीमती दुवैको उत्तिक्कै सहयोग रहे पनि बसन्तीले कमाएको रकममा श्रीमान्ले स्वतन्त्रता दिएका छन् । त्यहि कारण उनले कमाएको रकमको केहि प्रतिशत खुत्रुकेमा जम्मा गर्ने गरेकी छिन् । सहकारी मार्फत प्राप्त सहयोग र प्राप्त सीपले आयआर्जन बृद्धि भएको उनले बताईन् ।
    आरुचौर महिला समूहकी अध्यक्ष सविना मोक्तानले केहि वर्ष देखि सहकारीका माध्यमबाट सक्रिय रुपमा ब्यवसायमा संलग्न भएको बताईन् । महिलाहरुको सशक्तिकरणमा सहकारीले उपलब्ध गराएको सीप तथा उपकरणले आय–आर्जनमा सहयोग पुगेको उनले बताईन् । समुहकी सदस्य कोपिला गेलाल सापकोटाले सहकारी माईती जस्तो रहेको बताईन् । ‘माईती टाढा हुने चेलीका लागि सुत्केरी हुँदा भेटघाट कार्यक्रम तथा ब्यक्तिगत खर्चका लागि पनि तरकारी खेतिका लागि गरेको विभिन्न सहयोगले उर्जा थपिदिएको छ’– सदस्य सापकोटाले बताईन् । 
    सहकारीले सदस्यहरुलाई उपलब्ध गराएका सेवा र सुविधाले ब्यवसायिकता सहित आय–आर्जनमा बृद्धि भएको उपाध्यक्ष रामचन्द्र सापकोटाले बताए । कृषि प्राविधिक मार्फत घरघर पुगेर प्राविधिक सहयोग उपलब्ध गराएको सहकारीले हरेक सदस्यहरुलाई आत्मनिर्भर बनाउन प्रेरित गरेको प्रमुख ब्यवस्थापक वेदप्रसाद सापकोटाले बताए । कार्यक्रममा सल्लाहकारहरु तुलसी श्रेष्ठ, केशव श्रेष्ठ तथा सहकारीका अन्य पदाधिकारीहरु, कर्मचारीहरु तथा शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।