2026 August 03/ 04:26: 07pm

    छोरीको जात धेरै पढेर पनि केहि हुँदैन । छिट्टै घरजम गरिदिनु पर्दछ । हाम्रो समाजमा छोरी भने पछि ज्यादै हेला गरिन्छ । म पनि हाम्रो यो समाजबाट बिचलित हुन सकिन । मेरो पढाई देखेर सरहरु सबै दङ्ग पर्नुहुन्थ्यो तर घर परिवारमा छोरीलाई धेरै पढाउनु हुँदैन भनेर किचकिच हुन्थ्यो बल्लबल्ल मेरो जिद्दिले एस.एलसी फस्ट डिभिजनमा पास गरे । घरमा भाइ बहिनीहरु साना भएकाले सबै काम आफैले गर्नु पर्दथ्यो । पढाई सकेपछि म धेरैजसो मेला पातमा हिँड्न थाले । विस्तारै मेरो उमेरले बीस छुँदै थियो । समय वितेको थाहा नै पाईएन बुवा आमाले अब त जसरी भए पनि विवाह गरिदिनु पर्दछ भन्नु भयो । मेरो मन त मानेको थिएन तर पनि घर कुलको इज्जत राख्न भए पनि विवाह बन्धनमा बाँधिन कर लाग्यो ।
    वनबाट दाउरा लिएर आएको थिएँ । पसिना–पसिना भएको शरीरलाई एउटा थोत्रो टालोले पुछ्दै पिँढीमा थचक्क बसे । भित्र कोठामा कुनै अपरिचित दुई जना ब्यक्तिलाई देखे । उहाँहरु किन आउनु भएको हो थाहा भएन । म सरासर गएर गाग्रीबाट चिसो कुवाको पानी सारेर बाहिर आए । एक अमखरा पानी सके । भित्र गएर आमालाई सोधे उहाँहरु को हो ? मैले चिन्न सकिनँ । आमाको जवाफ थियो छोरी उहाँहरु तिमीलाई हेर्न आएका । दुई भाई छोरा मध्ये जेठा छोरा प्रहरीमा छन् । कान्छा छोरा नेपाल आर्मी रहेछन् । आमा म अहिले तत्काल विवाह गर्दिनँ । मेरो मनै छैन विवाह गर्ने, हैन छोरी तिम्रो विवाह गरिदिए पो अरुको पालो आउँछ । अब त उमेर पनि भयो । आमा बुवाको करकापमा परे पछि मैले ढिप्पी गर्न सकिन । एक महिना भित्रमा नै मेरो विवाह हुने कुरा भयो । गाउँ घरमा सबैले मलाई अति मायाँ गर्दथे । मलाई यो गाउँ छोडेर जान मन लागेको थिएन तर हामी छोरीको जात कति फरक हुँदो रहेछ म मात्र हैन सबै चेलीबेटीहरु यसरी म जसरी नै नयाँ ठाउँमा जान्छन् ।
    समय बितेको थाहा नै पाईनँ कत्ति चाँडो आईपुगेछ । सिन्दुर, चुरा पोते लगाउने दिन । सबै साथीसँगीहरुलाई छोडेर जाँदा मलाई अति नरमाईलो लाग्यो तर पनि मन भित्र गाँठो पारेर मेरा आँसुलाई त्यति बाहिर आउन दिईन । सबैसँग विदा भएर म आफ्नो नयाँ ठाउँमा अपरिचित समाजमा परिचित हुन र नयाँ परिवारमा घुलमेल हुन अन्मिएँ । नयाँ घरमा सबै जना मेरो प्रतिक्षामा थिए । कतिबेला आउँछिन् नयाँ दुलही भनेर सबै बाटो हेरिरहेका थिए । हिन्दु धर्म अनुसार म भित्रिएँ । रमाईलो भयो । मन चञ्चलता थियो । नयाँ घर परिवार । श्रीमान् । त्यो चलन पनि थियो । एक दुई दिन पछि हामी दुलन फर्काउन माईती फर्कियौं । समय त्यस्तै थियो । उहाँले विवाहका लागि विदा लिनु भएको थियो । त्यो समय सकिँदै थियो । उहाँसँग धेरै विषयमा भन्दा पनि नौलो नौलो हुँदा हुँदै छुट्टिनु पर्ने अवस्था थियो । मन बुझाउनुको विकल्प पनि थिएन । सरकारी नुन खाए पछि समयमा पुग्नु कर्तब्य पनि थियो । 
    चारदिन कसरी बित्यो थाहा नै भएन । बिहानै उठेर उहाँले आज जानु पर्दछ छिटो खाना पकाउ भन्नु भयो । खाना पकाउने समयसम्म त म खुशी नै थिए जब उहाँले खाना खाएर जान ठिक्क पर्नु भयो अनि गहभरी आँसु आउन थाल्यो । खप्न नसकेर म भित्र कोठामा गएर मुख छोपेर रुन थालेछु । सबैले सम्झाउन थाले अझ धेरै टाढा जाने भएको भए के गर्ने थियौ सासु आमाले भन्नु भयो । मेरो पनि छोरा हो मलाई पनि मन त कहाँ पठाउन मन छ र तर यहाँ बसेर पनि के गर्ने कुनै उपाय छैन । छोरीको जुनी यस्तै रहेछ बल्ल–बल्ल बाबुआमाको काखबाट उम्केर कुनै पराईको काखमा आएको थिए । बिस्तारै मेरो मनलाई थमाउने कोसिस गर्दै थिए तर मन भित्रका बेदनाहरु एक आपसमा साटासाट गर्न नपाउँदै बिछोडिनु पर्ने रहेछ । घरमा पहिला पहिला त सबैले अति माँया गर्दथे । सायद म नयाँ नयाँ भएर होला कसैको पनि गाली र टोकाई खानु परेको थिएन । त्यस्तै हो घरको सानो काम देखि ठुलो ठुलो काम पनि गर्नुपर्ने । जतिसुकै आराम भए पनि कहिल्यै पनि कामले फुर्सदिलो नहुने । बेलुका सुत्दा खाली उहाँलाई मात्र देख्दथे । विवाहमा खिचेका फोटाहरु हेर्दै मनलाई सम्हाल्दै अबेर रातीसम्म कर गरेर निदाउन खोज्दथे तर निन्द्रा लाग्दैनथ्यो । मैले सुनेको थिए सुत्ने बेलामा निन्द्रा आएन भने एक सयबाट उल्टो गन्दै एकसम्म ल्याए पछि निन्द्रा आउँछ भनेर करिब ५ पटक उल्टो गने तर निन्द्रा आउदैनथ्यो ।
    पानी लिएर आउँदै थिए कहिल्यै पनि मेरो कोठाको ढोका खुल्ला हुँदैनथ्यो । आज खुल्ला देखेको आएछ म छक्क परे पछि त श्रीमान् पो आउनु भएको रहेछ । म अति खुशी भए उहाँ दुई दिनको लागि मात्र आउनु भएको रहेछ । यसपाली त मलाई लिएर जाने गरेर आउनु भएको रहेछ । बुवा आमासँग कुरा राख्नु भयो । म एक महिनाको लागि माँयालाई लिएर जान्छु मैले सबै ब्यवस्था मिलाएर आएको छु भन्नु भयो । बुवा आमाले टेढे मुख लगाउँदै लैजा भन्नुभयो । दुई दिन घरमा बसेर हामी दुवैजना अर्को गन्तब्य तिर लाग्यौ । करिब १० घण्टा गाडीमा यात्रा गर्नु पर्दथ्यो । उहाँले तिमीलाई उल्टी आउछ कि आउँदैन भन्नु भयो मलाई त आउँदैन झन गाडीमा चढ्दा मज्जा आउँछ हास्दै जवाफ दिए । काठमाण्डौ जाने गाडीमा चढ्यौ दुवै जना दोस्रो सिटमा बस्यौ । उहाँले तिमी झ्याल तिर बस बाहिर सबै कुराहरु देख्न पाईन्छ भन्नु भयो । बाहिर तिरका अति मनमोहक दृश्यहरुलाई आँखा लगाउदै मुग्लिङ्ग कति बेला पुगेछौ पत्तै पाईएन अलिअली भोक लागेको थियो माया केहि खाने भन्नुभयो । भोक त लागेको छ तपाईले जे खानु हुन्छ म पनि त्यहि खान्छु । यहाँ खाना त्यति राम्रो हुँदैन चाउमिन खाउ मलाई पनि चाउमिन अति मन पर्दथ्यो । दुवैजनाले चाउमिन खायौ र केहि समयपछि बसले गति लियो । लालजोडी देखेर सबैले आँखा लगाउँदथे ।
    विदाको समयमा काठमाण्डौको विभिन्न ठाउँमा घुम्न जान्थ्यौ । फिलिम हेर्न जान्थ्यौ । एक दिनको मात्र बिदा लिएर उहाँ घर जानु भएको थियो । भोलिपल्टै फर्कनु भयो । मैले अनुभव गरे घरमा मलाई पहिलाको भन्दा अर्कै दृष्टिकोणले हेर्न थाल्नु भएको रहेछ । मेरो तल्लो पेट दुख्न थालेको थियो वाक–वाक पनि आउँदथ्यो । एक पटक स्वास्थ्य चौकीमा गएर जँचाए । म त गर्भवती पो भएछु । मेरो खुशीको सिमा रहेन हत्त न पत्त उहाँलाई फोन गरेर बताए । उहाँ पनि अति खुशी हुनुभयो । माया ज्यानले नसकेको काम नगर्नु है भन्नु भयो । घरमा आएर पनि सबैलाई मेरो यस्तो भएछ भनेर भने आमाले यस्तो बेलामा हामीले कस्तो काम गरियो आजकल धाचा पार्दछन् भनेर सुनाउनु भयो मलाई कता कता खल्लो लाग्यो खुशी हुनु पर्ने समयमा सासु आमाका कुरा सह्य जस्तो लागेन । 
    देशको स्थिति दिनका दिन बिग्रदै गएको थियो । सधैं रेडियोमा समाचार सुन्दथे । आज यहाँ भिडन्तमा यति मारे उती मारे भनेर मन त्यसै झसँग हुन्थ्यो भित्र भित्र चिसो पस्दथ्यो । एक मनले सोच्दथे स्वामीज्यूलाई फकाएर विदेश तिर जानु भन्न पर्छ कि भन्ने अर्को मनले फेरी विदेशमा गएर नाना थरीका दुःखहरु भएमा के गर्ने फेरी २ बर्ष सम्म भेट हुँदैन मनभरी कल्पना गर्दै रात कटाउँदथे । घर नजिकै फोनको सुविधा थियो । बिहानै मलाई तिम्रो फोन आएको छ सायद काठमाडौबाट हो । म हस्याङ्ग फस्याङ्ग गर्दै फोन भएको तर्फ दौडिएर गए । कतिबेला फोनको रिङ्ग बज्ला भनेर फोनलाई हेरी बसे केहि समयको प्रतिक्षा पछि फोनको रिङ्ग बज्यो फोन उठाए हजुर भने । माया मेरो त आज सरुवा छ । म सुदुर पश्चिममा जाँदैछु मेरो चिन्ता नगर अब भेट पनि हुदैन होला केहि समयसम्म फोनको पनि त्यति सुविधा छैन अरे । म उहाँको कुरा सुनिरहे कुनै बोली फर्काउन सकिन चुपचाप कुरा सुने । हैन हजुर आउनुहोस् घरमा जे जस्तो गरेर भए पनि हामी दुई ज्यानलाई पालौला नभए विदेशतिर जानुहोला । हैत्तरीका माया त्यस्तो कुरा पनि गर्ने हो सिपाहीको श्रीमती भएर मन हलुङ्गो बनाएर बस । म अवश्य छिट्टै आउने छु । मलाई ज्यादै नरमाईलो लागिरहेको थियो । मेरो कोखमा २ महिनाको नवजात शिशु बावुको पर्खाईमा चलिरहेको मेरो भित्री आत्माले थाहा पाईराखेको थियो ।


बिहान सात बजेको रेडियोको समाचार कताबाट मेरो कानमा पर्न आयो । सुदुरपश्चिमाञ्चल क्षेत्रमा भिषण आक्रमण भयो के कति क्षति भयो विस्तृत बिवरण आउन बाँकी रहेको अपुष्ट समचार सुन्न पुगे । कता कता मलाई डर लागिरहेको थियो । तर पनि मनमा कुनै संकोच नलिई बसे । मैले रेडियोको समाचार सुन्न नै छोडे तर एक्कासी बेलुका सिपाही म¥यो भनेर मेरो कानमा नाम प¥यो । पहिलो पटक त मैले पत्याउन सकिनँ । म त्यहि ठिङ्ग उभिएको उभिए भएछु । मेरो होस केहि पनि रहेन एकै पटक भोलिपल्ट सबै हाम्रो घरको आँगनमा आएर सबैलाई सम्झाउँदा बल्ल अलि अलि थाहा पाए । विवाह गरेको एक वर्ष पुरा हुन पाएको थिएन । राम्रोसँग माया प्रिति पनि गाँस्न पाएका थिएनौ । आफ्नो प्यारो जन्मघर बुवा आमा सबैलाई छोडेर मैले सर्बस्व सुम्पेको थिए । उहाँलाई अब मलाई यस धर्तिमा निर्जीव शरीर बाहेक अन्य कुनै नछोडी जानु भएपछि म कसरी यो घरलाई आफ्नो भनेर बसँु । मनमनै यीनै कुराहरु खेलिरहे । करिब दिनको १२ बजे सैनिक गाडीमा उहाँको लास लिएर घरको आगनमा छोडे । म डाँको छोडेर रुँदै उहाँको पार्थिव शरीरमा ओढाईएको सेतो कपडालाई हत्त न पत्त उठाएर हेरे मलाई लागेन । उहाँ यस धर्तीलाई छोडेर जानु भयो भनेर विश्वास गर्न सकिन । लुगा तल सम्म सारेको त उहाँको ढाडमा रगतका टाटाहरु देखे कति छटपटाउनु भएको थियो होला । आज पनि त्यो विछोड हुँदाको दिनको एक एक शब्दहरु मेरो कानमा गुञ्जिरहेका छन् । माया तिमीलाई मैले जति माया कसैले पनि गर्दैन र म तिम्रै मायाले जहाँ गए पनि सुरक्षित हुनेछु । 
    मेरो गर्भमा आठौ महिना पूरा भएर नवांै महिना लागिरहेको थियो । आज हो या भोलि केहि ठेगाना थिएन । मलाई अति डर लाग्दथ्यो बच्चा जन्माउने भन्दा एक मन त सोच्दथे म पनि उहाँ भएकै स्थानमा जाउँ कि भन्ने तर सक्दिनथे । आज मलाई अरु दिनको भन्दा अलि अप्ठ्यारो महसुस भएको छ । मलाई त ब्यथाले पो च्यापेछ । अरु दिन जस्तोसुकै ब्यवहार गरेतापनि त्यसदिन सासु आमाले अति सहयोग गर्नुभयो । बल्ल बल्ल कस्टका साथ मेरो कोखबाट उहाँ जस्तै उज्यालो मुहार भएको छोरा जन्मियो । जतिसुकै पीडाले भरिए पनि भित्री मन ज्यादै हर्षोल्लास भएको थियो । अब त म जस्तोसुकै परिस्थितिसँग पनि लड्ने छु । आत्मैदेखि हिम्मत लिए । आज उहाँ हुनु भएको भए कति खुशी हुन्थ्यौ होला तपाई जहाँ जे जस्तो अवस्थामा हुनुहुन्छ सुखी हुनुहोस् हजुरसँग धेरै लामोसँग साथमा हुन नपाए पनि हजुरको चिनोसँग सधै हासी खुशी हुनेछ र मैले तपाईको नासोलाई राज नामले पुकार्ने छु ।
    श्रीमान् नभएकी महिला । घर, परिवार र आफन्तले हेर्ने दृष्टिकोणका बारेमा ब्याख्या नगरौं । छोरा आज ठुलो भएको छ । बुहारी र नाति नातिना पनि भई सकेका छन् । उनीहरुमा आएको परिवर्तनले फेरी मेरो मन रुन थालेको छ । सायद त्यतिबेला नै मैले छोरा छाडेर किन अर्काे विवाह गरिन होला ? वा छोरा छाडेर आफु किन उहाँसँगै जान सकिन होला ? गर्भ सहित नै उहाँसँग जाने प्रयत्न गरेको भए के हुन्थ्यो होला ? उहाँ त एकपटक वित्नु भयो । तर मलाई समाजले पटक–पटक मा¥यो । चिथो¥यो । लुछ्यो । लछार पछार ग¥यो । बलात्कार ग¥यो । र पनि भन्न छाडेन यो बेश्या आईमाई हो । श्रीमान् भन्दा बाहेक परपुरुष कोहिसँग सम्बन्ध नराख्दा त समाजले एकल महिलालाई यस्तो ब्यवहार गर्छ भने कोहिसँग धित मारेर बोल्यो वा दुःखको कुरा पुरुषसँग साट्ने प्रयत्न ग¥यो भने त्यो महिलाले सहज जीवन जीउन सक्छ होला ? विरक्त, दिक्क अनि संसारको रितको भोगाईमा पिल्सिरहँदा मनको बह कहने प्रयत्न मात्रै गरेको हुँ । सायद अहिलेका महिलाहरुले यस्तो भोग्नु पर्दैन कि ?

माया शर्मा
भक्तपुर