जिल्लामा जघन्य अपराधका घटनाको संख्या बढिरहेको छ । अपराध बढ्नुका कारण के हुन् ? किन बढिरहेका छन् अपराध ? प्रहरी अनुसन्धानले विभिन्न तथ्यहरु सार्वजनिक गरे पनि अपराधमा संलग्नले उन्मुक्ति पाउनु प्रमुख कारण बन्न थालेको छ । न्यायालयसम्म पुग्दा वा न्यायालयमा भएका विभिन्न गतिविधिका कारण संलग्नहरु उम्किन थालेका छन् । जिल्लामा ३३ महिनाको अवधीमा काभ्रेपलाञ्चोक जिल्लामा जबरजस्ती करणी, जबरजस्तीकरणी उद्योग, बालयौन दुरुपयोग र अप्राकृतिक मैथुन सम्वन्धी १ सय ४२ वटा अपराधका घटना दर्ता भएका छन् । जसमध्ये सबैभन्दा धेरै जबरजस्ती करणीमा १ सय ४ वटा घटना दर्ता भए । उद्योगमा १० वटा, बालयौन दुरुपयोगमा २५ वटा र अप्राकृतिक मैथुनमा १ वटा अपराधका घटना दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०८०÷०८१ र २०८१÷०८२ को चैत्र मसान्तसम्मको घटना विवरण सार्वजनिक गर्ने क्रममा जघन्य अपराधमा जबरजस्ती करणीलाई समावेश गरेको छ । जसमा आर्थिक वर्ष २०८०÷०८१ मा ४९ वटा अपराधका घटना दर्ता भएकोमा आर्थिक वर्ष २०८१÷०८२ को ९ महिना अर्थात चैत्र मसान्तसम्म १८ वटा घटना दर्ता भएको उल्लेख गरेको छ । विशेषगरी प्रेम सम्बन्धमा परी शारीरिक सम्बन्ध राख्ने, आपसी सहमतीमा सम्बन्ध बनाई पछि विवाद पर्ने र प्रलोभनमा परी जर्बजस्ती करणी गरेको लगायतका कारण तथ्यांकमा जबरजस्ती करणी अभियोगमा धेरै घटना दर्ता हुन थालेका हुन् ।
कम उमेरमा विवाह समेत गर्ने र अभिभावकले थाहा पाए पछि उक्त सम्बन्ध टुटाउन जबरजस्ती करणी सम्बन्धी अभियोग दर्ता हुने गरेका छन् । अझ धेरै फरक–फरक जातमा परेको प्रेम सम्बन्धमा त्यस्ता घटना धेरै हुन थालेका छन् । आर्थिक वर्ष २०७९÷०८० मा जबरजस्ती करणी सम्बन्धी ३७ वटा घटना दर्ता भएका थिए । बालयौन दुरुपयोगमा १० वटा, १३ वटा र यो अवधीमा २ वटा घटना दर्ता भएका छन् । अप्राकृतिक मैथुनमा एकवटा घटना दर्ता भएका छन् । जर्बजस्तीकरणी उद्योगमा शुरुको वर्ष १, दोश्रो वर्ष ३ वटा र चालु वर्षको ९ महिनामा ६ वटा घटना दर्ता भएका छन् । यस्ता घटनाहरुमा पहुँच पुग्नेहरुलाई अभियोग नै बदलेर सफाई पाउन थालेका छन् । जर्बजस्तिकरणीलाई विभिन्न वाहनामा सफाई दिदै बालिकाहरु माथी थप पीडा दिने काम न्यायालयबाट हुन थालेको छ । दवाबमा, प्रभावमा र शक्तिका आधारमा न्यायको परिभाषा नै बदलिन थालेको आभाष नागरिकहरुले गरिरहेका छन् । जिल्ला अदालतले गरेका केहि न्यायका फैसलाहरु मध्ये आधा दर्जन जर्बजस्तिकरणीमा अभियोग नै बदलेर फैसला भएका छन् । जसका कारण पीडक खुशी र पिडीत झनै पीडित बन्न थालेका छन् । नागरिकहरुको प्रश्न तेर्सिन थालेको छ–जघन्य अपराधमा किन फेरिन्छन् अभियोग ?
विद्यालयका शिक्षक तथा शिक्षित ब्यक्तिहरुबाट भएका अपराधमा सहजै सफाई मिल्ने गरेको छ । यस्ता ब्यक्तिहरुले सफाई पाउँदा अपराधका घटनामा झनै बृद्धि हुने सम्भावनालाई नकार्न सकिन्न । समाजबाट यस्ता ब्यक्तिहरुलाई गर्ने सामाजिक ब्यवहारमा समेत परिवर्तन हुनु आवश्यक छ ।









