2026 August 03/ 04:25: 18pm

अहिले नेपाली आकाशमा असल राजनीतिक संस्कारको खडेरी छाएको छ । राजनीति गर्ने ब्यक्तिले जे बोलेपनी हुन्छ, जे भनेपनी हुन्छ र जे गरेपनि हुन्छ भन्ने संस्कारले अघि बढी रहेको छ । मानौ जनताहरू सवै लाटा छन र हामी मात्र बाठाछौँ भन्ने मानसिकताले राजनीतिको असल चरित्रलाई छोपेको महसुस हुन थालेको छ । पार्टी नेताहरूको झुठो बोल्ने प्रवृत्ति नेताहरूको पौरख बनेको छ । विपरीत पार्टी नेता र पार्टीलाई गलत आरोप लगाउन सक्नु आफ्नो महानता हुन थालेको छ । भन्न खोजिएको के हो भने पार्टीका नेताहरू जुन रुपमा विश्वासिलो हुनुपर्ने हो जनताको विश्वास जित्न सक्नुपर्ने हो त्यो विश्वसनीयता गुमाउँदै गएकोछ । देशप्रतिको स्वाभिमान, पार्टीप्रति निष्ठावान् हुनुको सट्टा जता पद सुविधा प्राप्त हुने देखिन्छ उतैउतै ढल्केवार ब्यक्तिहरूको दवद्वा रहेको छ, निष्ठावान र इमान्दार ब्यक्तिहरूको मूल्यहीन हुँदैछ, घुर्की, धम्की, पैसा, पहुँच र नेताको चाकडीले प्रशय पाउन थालेको छ । पुराना नेताहरूले नयाँ अवसरवादीहरूको पछि लाग्नुपर्ने बेला आएको छ । भूमिगतकालीन त्यागी ब्यक्तिहरू निराशा र सुस्केरामा आफ्नै निधार र भाग्यलाई धिकार्दै बस्नु परेकोछ । यहि अपमान र पीडा बोक्दै कतिपयले निर्वाचनमा अन्तरघातसम्म गर्न पुगेको छ । यसमा दोष अन्तरघातिको नभै सौहार्दता र लोकप्रियताको कदर नहुनु र स्थानीय मतदाताको चाहना विपरीत टिकट वितरणको कारण बनेको छ । भूमिगत कालमा आश्रय दिनेहरू मन कुण्ठित बनाइ बस्नु परेको छ । उता माओवादीको जनयुद्दमा ज्यानको बाजी थापेर लडेकाहरूको सपना चक्नाचुर भएको छ । यहि मूल्यांकनको अभावमा जित्नुपर्नेले हार्न पुगेको र अपत्यारिलो रुपमा अन्य कुनै ब्यक्तिले जित्न पुगेको उदाहरणहरू धेरै छन् । त्यसैले पनि यस विषयमा पार्टीले विचार पु¥याउन सक्नुपर्छ र आउने २०८४ को निर्वाचनमा यसलाई सच्याउन सक्नुपर्छ । विगतका निर्वाचनहरूमा यस्ता कमजोरीहरू धेरै रह्यो । यहि कमजोरी अपनाई टिकट प्रदान गर्न पुगेबाट मन मुटुमा किला ठोकेर पार्टीको प्रिय चिन्हलाई बल्लात मार्दै विपरीत पार्टीका उम्मेद्वार जिताउन पुगेको छ । यो रोग कुनै एउटा दलको मात्र नभै पुराना भनिएका सबै दलको लागि चिन्ताको विषय बनेको छ ।
विडम्बनाको कुरो नयाँ दल, नयाँ ब्यक्ति भनेर उदाएकाहरू पनि पुराना भन्दा किन्चित फरक रहेन । बरु झन् आफ्ना भ्रष्ट र ठगी धन्दालाई ढाकछोप गर्दै अरु दलका नेताहरूलाई अति नीच या तल्लो स्तरमा झरेर अश्लील गाली गलौज र नाराबाजी गर्न पुगेका छन् । यसबाट यिनीहरू झन् खराब रहेछन् भन्ने पुष्टि गरेको छ  । यहाँ भन्न खोजिएको केहो भने चाहे जुनसुकै दल किन नहोस् उनीहरू आफैमा आर्थिक पारदर्शिता र इमान्दारीता अनि जनताप्रतिको विश्वास जित्नमा सदैव ध्यान दिनुपर्छ । नकि आफ्नो गल्ती कमिकमजोरीलाई ढाकछोप गर्न अरूलाई राजनीतिक प्रतिशोध साँधे भनी आरोप लगाई छाडा गाली गर्नुमा आफ्नो इमान्दारिता ठान्नु कदापी पनि उचित नहोला । जसको कारणले एक पार्टी र अर्को पार्टीप्रतिको वैमनश्यता चुलिन पुग्ने मात्र नभै एक अर्का पार्टीप्रति सम्मान दर्शाउने कुरामा सदा सशंकित रहनुपर्ने हुन्छ । पार्टीपार्टी बीचको चिसो दूरी स्थायी रुपमा रहने छ । पार्टी र सरकारले गरेका गलत या कमीकमजोरीहरूलाई सकारात्मक र सौहार्दपूर्ण रुपमा आलोचना गर्ने र गल्ती औँल्याइ दिने प्रवृत्ति राजनीतिक दलहरू र दलका नेताहरूमा स्थापित हुन सक्नुपर्छ । यसो हुनुको बदला भए गरिएका राम्रा कामहरूलाई पनि खुइल्याइदिने, गलत र झुठ तरिकाले कसरी भ्रम सिर्जना गरिदिने र जनता भड्काउने जस्ता कुराहरूमा अगाडि बढ्दैछ । जसबाट यो सरकार, वर्तमान बहुदलीय शासन व्यवस्था प्रति कसरी नकारात्मक सोच जागृत गराउने, कसको काम के कति ठिक र गलत छ भनी गम्भीर र गहिरिएर मूल्यांकन नै नगरी कसैको पक्षमा जिन्दावाद र कसैको पक्षमा मुर्दावादको नारा लगाएर÷लगाउन लगाएर आफ्नो असली चरित्रलाई उदाङ्गो पारेको छ । ताकी अहिलेका पार्टी नेताहरू र यो ब्यवस्थानै पूरै खराब छ भन्ने जस्ता भाष्य सिर्जना गरि देशका सम्पूर्ण जनतालाई निरास तुल्याउनमा प्रयत्नशील छ । एउटा पक्ष जो यो देशमा गणतन्त्रको योजनाकार नै हामी हौँ र हाम्रै पहलमा राजतन्त्रको अन्त्य भयो भनी गर्व गर्न चाहने नै सरकारलाई कसरी अस्थीरतामा रुमल्याउने भन्नेमा बढी ध्यान केन्द्रित छ । एकातिर हामी सरकारमा जान लालयित छैनौँ, हामीलाई सरकार बनाउने चाहना छैन भनेर आदर्श छाँट्दै हिँडेको हुन्छ भने अर्कोतिर वर्तमान ओली सरकारलाई दिएको समर्थन र सरकारबाट अलग भै आफ्नै नेतृत्वमा सरकार चलाउनु हामी समर्थन गर्छौ भन्दै नेपाली काँग्रेसलाई उक्साउँदै हिड्नुले प्रचण्ड र उनले नेतृत्व गरेको पार्टीको द्वैध चरित्रको उद्देश्य के हो ? स्पष्ट हुन्छ । यहि पार्टी हो डेढवर्षको अवधिमा नेपाली काँग्रेस र एमालेलाई २÷२ पटक धोका दिई चार पटक विश्वासको मत लिई फेरि पाँचौँ पटक समीकरण परिवर्तन गर्ने आशयले नेपाली काँगे्रसलाई पनि आफ्नो नेतृत्वको सरकारलाई समर्थन गर्नुस् भनी भन्न पुग्नुले पनि प्रचण्डबाट सरकारको स्थायित्वलाई महत्व दिनु भन्दा पनि जसरी होस् आफ्नै हत्केलाको पुतली नचाएझैँ नचाइरहनेमा लाग्न पुगे भने अहिलेको केपि ओलिको सरकारलाई असफल बनाउने हरदमको भित्री षड्यन्त्रमा रहेको घाम जति कै उज्यालो छ । त्यसैले पनि अहिलेको गणतन्त्रात्मक बहुदलीय शासन प्रणालीप्रति सबभन्दा बढी वितृष्णा जगाई दिने अरु कोहि हो भने नेकपा माओवादी नै हो भनेर बुझ्न सकिन्छ । यो पछिल्लो ३÷४ वर्ष यता जति पनि सरकार प्रति आलोच्यको विषय बनेको छ यसमा प्रमुख भूमिका नेकपा माओवादीकै रहेको छ र अहिले मोफसलमा सरकारप्रति जति पनि गालिका वर्षा गर्नेहरू छन् यी सबै नै माओवादी र माओवादीबाटै भट्किएकाहरू र बिच्किएकाहरू हुन भन्न सकिन्छ  । यसमाथी प्रचण्ड पछिल्लो पटक अप्रत्यासित सत्ताबाट बाहिरिनु पर्दाको कारण कसरी यो सरकारलाई बदनाम गराउने र जनमत आफ्नो पक्षमा पार्ने भन्ने उद्देश्यले पनि आफ्ना कार्यकर्ताहरूलाई विकास कार्यहरूको विरुद्ध नकारात्मक सन्देश फैलाउन ब्यस्त छ । जनतालाई रीस उठ्नुको विषय एउटा यो पनि हो । प्रचण्डको लागि केवल यो वर्तमान केपि ओली नेतृत्वको गठबन्धन सरकारप्रतिको वितृष्णा जस्तो लागे पनि मुलतः हालसम्म सरकार संचालन गरेका दलहरूप्रतिको सामूहिक घृणा र बितृष्णायुक्त आक्रोश भन्दा फरक पर्नेछैन । यो खालको आक्रोश र वितृष्णाको स्वरहरू प्रचण्डको छिनछिनको सत्ता समीकरणबाटै उकुसमुकुस भैरहेका थिए  । यसैको पछिल्लो उदाहरण हो २०७९ को निर्वाचनमा नेपाली काँग्रेस समेत सात दलको गठबन्धनसँग तालमेल गर्दा पनि मुस्किलैले तेस्रोमा आउनुले झल्किन्छ । तर जनमतको हैसियत नाघेर जसरी पाँचैवर्ष सत्ताको नेतृत्व गरिरहने सपनाकासाथ दुई ठुला दललाई खेलाउन थाले र आफूमा जादुको मन्त्र रहेको घमण्ड चढ्न पुग्यो । यो उनको राजनीतिक बेइमानीको पराकाष्ठा  थियो । यतिन्जेल प्रचण्डको लागि नेपाली काँग्रेस धेरै राम्रो रह्यो  । आफूले नेतृत्व गरेको सरकार पवित्र पनि भयो । जब आफू सत्ताच्युत भएर केपि ओलिको नेतृत्वमा सरकार बन्यो तब अपवित्र र अपाकृतिक सरकार बन्न पुग्यो । यसरी नै अहिलेको गणतन्त्रको बहुदलप्रति बितृष्णा जगाउन र नेताहरूप्रति अनविश्वास जगाउन मद्दत ग¥यो क. प्रचण्डले ।
यता नेपाली काँग्रेसले विपीको फोटो राखेर भन्ने गरेको प्रजातान्त्रिक समाजवाद र कम्युनिष्टहरूले माक्र्स, लेनिनको फोटो राखेर भन्ने गरेको समाजवाद÷साम्यवाद देखाउने हात्तीको दाँत जस्तो मात्र बनाए । कम्युनिष्ट सिद्धान्त, मूल्य र मान्यतालाई लत्याएर जो सुकैसँग पनि सत्ता सहयात्रा गर्न पुगे । यीनै पुरानाहरूबाट केही भएन÷ गरेन भनी उदाएको नयाँ पार्टी रास्वपा पनि उम्रँदैको पहेँला पात भनेझैँ भयो । यसका पार्टी सभापति आफैमा झन्दै आधा दर्जन सहकारी रकम अपचलन वा ठगी गरेको अभियोगमा पूर्पक्षका लागि थुनामा रहन पुगेको छ । अझ अचम्मत के छ भने आफू चोखो हुँ भनी जनतालाई ढाँट्नका लागि प्रधानमन्त्री ओलीले प्रतिशोध साँढ्नका लागि सहकारीको झुठ्ठा मुद्दामा फसायो भनी दोष लगाउन पुगेको छ । जबकी रवि लामिछानेले सहकारी रकम अपचलन गरेको आरोप केपि ओली प्रम हुनु अगाडि नै अर्थात प्रचण्ड प्रधानमन्त्री हुँदै लागेको आरोप हो । त्यही पनि यो मुद्दा अदालतमा पुगेपछि आफूले सहकारीको पैसा लिएको हो होइन आफैले प्रमाण पु¥याएर आफू चोखै र निर्दोष रहेको सावित गर्न सकिने ठाउँ छँदै थियो । आफ्नो समर्थक, कार्यकर्तालाई सडकमा उचालेर गाईजात्रा देखाउनु पर्ने थिएन ।
अहिले पछिल्लो समय एमाले+काँग्रेसको सरकार बने पछिको १० महिना यताको दशथरीका कुरा सुन्दा कुनै पार्टीको नेता होर भन्नुपर्ने अवस्था आएको छ क. प्रचण्डलाई । यस्तै नयाँ पार्टी भनी गएको निर्वाचनदेखी उदाएका रास्वपा झन् अरु पुराना राजनीतिक दलहरूभन्दा एक कदम अगाडि बढेर बोलेको र आफ्ना कर्तुतहरूलाई ढाकछोप गर्न स्वयम् ब्यक्ति त्यस दलका सम्पूर्ण नेता र त्यो पार्टी समर्थित ब्यक्तिहरूको बोली र अभद्र शैली हेर्दा झनै उदेक लाग्दो रहेको छ । पार्टी सभापति रवि लामिछाने स्वयम् आफू आफ्नो निर्दोषिता प्रमाणित गर्न अदालत समक्ष उपस्थित हुनुको सट्टा आफ्नो समर्थक कार्यकर्ताहरूलाई अदालत परिसरमा हुलदङ्गा र जथाभावी नारा लगाउन लगाउनुले पनि यो पार्टी आफंैमा अराजकहरूको भीडमात्र रहेछ भन्ने प्रमाणित भएको छ । मात्र आफू अर्थात् आफ्ना पार्टी सभापतिलाई प्रतिशोध साँधेर झुठ्ठा अभियोगमा फसाउन खोजिएको भनी ऊसङ्ग सम्बन्धित सहकारी बचतकर्ताहरूलाई मूर्ख बनाउने प्रयास गरिएको छ ।
यद्यपि यो पनि होइन कि अहिलेको नेपाली समाजका कतिपय नेताहरू र ब्यक्तिहरूको चरित्र र नियत  यस्तो रहेको हुन्छ कि अर्कालाई दुःख नदिई चित्त नै बुझ्दैन र कहाँबाट के चुक्ली भेटाउँ भनी दाउ खोजी रहेको हुन्छ । यसमा पनि राजनीति गर्ने ब्यक्तिहरू आफूसँग प्रतिस्पर्धामा आउनेलाई के कसरी कमजोरी भेटाई समाजबाट नङ्याउने र आफूमाथी उठ्ने भन्नेमा रहेको हुन्छ÷पाउन थालिएको छ । खास त देश र जनताको लागि असली  राजनीति गर्ने हो भने यो खालको छुद्र ब्यवहारलाई त्याग्न सक्नुपर्छ र समाज र देशको लागि लोकप्रिय कामहरू गरेर देखाउन सक्नु पर्छ÷सक्नु पथ्र्यो । तर नेपाली राजनीतिक ब्यक्तिहरूमा यो गुण विल्कुलै छैन भन्दा पनि फरक नपर्ने भएको छ । यसो त नेताहरूमा रहेको यहि खराब मनसाय र प्रवृत्तिले कोहि कुनै ब्यक्तिले राम्रो काम गर्दागर्दै पनि उसको चरित्र हत्या गर्ने किसिमले झुठ्ठा आरोप वा अभियोग लगाउने गरिएको पनि प्रशस्तै उदाहरणहरू छन् । गरिएका कामहरूको प्रशंसा÷तारिफ गर्नुको सट्टा उल्टै उइल्याउने, नङ्गयाउने र भ्रष्टाचार गरेको गलत आरोप लगाउने प्रवृत्तिले बढावा पाएको छ । आफू नगर्ने र अरुले गरेको राम्रो कामलाई खुइल्याउने प्रवृत्ति अगाडि बढेको छ । यसो त यतिसम्म कि २० सौँ वर्ष अघि काम थालेर भर्खरै मात्र सम्पन्न भएका कुराहरूलाई यहि सरकारलाई जोडेर भ्रष्टाचारको आरोप लगाउन समेत कतिपय नेताहरू न्वारानदेखिको बल निकालेर वर्तमान सरकारमाथी दोष थोपर्न प्रयास गरिँदैछ । 
अहिले मोफसलमा देखापरेका वा ब्यक्त गरिएका केहिकेही छाडा या अश्लील शब्दहरूको प्रयोगले मानिसमा सभ्यता र मान मर्यादा हराउन पुगेको छ । एउटा रीस उठेको पार्टीको नेताप्रति गाली गर्ने शैलीलाई हेर्दा यी ब्यक्तिहरूमा असल स्कुलको नैतिक पाठबाट चुकेर या सभ्य परिवारको भाषा शैली नपाएर वेवारिसे ब्यक्तिको रुपमा हुर्के बढेको आवारा ब्यक्तिको परिचय बोकेको स्पष्ट हुन्छ । बहुदलीय शासन प्रणाली अपनाएको देशमा मानिसहरू विभिन्न दलहरूमा आबद्ध रहेका हुन्छन । जतिसुकै स्वतन्त्र ब्यक्ती हुँ भनेपनि ऊ पनि अप्रत्यक्ष रुपमा दल प्रति नै गाँसिएको हुन्छ । दल र दलका ब्यक्ति÷नेताहरू आफ्नो दलप्रति आकर्षित गर्न उसको चरित्र र वाणीमा सुधार ल्याउन सक्नुपर्छ ।  
आजभोलि केही सामाजिक सञ्जाल तथा मिडियाहरूलाई दुरुपयोग गर्दै अरु विपक्षी पार्टीका नेताहरूलाई जथाभावी गाली गर्दै ती ब्यक्ति र पार्टी समर्थित कार्यकर्ताहरूलाई झोले भनी गाली गरेर जनता आफूतिर आकर्षित गर्न  प्रयास गरिँदैछ । तर एउटा कुरा कुनै दल समर्थितलाई झोले भनिन्छ भने आफू पनि कसैको झोले नै हुँ भनी सोचेको छ कि छैन ? यो पनि प्रश्न उब्जिएको छ । अनि यो झोलेको भाष्य सिर्जना गर्नेले कतै आफूले आफैलाई गिराई रहेको त छैन ? यो पनि प्रश्न आउँछ । नत्र भने कुनै पनि दलहरू आफू सबभन्दा ठूलो दल बन्नको लागि र आफ्नो पक्षमा जनमत पार्नको लागि अगाडि बढ्ने जमात नै कार्यकर्ता हो, कार्यकर्ता विना पार्टीको माहोल अगाडि बढ्न सक्दैन र पार्टी पनि बन्दैन । आजभोलि यो भाष्यको बढी प्रयोग आफूलाई रास्वपा या स्वतन्त्र भनी चिनाउन चाहनेहरूले प्रयोगमा ल्याउने गरेका छन् । यहि समूह वा समर्थक हुन् आफ्ना विरोधिहरू अर्थात् कट्टु मन नपरेकाहरूलाई जिउँदैमा “रीप” लेखेर आफ्नो जंगली चरित्र उदाङ्गो पार्ने गरेका छन् । यो खालको प्रवृत्ति हाल आएर आफूलाई राजतन्त्रवादी भनी चिनाउन चाहनेहरूको बोली ब्यवहार पनि उस्तै हुन थालेको छ । 
जेहोस् नेपाली राजनीतिक क्षेत्रमा राजनीतिक ब्यक्तिहरू, र तिनका कट्टर समर्थकहरूमा एक अर्को दल र दलका नेताहरूप्रति कसरी सम्मान र सम्बोधन गर्ने भन्ने कुराले सीमा नाघेको देखिन्छ । अरुलाई जतिसक्दो गाली गर्न सक्नुमा आफ्नो उचाई बढ्ने मानसिकताले राजनीति अघि बढ्न थालेको छ । यस्तोमा अहिले सबभन्दा बढी ज्ञानेन्द्र शाही देखिन्छ । यहि नै पाराले, यहि नै तरिकाले अगाडि बढ्दै जाने हो भने यो देशको अवस्था राक्षसी स्वरुपमा परिणत हुनेछ । एकअर्का प्रतिको मान, सम्मानको अन्त्य भै मान मर्यादा के हो भन्ने बिर्सन पुग्नेछ । अहिलेका केही नेताहरूले आफ्नो पक्षमा माहोल र समर्थन प्राप्त गर्न जेजस्तो भन्न, बोल्न सिकाए यो अराजकताको भाषा र उदण्ड प्रवृत्तिले स्थायीत्व प्राप्त ग¥यो भने यसले कालान्तरमा आफैलाई सिध्याउनेछ । त्यसैले अहिले अरुलाई आफ्नो कार्यकर्ताले मज्जाले गाली गरे भनेर मख्ख पर्नु बेकार हुनेछ र पछि नराम्ररी पछुताउनु पर्नेछ । त्यसैले राजनीति गर्ने नेताहरू हुन् वा कार्यकर्ताहरू हुन् शिष्ट र मर्यादित भाषा बोल्न र सोही अनुसार व्यवहार गर्न सिक्नु जरुरी छ । जसबाट अरुलाई गर्दा आफूले सम्मान पाउन सक्छ । 
           हुनसक्छ राजनीती भनेको अरु पार्टीभन्दा आफ्नो पार्टी लोकप्रिय बन्ने प्रयास गर्नु स्वभाविक हो । जसको लागि सहि सत्य र इमानदारी भएर काम गर्न सक्नुपर्छ । बोलीको सत्यता होस्, काममा पारदर्शी र आर्थिकमा सफा होस्, नैतिक आचरणमा शुद्ध होस् । जसबाट जनता प्रभावित पार्न सफल होस् । यस कुरामा पार्टीका नेताहरूले ध्यान दिन जरुरी छ, माथी उल्लेख गरिएका समाज भड्काउने, मान मर्यादा गिराउने जस्ता कुराहरूमा सचिन आवश्यक छ । यी कुराहरूबाट नेताहरू सचिन सक्नुपर्छ । बाँकी सबै नेताहरूकै ब्यवहारमा ।