2026 August 03/ 04:26: 03pm

    धुलिखेल/एउटै प्रकृतिका अभियोगमा अदालतले फरक फरक आदेश गरेको पाईएको छ । नमोबुद्ध ५ लास्कोटमा तीन जना मिलेर मोटरसाईकल चोरी गरेको अभियोगमा धरौटी खोलेको जिल्ला अदालत काभ्रेको इजलासले रोशी ९ मंगलटारमा मोटरसाईकल चोरी अभियोगमा भने दोषि ठहर गरेको छ । 
    डाँका गर्ने समहुका तीन जना धरौटीमा रिहा गर्ने आदेश जिल्ला अदालत काभ्रेपलाञ्चोकका जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले गरेको छ । २०८२ बैशाख २३ गते दर्ता भएको अभियोगमा बैशाख २४ गते आदेश भएको थियो । डाँका चोरी अभियोगमा रविन मोक्तान समेत तीन जनालाई धरौटीमा छाड्ने आदेश दिएको हो । नमोबुद्ध नगरपालिका वडा नम्वर ५ का ३५ बर्षिय तीर्थमान लामा लामाले महाभारत गाउँपालिका वडा नम्वर ७ का २१ बर्षिय छयोईसाङ स्याङतान, महाभारत ७ कै २१ बर्षिय रिशल थिङ तामाङ र २२ बर्षिय रविन मुक्तानलाई डाँका चोरीमा जाहेरी दिएका थिए । रविन मुक्तान बाहेक दुई जना पक्राउ परेका छन् । २०८१ चैत्र २८ गते राति साढे ९ बजे नमोबुद्ध ५ लास्कोटमा पार्किङ गरी राखेको २ लाख २५ हजार रुपैयामा खरिद गरेको २२० सिसीको बागमती प्रदेश ०२–०५५ प १४६५ नम्वरको पल्सर मोटरसाईल चोरी गरेको अभियोगमा तीर्थमानले प्रहरीमा डाँका चोरी सहित मोटरसाईकल चोरीमा जाहेरी दिएका थिए । मुख्य अभियुक्त छयोईसाङ स्याङतान रहेको जाहेरीमा उल्लेख थियो । डाँका चोरीमा दावी नपुग्ने गरी धरौटीमा छाड्ने आदेश दिएको छ । तीन जना मध्ये रिशल थिङलाई मात्रै मोटरसाईकल चोरी अभियोग लगाईएको थियो । रिशल थिङले छयोईसाङले पनि चोरी गरेको मोटरसाईकल चढ्ने गरेको बयान दिएका थिए । लास्कोटमा रहेको उक्त मोटरसाईकल चोरी गरी तीनै जना एउटै मोटरसाईकल चढी गएको उनले बयानमा भनेका छन् । मोटरसाईकल गाउँमा लगी मनलागेको नम्वर प्लेट लेख्न लगाई परिवर्तन गरेका थिए । 
    जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यकै इजलाशले रोशी ९ मंगलटारमा चैत्र ८ गते पार्किङ गरि राखेको मोटरसाईकल चोर्ने उनै रिशल थिङ तामाङलाई मोटरसाईकल चोरी अभियोगमा दावी पुग्ने ठहर गरी जेल पठाउने फैसला सुनाएको छ । नमोबुद्धमा मोटरसाईकल चोरी गर्दा धरौटी माग गरिएका रिशल थिङलाई सोहि दिन नै अर्थात २०८२ बैशाख २४ गते नै जेल सजाँय भोग्ने गरी फैसला सुनाईएको थियो । २०८१ चैत्र ८ गते राति रोशी ९ मंगलटारका ३१ बर्षिय धनबहादुर तामाङको आफ्नै घर अघि पार्किङ गरि राखेको १५० सिसीको बागमती प्रदेश ०२–००१ प ८९१० नम्वरको पल्सर मोटरसाईकल चोरी गरेका थिए । मंगलटारबाट चोरी गरी रोशी ९ कै दाउन्ने खण्डमा चलाई हिडिरहेको अवस्थामा उक्त मोटरसाईकल रिशल थिङ तामाङले चलाईरहेको अवस्थामा थिङलाई प्रहरीले पक्राउ गरी मोटरसाईकल बरामद गरेको थियो ।