2026 August 03/ 04:26: 09pm

धुलिखेल/धुलिखेल अस्पतालमा महिलाहरुको उपचारका लागि धुलिखेल अस्पताल र युएनएफपीएबीचको सहकार्यमा मेनोपज (रजनोबृत्ति) क्लिनिक शुभारम्भ गरिएको छ । बुधबार क्लिनिकको शुभारम्भ गर्दै एक कार्यक्रमका बीच क्लिनिकको उदेश्य, आवश्यकता र औचित्यका बारेमा जानकारी गरार्ईएको थियो । 
    अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रामकण्ठ माकजुले क्लिनिक संचालनले महिला स्वास्थ्य सेवामा नयाँ कोशेढुङ्गा भएको बताए । उक्त कार्यमा संलग्न चिकित्सक तथा विभागिय टिमका साथै सहयोगीहरुलाई डा.माकजुले धन्यवाद दिए । कार्यक्रममा युएनएफपीएका कन्ट्री रेप्रेजेन्टेटिभ म्याडम योङ्ग हंगले महिलामा हुन सक्ने स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र डिम्बाशयको क्यान्सरका साथै  अन्य रोगहरुको समेत पहिचान गर्न सहज हुने भएकाले महिलाको लागि यो क्लिनिकको सेवा उपयोगी भएको हुने बताईन् । 
    मेनोपज क्लिनिकको आवश्यकताका साथै थप विषयमा धुलिखेल अस्पताल र युएनएफपीएबीचको सहकार्यका बारेमा प्रा.डा.आभा श्रेष्ठले जानकारी गराईन् । साथै अस्पतालले उपलब्ध गराउने सेवामा महिलाहरुका लागि यो क्लिनिक थप महत्वपूर्ण र सहयोगी बन्ने बताईन् । प्रा डा अन्जना डंगोलले मेनोपज पिरियड र मेनोपजका बेला ध्यान दिनुपर्ने कुराहरुका बारेमा जानकारी गराएकी थिईन् । सोहि कार्यक्रममा स्वागत मन्तब्य प्रा.डा.सुमनराज ताम्राकारले राखेका थिए । कार्यक्रममा मेनोपज क्लिनिक सम्वन्धि भिडियो प्रदर्शन गरिएको थियो । 
    धुलिखेल अस्पतालमा शुरु भएको मेनोपोज क्लिनिक सेवा निजी तथा अन्य अस्पतालबाट स्त्रीरोग बहिरङ्ग विभागबाटै उपलब्ध गराएको भए पनि अलग रुपमा शुरु गरेको धुलिखेल पहिलो अस्पताल हो । शहरी क्षेत्रमा महिलाहरु सचेत भएर यो सेवा लिन आउने भए पनि रजनोबृत्ति (मेनोपोज) हुने उमेरका सबै महिलाले यो सेवा लिनबाट बंञ्चित भएकोले सेवालाई छुट्टै क्लिनिकको रुपमा स्थापित गरिएको डा.सुमन ताम्राकारले बताए ।
    महिलाको उमेर ४० देखि ५५ वर्ष पुग्दा रजनोबृत्ति (मेनोपोज) हुन्छ । मेनोपोज हुँदा महिलामा केही अप्ठेरा लक्षणहरू देखिन्छन । जसका कारण नियमित काममा अवरोध उत्पन्न हुन्छ । मुड तलमाथि हुने,  छटपट्टी भई निन्द्रा नलाग्ने, एक छिनमा शरीर तातिने त्यहि रोगका लक्षण हुन् । यहि मस्याको कारण मेनोपोज हुन लागेकी महिला परिवारका सदस्यहरूसँग झर्किने, एक छिनमा रिसाउने र अन्य साथीभाइसँग पनि रिसाउने समस्या जस्ता समस्या देखिन्छन ।  यो अवधि एक देखि दुई वर्षसम्म रहन्छ । यो समय महिलाको लागि कष्टकर हुन्छ । यी समस्याको उचित व्यवस्थापनको लागि मेनोपोज क्लिनिकको सेवा आवश्यक रहेको सहभागि चिकित्सकहरुले बताए । 
    क्लिनिकबाट यो अवधिको लागि थप अन्य असर नगर्ने औषधी, निश्चित अवधिको लागि स्ट्रोजन हर्मोन लगायत सिफारिस गरिन्छ ।  यो क्लिनिबाट सेवा नदिँदा धेरै महिला यो सेवाबाट छुट्न गई स्वस्थ रजनोबृत्ति अवधि नपाउने हुनाले छुट्टै क्लिनिकको स्थापना गरिएको डा.आभा श्रेष्ठले बताईन् । यो उमेरमा महिलामा हुन सक्ने स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र डिम्बाशयको क्यान्सर पनि पहिचान गर्ने सेवा पनि यही क्लिनिकबाटै दिइने भएकोले महिलाको लागि यो क्लिनिक उपयोगी भएको उनले बताईन् ।