पनौती/काभ्रे सेवा समाजको आयोजनामा बुद्ध जयन्तीको अवसर पारेर पनौती–नमोबुद्धसम्म शान्ति पदयात्रा आयोजना गरिएको छ ।
शान्ति पदयात्राको शुभारम्भ नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले गरे । पनौती मानेश्वरी मन्दिर देखि बुद्धको ऐतिहासिक स्थल पनौती बजार पुगेर यादवले शान्ति पदयात्राको प्रारम्भ गरेका थिए । काभ्रे सेवा समाजका अध्यक्ष पुरुषोतम नेपाल, पूर्व अध्यक्ष केशव थापाले कार्यक्रमका बारेमा जानकारी गराएका थिए भने नगर प्रमुख रामशरण भण्डारीले स्वागत गरेका थिए ।
शान्ति पदयात्राको शुभारम्भ गर्दै पुर्व राष्ट्रपति डा.रामवरण यादवले गौतम बुद्धका सन्देश हरेक ब्यक्तिका लागि जीवनपयोगी भएको बताए । बुद्धका सन्देशहरुलाई कार्यान्वन गर्न सबै पक्ष र क्षेत्र लाग्न डा.यादवले सुझाव दिए । काभ्रेपलाञ्चोक जिल्लाको समग्र विकासको लागि काभ्रेको लागि केही गरौं, पर्यटन प्रवद्र्धनका लागि पदयात्रा भन्ने मुल नाराका साथ शान्ति पदयात्रा कार्यक्रम आयोजना गरिएको हो ।
२०६९ सालमा स्थापना भएको समाजले विश्व सम्पदा सुचीमा प्रस्तावित र मन्दिरहरुको सहरको रुपमा परिचित काभ्रेको पनौतीदेखि गौतमवुद्धले पाईला टेकेकोे नमोवुद्धसम्म सांस्कृतिक शान्ति पदयात्रा कार्यक्रम आयोजना गर्न लागेको हो । समाजले गत वर्ष २०८० साल असोज ६ गते पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्राको आयोजना गरेको थियो ।
विश्वभर शान्ति र सद्भावको सन्देश फैलाउँदै आन्तरिक तथा वाह्य पर्यटन प्रबद्र्धन गर्ने तथा स्थानीय कला, संस्कृतिको सम्बद्र्धन गर्ने उद्देश्य सहित शान्ति पदयात्रा कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष पुरुषोत्तम नेपालले जानकारी दिए । पनौतीको मानेश्वरीबाट रिबन काटी शान्ति पदयात्रा सुरु गरिएको थियो । सुन्थान–इटे–शंखु–शंखेश्वरी–जंगल हुँदै नमोबुद्घमा पुगेर यात्रा टुङ्गयाउने गरी रुट कायम गरिएको थियो । पनौतीदेखि नमोबुद्धसम्मको ९.५ किलोमिटर दुरी छ । बुद्ध जयन्तीको दिन पारेर आयोजना गरिएको उक्त कार्यक्रमले विश्वमा शान्ति र सद्भावको सन्देश फैलाउनुका साथै स्थानीय कला, संस्कृतिको प्रवद्र्धनमा सहयोग गर्नुका साथै आन्तरिक र वाह्य पर्यटन प्रबद्र्धनका लागि पनि महत्वपुर्ण योगदान गर्ने अपेक्षा समाजले गरेको छ । पदयात्रामा विभिन्न संघसंस्था, सरकारी निकाय, व्यापार व्यवसाय, नागरिक समाज तथा विभिन्न क्षेत्रका प्रतिनीधिहरु सहभागी छन् ।









