2026 August 03/ 04:26: 04pm

पनौती/भालेश्वर माध्यमिक विद्यालय पनौतीले स्थापनाको ६८ औं बार्षिकोत्सव मनाएको छ । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री अमनकुमार मास्केको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र केसीको अध्यक्षता रहेको थियो । 
    विद्यालयका प्रधानाध्यापक रामचन्द्र थापाले विद्यालयको बार्षिक प्रतिवेदन र अवस्थाका बारेमा जानकारी गराउँदै दक्ष जनशक्ति ब्यवस्थापन तथा भौतिक पूर्वाधारका लागि सहयोग र समन्वय आवश्यक रहेको बताए । ११ सय भन्दा धेरै विद्यार्थीहरु अध्ययरनत विद्यालयमा भौतिक पूर्वाधार सम्पन्न हुँदै गए पनि जनशक्ति ब्यवस्थापन कठिन भएको बताए । गुणस्तरीय, ब्यवहारीक शिक्षा र विद्यार्थीहरुलाई आत्मनिर्भर हुने खालको शिक्षा उपलब्ध गराउन श्रोतको आवश्यकता रहेको थापाले बताए । ३२ जना जनशक्तिलाई राज्यको तर्फबाट सेवा सुविधा उपलब्ध गराए पनि ३१ जना शिक्षक कर्मचारीहरुलाई निजी श्रोतबाट पारिश्रमिक उपलब्ध गराउनु पर्ने बाध्यता रहेको उनले बताए । विद्यालय बस संचालन, छात्राबासका लागि आवश्यक ब्यवस्थापन र अन्य आवश्यक कार्यका लागि बजेट ब्यवस्थापनका लागि प्रदेश सरकारले ध्यान दिन प्रधानाध्यापक थापाले अनुरोध गरे । 
    मन्त्री मास्केले प्रदेश सरकारले नमुना विद्यालयका लागि आवश्यक सहयोग गर्ने बताए । सामुदायिक विद्यालयहरु प्रतिको अभिभावकको आकर्षण बढाउन शिक्षक अभिभावकहरुले गरिरहेको मेहनतको सम्मान गर्दै आगामी दिनमा सामुदायिक विद्यालयहरु मार्फत प्रदान गरिने शिक्षालाई झनै प्रभावकारी बनाउन पहल गर्ने बताए । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र केसीले भालेश्वर माध्यमिक विद्यालयले निरन्तर शैक्षिक गुणस्तर कायम राख्न आन्तरिक र बाह्य श्रोतहरुको पहिचान गरी अभिभावकहरुको मन जित्ने कार्य गरिरहेको बताए । सहायक प्रधानाध्यापक हरि तिमल्सिनाको संचालनमा सम्पन्न कार्यक्रममा बाल क्लवका अध्यक्ष विद्यार्थी सगर्व न्यौपानेले स्वागत मन्तब्य राखेका थिए । 
    कार्यक्रममा प्रदेश सभा सदस्य रत्न ढकालले भालेश्वर जस्ता सामुदायिक विद्यालयहरुलाई सरकारको तर्फबाट आवश्यक सहयोग र समन्वय गर्दै अन्य विद्यालयहरुको पनि गुणस्तर सुधार गर्ने र दिवा आवासिय विद्यालय निर्माण तर्फ योजना बनाउनु पर्ने बताए । कार्यक्रममा पनौती नगरपालिका उपप्रमुख गिता बञ्जारा, वडा अध्यक्षहरु, शिक्षाविदहरु, चन्दादाताहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु तथा अभिभावक र विद्यार्थीको सहभागिता रहेको थियो । सोहि अवसरमा विद्यार्थीहरुले खेल तथा मनोरञ्जनका लागि नृत्य प्रस्तुत गरेका थिए । सोहि अवसरमा शिक्षक तथा विभिन्न दाताहरुलाई सम्मान गरिएको थियो ।