2026 August 03/ 04:25: 19pm

    पछिल्लो समय सूचना प्रविधिको अधिकतम् प्रयोगसँगै भएको दुरुपयोगका कारण नागरिकहरुले अनाहकमा ज्यान गुमाउन बाध्य भएका छन् । प्रविधिको प्रयोग गरेर ब्यक्तिका स्वर, अनुहार, शरीरका विभिन्न अंगहरुको गलत उपयोगका कारण नागरिकहरु विक्षिप्त बनेका छन् । कहिलेकाँहि आफ्नै र आफन्तबाट त्यसको प्रयोग गर्दा गर्दै दुरुपयोग गरिदिएर पनि पीडामा छन् । साईबर अपराध समाजका लागि नयाँ अपराधको माध्यम बन्न थालेको छ । देखासिखी त्यसको अर्काे प्रमुख कारण हो । यस्ता अपराधबाट कसरी बच्ने ? के हो साईबर अपराध ? के हुन्छ कानूनी कारवाही ? यसका बारेमा अभिभावक र बालबालिकाहरु सचेत हुन विद्यालयस्तरबाट पनि शिक्षा उपलब्ध गराउन आवश्यक छ भने प्रहरी तथा कानून कार्यान्वयन गर्ने निकाय सक्रिय हुन आवश्यक छ । 
    सरकारले साईबर अपराधका घटनामा बृद्धि भएसँगै हरेक जिल्लामा साईबर अपराधका मुद्दा दर्ता गर्न सकिने कानूनी ब्यवस्था गरेको छ । त्यसबाट पीडित भएकाहरु राजधानीसम्म जानुपर्ने अवस्थाको अन्त्य त भएको छ तर जिल्लामा त्यसका बारेमा आवश्यक जनशक्ति र प्रविधि नभएका कारण जिल्ला प्रहरी कार्यालय उजुरी लिएर माथिकै भर पर्नु पर्ने अवस्थामा छ । अपराधको नयाँ ट्रेन्डको रुपमा विज्ञान र प्रविधिको विकास, सामाजिक सञ्जालको प्रयोगसँगै साईबर अपराधहरु बृद्धि हुँदै गएको हो । काभ्रेको तथ्यांकमा मात्रै साईबर अपराधमा ३ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका तीन वटै मुद्दा फछ्र्याैट भएका छन् । अनलाईन मार्फत ठगी भएका मध्ये १२ वटा उजुरी दर्ता गरेको प्रहरीले ३ वटा मात्रै फछ्र्याैट भएका छन् । ९ वटा अनलाईन ठगीका मुद्दा फछ्र्याैट हुन बाँकी छन् । फेसबुक आईडी ह्याक गर्ने, चिठ्ठा परेको प्रलोभन, केटीहरुको विभिन्न किसिमको फोटोहरु पोस्ट गर्ने देखाई ठगी गर्नेहरुको संख्या बढिरहेको छ । अपराध गर्ने तथा अपराधमा संलग्न हुनेहरुले अपरिचित ब्यक्तिहरुको सिमकार्ड तथा नागरिकता प्रयोग गरी ईसेवा, खल्ति जस्तै फेक ई–वालेट बनाई विभिन्न ब्यक्तिहरुको खाताबाट रकम ट्रान्सफर गरी अनलाईन ठगी गर्ने गरेको छ । फेक एकाउन्ट बनाई रिसिईवी रहेको मानिसहरुको फोटो राखी गाली गलौज गर्ने र अश्लीलता प्रर्दशन गर्ने जस्ता अपराधहरु भईरहेका छन् । साईबर अपराध बढ्दै गए पछि प्रहरीले समुदाय स्तरमा सचेतनामुलक कार्यक्रम आयोजना गर्न थालेको छ । समुदायमा लागु औषध, साईबर अपराध, आत्महत्या, घरेलु र लैङ्गिक हिंसा, जर्बजस्ती करणी, जेष्ठ नागरिक र बालबालिका सम्बन्धी अपराध बढिरहेको प्रहरी तथ्यांकले देखाउँछ । 
    साइबर अपराधका केही सामान्य प्रकारहरूमा ह्याकिङ, फिसिङ, पहिचान चोरी, अनलाइन जालसाजी, साइबरबुलिङ, मालवेयर वा भाइरसहरू फैलाउने, र कम्प्युटर प्रणाली वा नेटवर्कहरूमा अनधिकृत पहुँच समावेश छ । साइबर अपराधीहरूले प्रायः आफ्नो गैरकानुनी गतिविधिहरू सञ्चालन गर्न, प्रविधि र मानव व्यवहारमा कमजोरीहरूको शोषण गर्न परिष्कृत प्रविधिहरू र उपकरणहरू प्रयोग गर्छन् । साइबर अपराधको पछाडिको उत्प्रेरणाहरू आर्थिक लाभ र संवेदनशील जानकारीको चोरी देखि लिएर व्यक्ति वा संस्थाहरूलाई अवरोध, क्षति वा हानी पु¥याउने हुन सक्छन् । जिल्लामा पनि यस्ता घटना लिएर आउनेहरुको संख्या बढेको हो । डिजिटल डिभाइस, नेटवर्क वा इन्टरनेट प्रयोग गरेर गरिने गैरकानुनी गतिविधि वा आपराधिक कार्यलाई साईबर अपराधको ब्याख्या गरेको छ । कानुनले परिभाषित गरेको पाइँदैन तर पनि यसलाई परिभाषित गर्नु पर्दा साइबर अपराध भन्नाले पीडितको इच्छा विपरीत कुनै पनि भौतिक शक्ति प्रयोग नगरी साइबर स्पेशमा कम्प्युटरको दुरुप्रयोग गरी कुनै पनि सूचना सिर्जना गर्ने, वितरण गर्ने, परिवर्तन गर्ने, चोरी गर्ने, दुरुपयोग गर्ने कार्य साइबर अपराध हो । यी अपराधहरू प्रकृतिमा व्यापक र भिन्न हुन सक्छन् । साइबर अपराध व्यक्ति, संस्था वा सरकार लक्षित पनि हुन सक्छन् । डिजिटल प्रविधि र कनेक्टिभिटीको द्रुत विस्तारसँगै धेरै देशहरूमा जस्तै नेपालमा पनि साइबर अपराध जटिल मुद्दा बनेको छ । पछिल्ला वर्षहरूमा साइबर अपराधमा उल्लेख्य वृद्धि भएको छ । यी अपराधहरूले डिजिटल प्लेटफर्महरूमार्फत सञ्चालन गरिएका अवैध गतिविधिहरू ह्याकिङ, पहिचान चोरी, अनलाइन जालसाजी, फिसिङ घोटाला, साइबर बुलिङ, र दुरासययुक्त सामग्रीको प्रसार लगायतमा सीमित छैन, यो गम्भीर प्रकृतिका डेनियल अफ सर्भिस अट्याक जस्ता साइबर अपराध समेत देखिएका छन् । यसको रोकथामका लागि सबै सचेत हुनु आवश्यक छ ।