2026 August 03/ 04:26: 08pm

अध्ययन समितिले भन्यो – डेंगी भेक्टर सर्भे गरेका स्थानहरु डेंगी रोगको संक्रमणको उच्च जोखिममा छन्, एडिस लामखुट्टेको लार्भा/प्युपा सूचकाङ्क न्युनतम सिमा भन्दा बढी छन् । औलो, कालाजार, हात्तीपाईले र जापानिज इन्सेफ्लाईटिस सार्ने भेक्टरहरुको उपस्थिति रहेको छ ।

मोतीराम तिमल्सिना
बनेपा

    एकीकृत भेक्टर सर्भिलेन्सको प्रारम्भिक नतिजा सार्वजनिक गरिएको छ । बनेपा र खानीखोलामा गरिएको अध्ययन पछिको नतिजा सम्वन्धित पालिकाका प्रतिनिधिहरु समक्ष प्रस्तुत गरिएको हो । बनेपामा अध्ययन सकिए लगत्तै प्राप्त नतिजा, रोकथामका उपाय र आगामी कार्यक्रमका बारेमा जानकारी गराईएको थियो । प्रि–मनसुनमा गरिएको उक्त सर्भेले मनसुनको समयमा थप भयावह महामारी निम्तिन सक्ने संकेत दिएको अध्ययनले देखाएको छ ।
    बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, हेटौडा मार्फत गरिएको उक्त अध्ययनको मुख्य उदेश्य डेंगी सार्ने लामखुट्टेको वृद्धि विकास हुने सम्भावित स्थानको बारेमा जानकारी दिने रहेको अध्ययन समितिका सदस्य इन्टोमोलोजिस्ट रीता बडूले बताईन् । बनेपा नगरपालिकामा आयोजित कार्यक्रममा डेंगी रोग रोकथाम तथा नियन्त्रणका उपायहरुका बारेमा छलफल गर्नुका साथै बनेपा नगरपालिका वडा नम्वर ७ मा संचालन भएको एकीकृत भेक्टर सर्भेको नतिजा प्रस्तुत गरिएको थियो । बनेपा नगरपालिकामा २०२४ सम्म देखिएको डेंगुका बिरामीहरूमा उल्लेखनीय वृद्धि भएका कारण त्यसको अध्ययन गरिएको हो । जसको संकेत बनेपा नगरपालिकामा डेंगुको महामारी हुने तथ्यांकमा आधारित छ । सबैभन्दा धेरै डेंगीका बिरामीहरु वडा नं ७ मा रहेकोले उक्त वडा छनोट गरिएको थियो भने औलो, कालाजार, हात्तीपाईले र जापानिज इन्सेफ्लाईटिस सार्ने भेक्टरहरुको समेत अध्ययन गरिएको थियो । उक्त अध्ययन बनेपा नगरपालिका वडा नं. ६, ७ र ११ मा गरिएको थियो । 
    अध्ययन समितिले बनेपामा २०८२ साल जेष्ठ १ देखि जेष्ठ ४ सम्म विहान बिहान ५ः३० बजे देखी बेलुकी १० बजेसम्म अध्ययन गरेको थियो । बनेपा नगरपालिका वडा नम्वर ६, ७ र ११ अध्ययनको केन्द्र थियो । अघिल्लो वर्ष उक्त वडामा देखिएका विरामीहरुको दर उच्च भएका कारण ति वडाहरु छनौट गरिएको थियो । अध्ययनको प्रारम्भिक नतिजा अनुसार बनेपामा डेंगी भेक्टर सर्भेको नतिजा लार्भा÷प्युपा खोजी गरिएका घर तथा स्थानहरुको संख्या १ सय ५ मध्ये लार्भा÷प्युपा पाइएका घर तथा स्थानहरु ४० वटा रहेका छन् । खोजी गरिएका पानी भरिएका कन्टेनर तथा भाँडाकुँडाहरु २ सय ५५ मध्ये लार्भा÷प्युपा पाइएका पानी भरिएका कन्टेनर÷भाँडाकुँडाहरु ७८ वटा भेटिए । जसमा प्युपा संकलन ५० वटा भएका छन । प्युपा÷लार्भाबाट उत्पन्न वयस्क एडिज लामखुट्टे २० स्थानमा फेला परेको छ । अध्ययनका क्रममा ड्रम, टं्याकी, टायर, बाल्टिन, फलामको ड्रम, प्लास्टिकका बाटा, फालिएका तथा खेर गएका भाडाकुँडा र सामानहरुमा जमेको पानी र त्यहाँ रहेका लामखुट्टे र भुसुना संकलन गरिएको थियो । 
    प्रारम्भिक नतिजा अनुसार लार्भा र प्युपाको सुचकांक अनुसार १ सय ५ वटा घरमा ४० वटा लार्भा प्यूपा भेटिए । सुचकांक अनुसार यो प्रतिशत दर ३८.१ हो । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार सुचकांकको न्युनतम सिमा ५ प्रतिशत मात्रै हो । त्यस्तै २५५ वटा कन्टेरको परिक्षण गरिएकोमा ७८ वटामा लार्भा र प्युपा भेटिएको छ । जसको प्रतिशत ३०.६ रहेको छ । सुचकांकले कन्टेरमा ३ प्रतिशत न्युनतम सिमा हो । ब्रेटाउ इन्डेक्स (विआई) को ७४.२८ प्रति १ सय घरमा सुचकांक रहेकोमा न्युनतम सिमा ५ रहेको छ । त्यसकारण बनेपामा आगामी मनुसनमा लामखुट्टेको लार्भा र प्युपा बढ्ने र त्यसबाट उत्पन्न हुने महामारीको संकेत देखिएको निश्कर्ष अध्ययन समितिले देखाएको छ ।
    औलो, कालाजार, हात्तीपाईले र जापानिज इन्सेफ्लाईटिस सार्ने भेक्टरहरुको समेत अध्ययन गरिएको (वडा नं. ६, ७ र ११) मा उक्त रोग सार्ने लामखुट्टे तथा भुसुनाका प्रजाति फेला परेको अध्ययन समितिले बताएको छ । अध्ययन समितिको निश्कर्षमा भनिएको छ – डेंगी भेक्टर सर्भे गरेका स्थानहरु डेंगी रोगको सङ्क्रमणको उच्च जोखिममा छन्, एडिस लामखुट्टेको लार्भा÷प्युपा सूचकाङ्क न्युनतम सिमा भन्दा बढी छन् । औलो, कालाजार, हात्तीपाईले र जापानिज इन्सेफ्लाईटिस सार्ने भेक्टरहरुको उपस्थिति रहेको छ । त्यसैले समुदायस्तरमा उक्त रोगका बिरामीहरु फेला परेमा उक्त रोगको प्रसारण बढ्न सक्ने जोखिम रहेकोले उच्च निगरानीमा जोड दिनु आवश्यक देखिन्छ । 
    बनेपामा बसोबास गर्ने घर परिवारले घरमा पानी जम्मा भएका भाँडा÷कन्टेनरहरु राम्रो संग छोपेर राख्ने, प्रत्येक हप्ता एकपटक ड्रम र टंकीको पानी खाली गरी मस्काएर धुने, घर वरिपरी फालिएका टायर र अन्य प्रयोग नहुने सामाग्रीहरुको राम्रो संग व्यवस्थापन गर्ने, घर परिवारले वरिपरिका पानी जम्ने स्थानहरुमा पानी जम्न नदिने, घर तथा गोठहरुमा सरसफाई गर्ने, घर परिवारले लामखुट्टेको टोकाईबाट बच्ने उपायहरु अपनाउन सुझाव दिएको छ भने नगरपालिका तथा जनस्वास्थ्य कार्यालयबाट स्वास्थ्य शाखा र शिक्षा शाखाको समन्वयमा विद्यालयमा डेंगी रोग बारे विद्यालय शिक्षा कार्यक्रम संचालन गर्ने, महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरु परिचालन गर्ने (लार्भा खोज र नष्ट अभियान), डेंगीको रोकथाम र नियन्त्रणका उपायहरुका बारेमा माइकिङ गर्ने, चोक तथा सार्वजनिक स्थानहरुमा औलो, कालाजार, हात्तीपाईले र जापानिज इन्सेफ्लाईटिस रोगका बारेमा पोस्टर प्रदर्शन तथा माइकिङ गर्ने, ज्वरो आएका बिरामीहरुको स्क्रिनिङ गर्ने तथा नियमित तथ्यांक भेरिफीकेसन र फलोअपको रेकर्डिङ र रिपोटिङ्ग गर्ने, एकीकृत वाहक सर्भेलाई निरन्तरता दिने र नतिजाको आधारमा आवश्यकता अनुसार कार्यक्रम संचालन गर्न सुझाव दिएको छ । खानीखोला गाउँपालिकामा गरिएको अध्ययन समितिको प्रतिवेदन गाउँपालिकामा बुझाईएको छ । जसमा ३० वटा घरको नमुना संकलन गरिएको थियो ।