2026 August 03/ 04:26: 09pm

    बनेपा/हरेक वर्ष ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरुको अदल बदल हुने गरेको छ । नयाँ क्षेत्र र जिम्मेवारी अनुसार बार्षिक योजना सहित सार्वजनिक गर्ने प्रमुखहरुको मुख्य उदेश्य सवारी दुर्घटना न्यूनिकरण गर्नु नै हो । ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक सुनिल धाँजुले विहिबार सुनाए–‘ट्राफिक नियम सम्बन्धीका धेरै विषयलाई प्राथमिकतामा राखेर काम गर्नेर्छाै ।’
    मुख्य राजमार्ग अरनिको र विपी वर्षात् पछि र पुर्ननिर्माणका कारण प्रायः क्षेत्रमा कच्ची जस्तै भएका छन् । दुर्घटना न्युनीकरण र सामान्य दुर्घटना भईरहनु सडक निर्माणका प्रमुख कारण मानिएका छन् । दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतनाका लागि प्रहरी निरिक्षक धाँजुले मुख्य योजना सुनाए–‘जिल्लाका सामुदायिक ५ सय ८, संस्थागत ९६ र धार्मिक २ वटा गरी ६ सय ६ जना शिक्षकहरुलाई ट्राफिक नियम सम्वन्धी प्रशिक्षक शिक्षक तयार गरिन्छ ।’
    स्थानीय तहका शिक्षा शाखा प्रमुख तथा स्थानीय तहका जनप्रतिनिधिहरुको समन्वयमा सबै विद्यालयका बालबालिकाहरुलाई ट्राफिक सचेतना सहितका कक्षाहरु संचालन गर्ने गरी विद्यालय शिक्षक तयार गर्न लागिएको उनले बताए । साथै विद्यालयहरुले संचालन गरिरहेका बसहरुलाई स्कुल बस निर्देशिका २०७४ अनुसार संचालनका लागि अनुरोध गर्ने, सोहि कानून नमान्ने विद्यालयका बस चालकहरुलाई कारवाही गर्ने प्रहरी निरिक्षक धाँजुले बताए । त्यसमा तोकिएका सबै ब्यवस्था विद्यालयहरुले पालना गर्नु पर्ने, सार्वजनिक यातायातमा तोकिएको छुट र आरक्षण शुल्क कार्यान्वयनका लागि अनुगमन गर्ने, प्रेसर हर्न न्यूनिकरण, चालक सह चालकलाई अनुशिक्षण, यान्त्रिक साधनहरुको परिक्षण, प्रर्दुषण नियन्त्रणका लागि सक्रिय रहने बताए । विद्यालयमा तयार गरिने शिक्षकहरुले आफ्नो विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी र अध्ययन गर्ने विद्यार्थीहरुका लागि ट्राफिक नियम तथा सचेतनाका बारेमा कक्षा लिनेछन् । जिल्लामा कुल ८५८.२ किमी पक्कि सडक मध्ये १३२.२ किमी पक्कि सडक, ५०४.४ कच्चि सडक र १२८.६ किमी ग्राभेल सडकमा सवारी साधन गुडिरहेका छन् । चालु वर्षको १० महिनामा १ करोड ७ लाख ६७ हजार ५ सय राजश्व संकलन भएको छ । १३ हजार ७ सय ४५ सवारी साधन कारवाहीमा परेका छन् ।